छिमेकको राजनीतिक बाछिटा

छिमेकको राजनीतिक बाछिटा

सच्चा राजनीतिक नेतृत्वले आफ्नो पार्टीमात्र होइन समग्र देश र नागरिकको पनि भविष्य हेर्छ।

छिमेकी मुलुक भारतको आमनिर्वाचन सात चरणमा सम्पन्न भएर परिणाम घोषणासमेत भएको छ। एकल बहुमतको लागि भारतीय जनता पार्टी (भाजपा)को ‘अब की बार चार सौ पार’ भन्ने नारासहितको प्रचार अभियान सञ्चालन गरेको थियो। तर, परिणाममा आशातित सफलता हासिल हुन सकेन।

भारतभित्रको राजनीतिमा केही परिवर्तन आएको छ। काममा खटिन सक्ने, भीडलाई आकर्षित गर्ने र वक्तृत्वकलासमेत भएका भाजपा नेता नरेन्द्र मोदीको चाहनामा ब्रेक लागेको छ। चुनावका बेला विज्ञापनहरूमा मोदीलाई वैश्विक नेताहरूका पनि नेताका रूपमा गरिएको चित्रण गरिएको थियो। तर, ब्यालेट बक्सले सहयोग गर्न सकेन। एकल बहुमतको सरकार तेस्रो पटक बनाउने र आफ्नो उद्देश्य प्राप्तिमा संविधानका कुनै धाराले बाधा पुर्‍याएमा संशोधन गरेर या खारेज नै गरेर भए पनि अघि बढ्ने योजनामा भाजपा थियो। सधैं आफूले भनेकै जस्तो जनमत कहाँ प्राप्त हुन्छ र ? परिणाम अपेक्षा अनुरूप भएन। समाजको तल्लो तहबाट राजनीतिक वृत्तमा उदाएका मोदी कुनै समय गुजरातको बस स्टेसनमा चिया पसले थिए। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले झुटकै भए पनि अनेकौं वाचा गरे। खटाखट खटाखट खातामा पैसा जम्मा गरिदिने आश्वासन दिए। यद्यपि, वंशवादलाई निरन्तरता दिन खटिएका राजकुमार राहुल गान्धीलाई पनि मतदाताले पत्याएनन्। 

मोदीको निर्वाचन क्षेत्र वाराणासीस्थित विश्वनाथको मन्दिर परिसरको ज्ञानवापी कुवांको मामिलाले मुसिलम समुदायमा डर पलाएको थियो। भगवान् रामको मूर्ति स्थापना गर्ने समयको विषयमा भएको शंकराचार्यहरू बीचको असहमतिले पनि प्रभाव पार्‍यो। भाजपालाई उत्तरप्रदेशमा नराम्रो हार व्यहोर्नु पर्‍यो। यसमा योगी आदित्यनाथको सरकार सञ्चालनको कार्यशैलीले तल्लो वर्ग भाजपाप्रति सतर्क हुन पुग्यो। अयोध्यामा भएको भरपुर लगानीको फलभन्दा आफ्नो घरबासको यथोचित मुआब्जा पाएको मतदाताले हेरेनन्। तल्लो वर्गको समुदायले आफ्नो घर भत्काएको दृश्य मात्र हेर्ने गरेकाले भाजपालाई उत्तर प्रदेशमा क्षति व्यहोर्नु पर्यो। 

जनताले हरेक नेताहरूको चरित्र र व्यवहारको मूल्यांकन गरिरहनुपर्छ। अन्यथा, राजनीतिको रमिता हेर्ने र दुर्गति सहनु सिवाय विकल्प हुँदैन।

यस खालको चुनावी परिणाम आउनुमा अन्य विविध कारणहरू पनि हुन सक्छन्। तर, परिणामले भारतमा कांगे्रस आईको पुनरावृत्ति हुने संकेत देखिएको छ। दुई पटक सुविधाजनक बहुमतका साथ प्रधानमन्त्री भएका मोदी यसपटक सहयोगी घटक दलको समर्थनमा प्रधानमन्त्री बनेका छन्। विगत ७० वर्ष भारतमा कांग्रेसले के के गरेको थियो ? गर्नै नहुने कुरा पनि के के भएका थिए ? मतदाताले भुल्ने रहेछन्। किनकि नयाँ पुस्ताका मतदातालाई इतिहासप्रति अनुराग छैन। पढ्ने बानी छैन। राहुल गान्धीले यस पटकको चुनावमा प्रयोग गरेको चुनावी शैली एवं रणनीतिले एक हदसम्म काम गर्‍यो भन्न सकिन्छ। 

सीमापारि भारतबाट नेपालमा तरकारी, फलफूललगायतका सामग्री मात्र होइन राजनीतिक बाछिटा पनि प्रवेश गर्ने गरेको छ। भारतको चुनावले सीमावारि नेपालका राजनैतिक दलहरूमा एक किसिमको तरंग ल्याइदिएको छ। पूर्ण बहुमतमा भाजपा नआए पनि उस्को नेतृत्वको गठबन्धन सरकारले विगत १०  वर्षदेखि निरन्तरता पाएको छ। जसरी सरकार गठन भए पनि राजनैतिक र आर्थिक स्थायित्वका लागि सरकारलाई पूर्ण अवधि सञ्चालन गर्न सबै दलहरूले सकेसम्म एक मतमा रहने कोसिस गर्नेछन्। र विशेष गरेर भारतमा एक दुई घटनाबाहेक मिलिजुली सरकार भए पनि पूर्ण अवधि कायम रहेको छ। तर, नेपालको राजनीतिक परिस्थिति बेग्लै छ। भारतीय सत्तामा कर्मचारीतन्त्र र सुरक्षा संस्थापनको परम्परागत पकड निकै बलियो छ। निश्चित अवधिका निम्ति आउने राजनीतिक नेतृत्वले चाहँदैमा सबै परिवर्तन भइहाल्दैन। तर, नेपालमा सरकार टिकाउन के मात्र गरिँदैन ? ठग, भ्रष्ट, अनैतिकहरूलाई सरकारमा थमौती गर्न केसम्म बाँकी राखिँदैन ? त्यो घाम जत्तिकै छर्लंग छ। 

भारतीय नागरिकले भाजपालाई साइजमा ल्याए। कांग्रेसमा नवीन ऊर्जा थप्ने काम गरे। त्यसैगरी नेपालमा पनि अब चुनाव भएमा बहुमत ल्याउने र एकमना सरकार बनाउने नेपाली कांग्रेसले नै हो भन्ने मनोविज्ञान कतिपय कार्यकर्तामा रहेको भान देखिन थालिसकेको छ। तर, विडम्बना नेपाली कांग्रेसले विगतमा पटकपटक सरकारमा रहँदा के के गलत गरेको थियो ? अब कसरी अघि बढ्ने होला ? भन्ने समीक्षागत सोच रत्तिभर पलाएकै छैन। २०५१ सालमा संसद् विघटन गरेर संविधानविरुद्ध धावा बोल्ने कार्यको सुरुवातकर्ता हुन्, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला। कुनै पनि सच्चा राजनीतिक नेतृत्वले आफ्नो पार्टीको मात्र होइन अपितु समग्र देश र नागरिकको पनि भविष्य हेर्छ।

नेपालमा आजसम्म जनमतको माध्यमबाट सत्ता सम्हाल्ने मौका पाएका नेताहरूले जनता र राष्ट्रलाई प्राथमिकता दिएकै छैनन्। केवल आफ्नो स्वार्थ र लुट धन्धामा केन्द्रित छन्। विगत छिट्टै बिर्सने जनताको बानीले गर्दा राजनीतिक आवरणमा उदाएका ठगले बारम्बार मौका पाइरहेका छन्। मुलुकका लागि कसैलाई गर्नु केही छैन तर पटकपटक प्रधानमन्त्री हुनै परेको छ। भारतको यस पटकको निर्वाचन परिणामबाट नेपालका शीर्ष नेताहरूको मथिंगलमा पराकम्पनको झट्का महसुस भएकै होला।  

मुलुकको यो अवस्था आउनुमा जनताको असावधानी र हुस्सुपना पनि जिम्मेवार छ। जसको फाइदा विभिन्न राजनीतिको आवरणमा उदाएका ठगहरूले लिएका छन्।जनताले हरेक नेताहरूको चरित्र र व्यवहारको मूल्यांकन गरिरहनु पर्छ। अन्यथा, राजनीतिको रमिता हेर्ने र दुर्गति सहनु सिवाय विकल्प हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.