पहिरोले सिँचाइ नहर बगाउँदा रोपाइँ प्रभावित
कास्की : धान रोप्ने बेलामा नहर पहिरोले बगाएपछि पोखरा महानगरपालिका–१९ पुरुनचौरका कृषक चिन्तित बनेका छन्। सार्दीखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर स्थानीपाताल भन्ने ठाउँमा गत मंगलबार रातिको वर्षासँगै पहिरोले बगाएको थियो।
पहिरोले बगाएपछि नहर पूर्ण रुपमा बन्द भएको छ। नहरमा पानी नआएपछि धान रोपाइँको तयारी गरेका कृषक निरास बनेका हुन्। पोखरा–१९ पुरुनचौरका स्थानीय इमानराज पौडेलले नहरबाट पानी नआउँदा साविक पुरुनचौरको वडा न ६, ७, ८ र ९ गरी चार वडाका सयौँ कृषकहरू धान रोपाइँबाट वञ्चित भएको बताए। पुरुनचौरमा यसवर्ष आधाभन्दा बढी खेतमा रोपाइँ हुन बाँकी छ। सो सिँचाइ आयोजनाबाट तीन सय ५० हेक्टर जमिन सिँचित हुँदै आएको थियो।
‘धानको बीउ छिप्पिन लागिसकेको छ तर नहर नचल्दा पुरुनचौरको धान रोपाइँ हुने क्षेत्रका आधा जमिन पूरै सुक्खा हुने अवस्था छ।’ पौडेलले भने, ‘पुरानो कुलो सञ्चालनमा छैन। आकाशबाट पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन।’
पहिरोले ३० मिटर नहर बगाएको छ। यस विषयमा स्थानीयवासीले पोखरा महानगरपालिका तथा प्रदेश सरकारसँग ध्यानाकर्षण गराएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पहिरोले क्षति पुगेको नहरको स्थलगत अवलोकन गरेका छन्। उनले स्थानीय कृषकहरूलाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। मुख्यमन्त्रीले नहर पुनर्निर्माणका लागि प्रदेश सरकारले तुरुन्त काम अघि बढाउने बताए।
मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेश सरकारले कृषकले भोग्नुपरेको समस्या तुरुन्त समाधान गरिनेछ। हामीले छिटोभन्दा छिटो नहर मर्मत गरी पानी सुचारु गर्नेतर्फ लाग्ने छौँ। खेतीयोग्य जमिन बाँझो हुन दिनेछैनौँ।’ सार्दीखोला पुरुनचौर सिँचाइ २०५२ सालमा निर्माण गरिएको हो। माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौरको जमिनमा सिँचाइ गरिँदै आएको थियो।