पर्यटकको रोजाइमा ठिनी सामुदायिक होमस्टे
जोमसोम : ऐतिहासिक, धार्मिक, सांस्कृतिक, जैविक र पृथक् भूगोलका कारण हिमाली जिल्ला मुस्ताङ सबैखाले पर्यटकका लागि प्रिय छ। यहाँको मौलिकता र विविधताले मुस्ताङ एक महŒवपूर्ण पर्यटकीय हबको रूपमा विकास भइरहेको छ।
गण्डकी प्रदेशकै लाइफ लाइनका रूपमा रहेको मुस्ताङ अथाह सम्भावना नै सम्भावनाले भरिएको जिल्ला पनि हो। पछिल्लो समय राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडककै कारण मुस्ताङमा पछिल्लो आधा दशक यता पर्यटकको संख्या उल्लेख वृद्धि भइरहेको पनि छ।
मुस्ताङमा पर्यटकीय गतिविधि बढ्दै जाँदा मुस्ताङको घरपझोङ गाउँपालिका—५ स्थित ठिनी थकाली सामुदायिक होमस्टेमा पर्यटकहरू बास बस्न जाने गरेका छन्। कृषि व्यवसायमा आश्रित ठिनी गाउँका महिलाको आर्थिक जीवनस्तर उकास्न त्यहाँको जनमुक्ति युवा क्लबले २०७३ सालमा अनौपचारिक रूपमा ग्रामीण घरबास (होमस्टे)को अवधारण ल्यायो। क्लबकै पहलमा २०७४ सालमा ठिनी गाउँका पाँच घरधुरी महिला संगठित हुँदै होमस्टे सञ्चालन गरे।
सुरुवाती चरणमा ठिनीमा पाँच घरधुरीबाट सुरु भएको होमस्टे अर्को वर्षदेखि थप पाँच घरधुरी जोडिँदै १० घरधुरीले होमस्टे चलाइरहेका छन्। ठिनी थकाली होमस्टे सञ्चालनका लागि यसअघि नै समिति बनेको थियो। अध्यक्षमा मदना थकाली छिन् भने सचिवमा जुमा थकाली छन्। उनीहरूकै अगुवाइमा होमस्टेमा बस्ने पर्यटक पाहुनाको अभिलेख, खाएको र बसेको खर्चको हिसाब किताब राख्छन्।
होमस्टेमा आएका पर्यटकले खर्च गरेको पैसा उनीहरूले समान रूपमा बाँड्ने गर्छन् भने होमस्टेको कामकाजमा समेत कार्य विभाजन गरी खटिने गर्छन्।
सधैंभरि कृषि कर्ममा व्यस्त हुने ठिनी गाउँका थकाली महिलाले होमस्टे चलाएपछि उनीहरूको आर्थिक जीवनमा समेत परिवर्तन आउन थालेको छ। थकाली सामुदायिक होमस्टेकी अध्यक्ष थकालीले होमस्टेकै कारण आफूहरूलाई पर्यटन कर्ममा लाग्न उत्साहित बनाएको बताइन्। होमस्टे सञ्चालन गर्दा प्रचार–प्रसार नहुँदा पर्यटक आउन नसकेको भए पनि अहिले होमस्टे खोजीखोजी पर्यटक बाँस बस्न आउने गरेको उनले बताइन्।
होमस्टेमा रैथाने जातका स्थानीय उत्पादनका विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउनेदेखि थकाली कल्चर र सांस्कृतिक कार्यक्रमसमेत देखाउने गरेको अध्यक्ष थकालीले सुनाइन्।
होमस्टेमा चालु वर्षमात्रै पाँच हजार बढी पर्यटक पुगिसकेका छन्। पर्यटकको चाहनाअनुसार खान र बस्नको व्यवस्थासमेत होमस्टेमा गरिएको होमस्टे सचिव थकालीले जानकारी दिइन्। उनका अनुसार होमस्टेमा पर्यटक बढेसँगै गाउँमा भएका होटलमा कोठाहरूको सुधार गर्ने कोठा बढाउने कार्य भइरहेको छ। साँझपख सांस्कृतिक कार्यक्रम देखाउने र ठूलो संख्यामा आएका पर्यटकलाई खाना खुवाउनसमेत किचन कोठाको हलसमेत निर्माण भइसकेको सचिव थकालीको भनाइ छ।
होमस्टेका लागि संघ, प्रदेश र स्थानीय सरकारदेखि एक्यापले समेत आवश्यक आर्थिक, भौतिक र विभिन्न प्रकारका रचनात्मक सहयोग गरेका छन्। चालु वर्षमा उनीहरूलाई स्थानीय तहले रैथाने बाली प्रवर्द्धनका लागि स्थानीय उत्पादनलाई प्रशोधन गरी विभिन्न परिकार बनाउने उपकरण वितरण गरेको थियो। उनीहरूलाई विभिन्न निकायले तालिम र भ्रमणसमेत गराइसकेको छ।
एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले पर्यापर्यटनका लागि यहाँका होमस्टे प्रवर्द्धन र विकासका लागि सहयोग गर्दै आइरहेको बताए। उनले कलासंस्कृति र मौलिकतालाई संरक्षण गर्दै होमस्टे प्रवर्द्धन गर्न विभिन्न सामग्री वितरण, होमस्टे साइन बोर्ड, पर्यटक लक्षित सूचनाका साथै होमस्टे प्रवर्द्धन गर्न थकाली सांस्कृतिक गीत र लोक पर्यटनसम्बन्धी गीत बनाउन आर्थिक सहयोग गरेको बताए।
थकाली होमस्टेमा उवा, फापर, जौ, मकै आदिबाट तयार पारिएका विभिन्न खान पाक्छन्। पर्यटकले अर्डर गरेमा याक चौरी र च्यांग्राको मासु र सुकुटीको झोलसँग फापरको ढिँडोसमेत खान पाइन्छ। एकातिर होमस्टे चलाएर मनग्ये आम्दानी हुने गरेको छ भने अर्कोतर्फ आपूmले उत्पादन गरेको बाली होमस्टेमै खपत हुने भएकाले उनीहरूका लागि होमस्टे गतिलो आम्दानीको स्रोत बनेको हो।
ठिनी सामुदायिक होमस्टेका महिलाले पछिल्लो समय अनलाइनमार्फत होमस्टेमा बस्ने पाहुनाको बुकिङ गर्ने प्रणालीको विकास गरेका छन्। यसो गर्दा पर्यटकलाई डेलिभरी दिन सजिलो भएको छ भने अर्कोतर्फ पर्यटक कति आउँछन भन्ने थाहा पाउन सजिलो भएको छ। ठूलो समूहमा पाहुना आउँदा उनीहरू सामूहिक रूपमा काममा खटिन्छन्। पर्यटकले चाहेमा सांस्कृतिक कार्यक्रम देखाउन होमस्टे उपसमितिसमेत गठन गरिएको छ।
जोमसोम सदरमुकामदेखि नजिकै रहेको ठिनी गाउँ ओझेलमा पर्दै आइरहेकोमा सडक सञ्जाल सहज भएसँगै त्यहाँ पर्यटन विकासको ढोका खुल्ला भएको हो। जोमसोमदेखि ठिनी हुँदै ढुम्बाताल जाने सडकसमेत प्रदेश सरकारले निर्माण गर्दै गरेका कारण मुस्ताङ आएका पर्यटक ठिनी होमस्टेमा पुग्न सहज भएको हो। वैकल्पिक पदमार्ग, ढुम्बाताल, यारुझो भ्युटावर, स्नो लियोपार्टका साथै ठिनी गाउँ त्यहाँबाट मनमोहन देखिन्छ। नीलगिरि र धौलागिरि हिमाल, कालीगण्डकी नदीको तटीय क्षेत्र सुन्दर देखिन्छन्। त्यहाँ बास बस्न पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरूको त्यहाँको मौलिकता अवलोकन गर्ने र साँझ सांस्कृतिक कार्यक्रममा झुमेर नाच्ने गर्छन्। पर्यटकले चाहना गरे थकाली कपडा लगाएरसमेत फोटो र भिडियो खिच्ने व्यवस्थासमेत गरिएको छ। कोरलानाका र मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटक ढुम्बाताल पुगेर होमस्टेमा बास बस्न जान्छन्।
तिब्बतीय कला संस्कृति, पृथक् भूगोल, जैविक विविधतालगायतले स्वदेशी तथा विदेशी पर्यटकलाई मुस्ताङ घुम्न लोभ्याउन गर्छ। पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समेत मुस्ताङलाई घुम्नै पर्ने सूचीमा राखेपछि झनै मुस्ताङमा पर्यटकको संख्या वृद्धि भइरहेको छ। गत वर्ष पाँच लाख पर्यटकले मुस्ताङको भ्रमण गर्दा ९० हजार बढी पर्यटक विदेशी मुस्ताङ आएका थिए। पर्यटक आगमन बढेसँगै मुस्ताङका पर्यटन व्यवसायीलाई थप उत्साहित मात्र बनाएको छैन यहाँका आर्थिक विकासमा समेत ठूलो योगदान पु¥याएको छ।