खानेपानी उपभोक्ता र विद्यालयलाई सामग्री सहयोग
बेनी : नेपाल विद्युत प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाले शुक्रबार रघुगंगा गाउँपालिका–३ पिप्लेका ३ वटा सामाजिक संघ संस्थालाई निर्माण सामग्री सहयोग गरेको छ।
आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रानीपौवाको अमरसिंह आधारभूत विद्यालय, पिप्लेको धरमपानी आमा समूह र पिप्ले खानेपानी उपभोक्ता समूहलाई ५ लाख मूल्य बराबरको पाइप, जस्तापाटा, रडक, टेबल, कुर्ची र ग्याबिन जाली उपलब्ध गराएको हो।
आयोजना प्रमुख रोशन अग्रवाल र वातावरण इकाईका निर्देशक मिलन दाहालले वडा अध्यक्ष खिमबहादुर शाहीको रोहबरमा सामग्री हस्तान्तरण गरे। अमरसिंह आधारभूत विद्यालयलाई चार सय केजी ८ एमएम र १० एमएमको रड, २ केजी डण्डी कस्ने तार, १४ थान प्लास्टिक कुर्ची र ४ थान प्लास्टिकको टेबुल उपलब्ध गराइएको छ।
धरमपानी आमा समूहलाई १० बण्डल जस्तापाता, पिप्ले खानेपानी उपभोक्ता समूहलाई २०० मिटर २० एमएम र १६ थान ग्याबिन जाली उपलब्ध गराइएको आयोजनाका प्रशासकीय अधिकृत मातृका प्रसाद तिमल्सिनाले बताए।
नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सञ्चालन गरेको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ।
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन बनाउन लागिएको हो।