एसईईमा ५२.१४ फेल, धेरै खस्कियो स्तर

एसईईमा ५२.१४ फेल, धेरै खस्कियो स्तर
फाइल तस्बिर।

काठमाडौं : शैक्षिक वर्ष ०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा स्तरीकृत अंक (जीपीए)को आधारमा विगतभन्दा खस्किएको छ। ११ कक्षामा भर्ना हुन योग्य विद्यार्थीको तुलनामा कक्षा चढ्नै नसक्ने अर्थात् नन ग्रेडिङ विद्यार्थीको संख्या आधाभन्दा बढी छ। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो।

गत चैतमा सञ्चालित एसईई परीक्षामा देशभरबाट ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थी सहभागी थिए। तीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन्। यो कुल विद्यार्थीको ४७.८६ प्रतिशत मात्रै हो। कुल विद्यार्थीमध्ये ननग्रेडिङ (एनजी) मा २ लाख ४२ हजार २ सय ९८ विद्यार्थी परेका छन्। यो कुल परीक्षार्थीको ५२.१४ प्रतिशत हो। यस्तो नतिजा २०७१ सालतिर हुन्थ्यो। परीक्षामा २ लाख ३३ हजार २ सय ७० जना छात्रा र २ लाख ३१ हजार ५ सय ३ छात्र सहभागी थिए।

दुई विषयमा कम जीपीए ल्याउनेले ग्रेडवृद्धिको मौका परीक्षा दिन पाउने छन्। मौका परीक्षा आगामी साउन १८ र १९ गते गर्ने बोर्डले तय गरेको छ। २ विषयमा १ लाख १५ हजार ८ सय ३४ जना एनजीमा परेका छन्। परीक्षार्थीले १ महिनाभित्रै नतिजा थाहा पाउने गरी सार्वजनिक गरिने तयारी रहेकाले एनजीबाट ग्रेडवृद्धि गर्नेले भने सोही शैक्षिक सत्रबाटै ११ कक्षामा भर्ना हुन पाउने छन्। तर, ननग्रेडिङमा परेका १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले अर्को वर्ष (आगामी चैत) को परीक्षा कुर्नुपर्ने छ। 

प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार यसपटक एसईईको नतिजा सार्वजनिक गरिएको हो। विद्यार्थीहरूले यसपटक नयाँ पाठ्यक्रमको पहिलो एसईई परीक्षा दिएका हुन्। अर्कोतर्फ ‘लेटर ग्रेडिङ निर्देशिका–२०७८’ को व्यवस्थाअनुसार नतिजा प्रकाशित गरियो। सो निर्देशिकाअनुसार हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। साथै प्रत्येक विषयमा ७५ पूर्णांकको लिखित परीक्षा सञ्चालन भएको थियो। जसमा विद्यार्थीले न्यूनतम २७ अंक ल्याउनुपर्ने थियो । यस्तै, आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ। 

यसअनुसार १.६ जीपीएभन्दा तल अंक ल्याउने विद्यार्थीहरू ननग्रेडिङ (एनजी) मा परे। उक्त जीपीए ल्याउने विद्यार्थीले ग्रेडसिटसमेत पाउँदैनन्। यसबीच विद्यार्थीलाई नतिजा प्रतिअसन्तुष्टि भएमा पुनर्योग र उत्तरपुस्तिका पुनः परीक्षण गर्न सकिने जनाइएको छ। यसका लागि बोर्डको वेबसाइटमार्फत फाराम भरेर आवेदन दिन सक्नेछन्। 

९ वर्षपछि पास-फेलको नतिजा 

यसअघि पास तथा फेल अंकित नगरी ग्रेडमात्र सार्वजनिक गरिन्थ्यो। शैक्षिक वर्ष २०७१ पछि लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गरिन्थ्यो। यसवर्ष भने परीक्षा बोर्डले पहिलोपटक पास-फेल सहितको नतिजा सार्वजनिक गरेको छ। यसअघि कम अंक ल्याउने विद्यार्थीहरूको हकमा समेत ग्रेडअनुसार ११ कक्षा पढ्न पाउँथे। तर, यसवर्ष भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेदेखि पास-फेलको विवरण प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। यो स्थितीले विद्यार्थीको परिणाम ९ वर्षअघिकै जस्तो देखियो। 
शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला न्यूनतम उपलब्धि शिक्षकले गर्नुपथ्र्यो तर नतिजाले नगरेको वा नजानेको, अर्थात् सोहीअनुसार विद्यार्थी तयार नपारेको हो कि भन्ने यो नतिजाले पुष्ट्याएको बताउँछन्। उनी भन्छन्, ‘हिजो न्यूनतम सक्षमता हाँसिल गर्नुपर्छ भन्ने चिन्तन थियो।  तर, यसलाई हाम्रा शिक्षक, नेता र ठूलाले फेल गर्ने र नगर्ने भनेर बुझिदिए। नन ग्रेडेड गर्ने चलन पाकिस्तान लगायतका मुलुकमा छ। सक्षमतामा आधारित पाठ्यक्रम बनाएपछि न्यूनतम सक्षमता पहिलो हुनुपर्छ भनेर सुनिश्चित गर्नेकाम शिक्षकले गर्नुपथ्र्यो। पाठ्यपुस्तक पठाउने जिम्मा शिक्षकको हो।’  

तर, अहिलेको नतिजालाई हेर्दा शिक्षकको पढाउने तरिका हिजोको जस्तै परम्परागत भएकाले यस्तो भएको उनको ठहर छ। ‘केही  शिक्षकलाई सोध्दा ३५ वर्षदेखि पढाउने शैली एउटै भएको सुनाउँछन्। तर, विद्यार्थीहरू नयाँ आउँदै गरे। पढाउने शैली भएन। पाठ्यक्रम, पाठ्यपुस्तक भइसकेपछि शिक्षकले पढाउने ताकत छ, तर गरिरहेका छैनन्। अलि घचघच्याउन जरुरी छ,’ उनले अन्नपूर्णसँग भने। उनकाअनुसार निजी विद्यालयले घोकाए तर सोचाउन जानेनन् तर अरूले घोकाउन जानेन जस्तो समस्या देखिएको छ।  

कुन विषयमा कति विद्यार्थीको एनजी ?

एसईईमा सबैभन्दा बढी विद्यार्थी गणितमा कमजोर देखिए। यसमा १ लाख ७७ हजार ९ सय ८५ विद्यार्थीको एनजी आएको छ। यसैगरी, विज्ञानमा १ लाख २६ हजार ९ सय ३३ विद्यार्थीको एनजी आएकोे छ। अंग्रेजीमा १ लाख १ हजार ३ सय ८, सामाजिकमा ७३ हजार ८ सय ७७, नेपालीमा ६९ हजार ५ सय ३२, अर्थशास्त्रमा ६९ हजार४ सय १६  र ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको बोर्डको तथ्यांकमा उल्लेख छ। 

कुन जीपीएमा कति विद्यार्थी ?

राष्ट्रिय परीक्षा बोर्डले  सार्वजनिक गरेको एसईई नतिजाअनुसार ३१ हजार ४ सय ७५ जना विद्यार्थीले सर्वोत्तम अर्थात् ३.६० देखि ४.० जीपीए ल्याउन सफल भएका छन्। यसपटक कुल विद्यार्थी संख्यामध्ये ६.७१ प्रतिशतले उक्त जीपीए ल्याउन सफल भएका हुन्। जबकी शैक्षिक वर्ष २०७९ मा कुल ४ लाख ८४ हजार ९ सय ९३ जना विद्यार्थीलेमध्ये ४.६३ प्रतिशतले उक्त जीपीए ल्याएका थिए।

यसवर्ष माथिल्लो जीपीए ३.२० देखि ३.६० सम्म ६८ हजार २ सय ५६ जनाले  प्राप्त गरेका छन्। यो कुल संख्याको १४.६८ प्रतिशत हो। यो २०७९ को नतिजामा कुल संख्याको ११.३६ प्रतिशत थियो।  यसपछि २.८० देखि ३.२० सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ७८ हजार ८ सय ७४ रहेका छन्। 

२.४० देखि २.८० सम्म जीपीए ल्याउने विद्यार्थी संख्या ४१ हजार १ सय ७७ जना छन्। यस्तै क्रमशः २ हजार ९ सय ५० जनाले २ देखि २.४० जीपीए ल्याउन सफल भएका छन्। यो सन्तोषजनक अर्थात् सी प्लस हो। यस्तै, ६ जनाले जनाले १.६० देखि २ जीपीए अर्थात् सी ग्रेड (एसेप्टेवल) प्राप्त गरेका छन्। 

गत वर्ष ३८ हजार ७ सय ७० जनाले १.२० देखि १.६० सम्मको जीपीए ल्याएका थिए तर यसवर्ष सो जीपीए नै छुट्ट्याइएको छैन। जीपीए १.६० भन्दा तलका जीपीए सबै अवर्गीकृत (ननग्रेटेड)मा राखिएको छ। जुन पास भएका विद्यार्थीको संख्याभन्दा अधिक २ लाख ४२ हजार ३ सय १३ रहेको छ। 

कुन वर्ष कस्तो नतिजा ?

सरकारले विद्यार्थीलाई फेल नगर्ने रणनीति लिएसँगै २०७१ पछि ग्रडिङ प्रणालीका आधारमा अध्ययन गर्ने भनियो। सोहीअनुसार नतिजा प्रकाशित गर्दै गयो। जसअनुसार गत वर्ष २०७९ को एसईईमा कुल ४ लाख ८४ हजार ९३९ विद्यार्थीमध्ये दिएकोमा १३ हजार ९ सय ९२ विद्यार्थीको ‘एनजी’ मा नतिजा आयो। जस्मा कुलको २.८९ प्रतिशत थियो। तल्लो जीपीए ल्याउने विद्यार्थीहरूको संख्या कम र माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढी देखियो। यसैगरी, शैक्षिक वर्ष २०७८ सालमा २२ हजार ५३७ विद्यार्थीको ग्रेड ‘एनजी’ आयो । यो कुल परीक्षार्थीको ४.५५ प्रतिशत थियो। यस्तै, शैक्षिक वर्ष २०७७ मा कोरोना महामारीले गर्दा परीक्षा सञ्चालन हुन नसक्दा विद्यालयले नै आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने प्रावधान गरियो। जसमा ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा बोर्डले प्रमाणीकरण ग¥यो।

अझ यसअघि क्रमशः शैक्षिक वर्ष २०७६ सालमा ४ लाख ६२ हजार १ सय ३६ विद्यार्थीले मध्ये १६ हजार ८ सय ८२ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याए, शैक्षिकसत्र २०७५ मा ४ लाख ४९ हजार ६४२ विद्यार्थीमध्ये ८ हजार २ सय ७ विद्यार्थीले ई ग्रेड ल्याए। यस्तै शैक्षिक वर्ष २०७२ कोमा ५ लाख ८८ हजार १५२ विद्यार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याए। अझ यसअघि ०७२ सालदेखि पास वा फेल केही नभनी ग्रेडमात्र छुट्ट्याउन थाल्यो। नम्बर नराखी नतिजा प्रकाशन गरियो। जसमा जीपीएसँगै फेल हुने विद्यार्थीलाई ‘एनजी’ ग्रेडमा राखियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.