‘ड्रेसिङ रुममा गुल्सनको कुरा नै भएन, समग्र खेलको समीक्षा भयो’
अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिलकुमार साह गृह जिल्ला बारा फर्किएका छन्।
राष्ट्रिय टिमका ब्याट्सम्यान साह गृह जिल्ला प्रवेश गर्दैगर्दा बारा जिल्ला क्रिकेट संघ र मधेस प्रदेश क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका छन्। साहलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह र उपप्रमुख रोशन परविनले १ लाख एक हजार नगदले सम्मानितसमेत गरेका छन्। विश्वकप खेलेर बारा आएका क्रिकेटर साहसँग अन्नपूर्णकर्मी दिवाकर भण्डारीले गरेको कुराकानी।
टी–२० विश्वकप खेलेर फर्किनुभएको छ। कस्तो रहयो विश्वकप यात्रा ?
व्यक्तिगत रूपमा यो भ्रमण तपाईंका लागि कत्तिको लाभदायक बन्यो ?
सबै खेलाडीको सपना हुन्छ विश्वकप खेल्ने। हामीले त्यो सपना पूरा गर्ने अवसर पाएका थियौं। मैले पनि क्रिकेट खेल्न सुरु गर्दै गर्दा विश्वकप खेल्ने अवसर पाउँछु भनेर सोचेको थिइन्। भविष्यभन्दा पनि त्यतिबेला रहर थियो क्रिकेट खेल्ने, खुसी लाग्थ्यो क्रिकेट खेलेर। तर, कलैयाबाट सुरु भएको मेरो क्रिकेट यात्रा विश्वकपसम्म पुगेको छ। धेरै खुसी छु, धेरै कुरा सिकेको छु।
पाँच वर्षपछि राष्ट्रिय टोलीमा फर्किएलगत्तै विश्वकपको अवसर प्राप्त गर्नुभयो। त्यो पाँच वर्ष कसरी बित्यो ?
त्यो समय मेरो लागि निकै गाह्रो भयो। मैले क्रिकेट खेलेर नेपाल प्रहरीबाट खेल्ने अवसर पनि पाएको थिए। केही समयपछि त्यहाँँ पनि छोड्नुपर्यो। तर, पनि म निराश भइन्। मलाई एउटा विश्वास के थियो भने मैले कलैया फर्किएर पनि राम्रोसँग क्रिकेट खेल्न सके भने फेरि अवसर पाइन्छ भन्ने थाहा थियो। परिवारबाट पनि साथ पाएको थिए। राष्ट्रिय टोलीमा फर्किन धेरै नै मेहनत गर्नुपर्छ भन्ने थाहा थियो।
त्यसैअनुसार निकै मेहनत गरे। प्रधानमन्त्री कप मेरो लागि ‘टर्निङ पोइन्ट’ बन्यो। प्रधानमन्त्री कपमा हाई स्कोरर बने। त्यही खेलपछि राष्ट्रिय टिममा फर्कने अवसर पाए। त्यसलगत्तै क्यानडाविरुद्धको प्रदर्शनले थप सहयोग पुग्यो। मैले ४–५ वर्ष मेहनत गरेको थिए, त्यो मेहनत मलाई यहाँसम्म ल्यायो।
आफ्नो प्रदर्शनलाई कसरी लिनुभएको छ ?
टिमको अगाडिको ब्याट्सम्यान भएपछि रन बनाउनुपर्ने जिम्मेवारी हुन्छ। दर्शकको पनि अपेक्षा हुन्छ। सोचेअनुसार रन बनाउन नसक्दा चुके भन्ने लाग्छ तर प्रयास भने नगरेको होइन। टेस्ट राष्ट्रहरूसँग खेल्दा अनुभवको कमी महसुस भयो। सर्टस् सेलेक्सन गलत हुन पुग्यो।
टिमका हिसाबले भन्नुभन्दा पर्दा हामीले सबै खेलमा राम्रो प्रतिस्पर्धा गरेका छौं। अझै राम्रो गर्न सकेको भए नतिजा फरक हुन सक्थ्यो।
साउथ अफ्रिकासँग १ रनको पराजय र गुल्सन झालाई लिएर निकै टिकाटिप्पणी पनि भयो। खेललगत्तै ड्रेसिङ रुम र टिमभित्रको माहोल कस्तो थियो ?
ड्रेसिङ रुममा समग्र खेलका विषयमा कुरा भयो। अन्तिम ओभर र गुल्सन झाका विषयमा कुरा भएन। त्यो खेल अन्तिम ओभरसम्म पुग्ने खेल नै थिएन। हाम्रै कमजोरीले त्यहाँँसम्म खेल पुग्यो। त्यही भएर गुल्सनलाई लिएर कसैले कुरा गरेनन्। गुल्सनलाई दोष दिने ठाउँ छैन, उसको गल्ती पनि होइन। गुल्सनको पालो आउने खेल नै थिएन्। अगाडिकै ब्याटरले खेल सक्काउनुपर्ने थियो। पिच यस्तो थियो कि भर्खरै गएको ब्याटरलाई रन बनाउन निकै गाह्रो थियो। फिल्डिङमा पनि हाम्रो केही कमजोरी भयो। हामीले पाएको लक्ष्यभन्दा अझै
केही कम हुनसक्थ्यो।
विश्वकप क्रिकेट खेलेर फर्किएको नेपाली टोलीको उत्साह कस्तो छ ? अनुभव कस्तो छ ?
उत्साहित छौं। धेरै कुरा सिक्न पाएका छौं। टेस्ट राष्ट्र र एसोसिएट राष्ट्रबीच खेल्ने तरिकामा भिन्नताभन्दा पनि अनुभव हुनुपर्ने रहेछ भन्ने बुझ्न पाएका छौं। हामीले पनि राम्रो क्रिकेट खेलेर फर्कियौं।
नतिजा मात्रै हाम्रो पक्षमा आएन तर कुनै खेल पनि एकतर्फी हुन दिएनौं। टेस्ट राष्ट्रसँग खेल्ने अनुभव मात्रै हामीसँग कमी थियो। यो विश्वकपले हाम्रो आत्मविश्वास बढाएको छ। यो देश र टिमका लागि निकै
उपलब्धिमूलक रहयो।
भनेपछि एक्स्पोजरको कमी हो ?
पक्कै पनि एक्स्पोजरको कमी हो। टेस्ट राष्ट्रबीच खेल भइरहेको हुन्छ। ती राष्ट्रका प्रायः सबै खेलाडी विश्वका थुप्रै लिगहरू खेलिरहेका हुन्छन्। उनीहरूले ब्याटिङ, बलिङ, फिल्डिङ, पिच, मैदान सबैंको बोरमा अनुभव लिएका हुन्छन्। तर, हामीले त्यसरी खेलेका छैनौं।
हाम्रो धेरै खेल देश बाहिर हुँदैन। ठूला राष्ट्रसँग हामीले प्रतिस्पर्धा धेरै गरेका हुँदैनौं। त्यसैले पनि हामीमा अनुभवको कमी हो। हामीले त्यसरी एक्पोजर पायौं भने अझै राम्रो गर्न सक्छौं। हामीले होम सिरिजसँगै अब अरू सिरिजहरू पनि खेल्न पायौं भने पनि राम्रो हुन्छ। त्यसका लागि नेपाली क्रिकेट बोर्डले आफ्नो किसिमले तयारी गर्छ होला। हामी आफ्नो बेस्ट दिन तयार छौं।
विश्वकपबाट फर्किएपछि घरपरिवारका सदस्य, जिल्लाका खेलाडी साथीहरूको प्रतिक्रिया कस्तो पाउनुभयो ?
सबै जना खुसी हुनुहुन्छ। सबैले साउथ अफ्रिकाविरुद्ध टिकेर खेल्नुपर्ने, किन हतार गरेर त्यो प्रहार गरेको भनेर भन्नुभयो। गुल्सन झाको कुरा गर्नुभएन तर मेरो त्यो प्रहारका विषयमा कुरा गर्नुभयो। सम्हालिएर खेल्नुपर्ने सुझाव पाए। परिवार र साथीहरूबाट निकै साथ पाएको छु। जिल्लाबाटै विश्वकप खेल्ने खेलाडीका रूपमा उभिन पाउँदा खुसी छु। यो सफलताले परिवार र जिल्लाका क्रिकेट खेलाडी साथीहरू पनि खुसी छन्।
विश्वकप खेल्ने खेलाडीका रूपमा उभिँदै गर्दा कलैयाको क्रिकेटका विषयमा के सोच्नुभएको छ ?
अहिले त खेलाडी छु। अझै धेरै मेहनत गर्नुपर्नेछ। तर राष्ट्रिय टोली र विश्वकपको अनुभव सुनाएर युवा खेलाडीलाई क्रिकेटमा अझै राम्रो गर्नुपर्छ भनेर प्रेरित गर्न सक्छु। आफ्नो यात्रा सुरु भएको कलैयाको क्रिकेटलाई अघि बढाउन यसअघि पनि धेरै प्रयास गरेको छु। अझै पनि गर्छु। मेरो विश्वकपको यात्राले नयाँ खेलाडीलाई अझै ऊर्जा प्राप्त हुन्छ भन्नेमा विश्वस्त छु।
आफूले सिकेका कुरा सिकाउने, मेहनत गर्न लगाउने, खेलस्तर बढाउन हौसला प्रदान गर्ने काम गर्यो भने पनि धेरै हुन्छ। कलैयाले धेरै खेलाडी उत्पादन गर्न सक्छ भन्ने लाग्छ।
तपाईंको क्रिकेटको यात्रा कसरी सुरु भयो। कलैयादेखि विश्वकपसम्मको यात्रा कस्तो रहयो ?
म कक्षा ८ मा पढ्दा अन्तर विद्यालय क्रिकेटको क्रेज धेरै थियो। कक्षा ९ र १० का विद्यार्थीहरू क्रिकेट खेलेको हेर्दा धेरै राम्रो लाग्थ्यो। म पनि क्रिकेटमा निकै रमाउथे। पढ्नभन्दा बढी क्रिकेट खेल्न रहर लाग्थ्यो। मैले धेरै क्रिकेट खेल्यो भनेर अभिभावकले एसएलसीपछि हेटौंडा पठाइदिनुभयो। तर, मैले हेटौंडामा पनि मैदान खोजेर क्रिकेट खेल्न थाले।
क्रिकेट प्रतियोगिता खेल्न भारत पुगे। त्यसैकारण मेरो कक्षा १२ को परीक्षासमेत छुट्यो। तर, मलाई क्रिकेट खेल्न पाएकाले परीक्षा छुटेको पिर थिएन्। पछि अभिभावकले पनि क्रिकेटप्रतिको मोह बुझ्नुभयो र साथ दिनुभयो। अनि मैले अझै मेहनत गरेर क्रिकेट खेल्ने अवसर पाए।
अन्त्यमा, अन्तर्राष्ट्रिय क्रिकेटमा मनपर्ने खेलाडी को हो ?
मलाई सबैभन्दा मनपर्ने खेलाडी महेन्द्रसिंह धोनी। जबदेखि मैले धोनीलाई मैदान पस्दै गरेको हो। त्यो दिन अझै मलाई क्रिकेट खेल्न हौसला प्राप्त भयो। धोनीको क्रिकेट खेल्ने शैली मलाई निकै मन पथ्र्यो। धोनी निकै लोकप्रिय खेलाडी भएकाले धोनीको जर्सी बजारमा किन्न पाइन्थ्यो। तर, मैले जर्सी किन्ने पैसा अभिभावकबाट नपाएपछि सेन्डो गन्जीमा धोनीको नाम र जर्सी नम्बर लेखेर लगाएको अझै बिर्सन सक्दिनँ।