सप्तकोसीमा ढुगां चलाउन, माछा मार्न र दाउरा खोज्न निषेध

सप्तकोसीमा ढुगां चलाउन, माछा मार्न र दाउरा खोज्न निषेध

धरान : निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय प्रशासनले कोसीमा प्रवेश गर्न निषेध गरेको छ। सप्तकोसीमा पसेर ढुगां चलाउन, माछा मार्न र दाउरा खोज्न स्थानीयलाई निषेध गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिएका छन्। 

सप्तकोसीमा बाढीका कारण जनधनको क्षतिबाट जोगाउनका लागि स्थानीयलाई सप्तकोसी प्रवेशमा रोक लगाइएको एसपी रेग्मीले जानकारी दिएका छन्। सप्तकोसीबाट हुने सम्भावित घटनालाई नियन्त्रण गर्न आसपासका बस्तीहरूमा प्रहरीले माइकिङ गरी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको पनि उनले बताए। 

प्रहरीले सप्तकोसी आसपासका बासिन्दालाई पानी परेको अवस्थामा घरबाट बाहिर ननिस्कन र सप्तकोसीमा नजिक नजान समेत आग्रह गरेको एसपी रेग्मीले बताएका छन्। उनले सप्तकोसी आसपासका क्षेत्रमा पर्ने स्थानीय निकायसँग समन्वय गरेर सम्भावित घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट पर्याप्त प्रहरी परिचालन गरिएको बताए। 

सशस्त्र प्रहरीले पनि सप्तकोसीको बाढीबाट हुने सम्भावित घटना न्यूनीकरणका लागि ३८ जनाको गोताखोर सहितको उद्धार टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल कोसी प्रदेश कार्यालय सुनसरीका निमित्त प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक मनिष थापाले बताएका छन्। उनले बाढी पहिरोमा परेका जनतालाई उद्धार गर्नको लागि प्रदेश कार्यालयबाट ३८, झापा, मोरङ, सुनसरीबाट १५/१५ जनाको टोली अन्य गुल्महरूबाट तालिम प्राप्त ७ जनाको टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए। बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएका सशस्त्र प्रहरी पानी बोट सहित उद्धारमा खटिएको उनको भनाई छ। 

पूर्वी पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। बिहीबार सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड एकलाख ३४ हजार क्युसेक पुगेको छ। कोसी ब्यारेजका ५६ मध्य १९ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए। सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ। 

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा खेतीयोग्य जमिन  कटान गर्नुका साथै बाढी मानव बस्तीमा प्रवेश गर्न लागेको स्थानीय सन्तोष चन्द्रबंसीले बताएका छन्। २०६५ भदौ २ गते राति सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा सुनसरीको साविकको मधुवन, लौकहरी हरिपुर र श्रीपुर गाविसको हजारौं विघा खेतीयोग्य जमिन मरुभूमि बनाउनुका साथै सयौं घर बगाएर क्षति पुर्याएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.