आज राष्ट्रिय धान दिवस

मुलुकभर ९.८% मात्रै रोपाइँ

मुलुकभर ९.८% मात्रै रोपाइँ
फाइल तस्बिर।

काठमाडौं : असार १५, राष्ट्रिय धान दिवस। अर्थात्, मानो रोपेर मुरी उब्जाउने समय। दुई दशकयता त सरकारले धूमधामसाथ धान दिवस मनाउने गरेको छ। तर, समयमा रोपाइँ नहुने र धान आयात गर्नैपर्ने बाध्यता छ। यस वर्ष पनि मध्य असारसम्म ९.८ प्रतिशतमात्रै रोपाइँ भएको छ। सिँचाइ र मलखादको अभावका कारण अधिकांश खेत बाँझै छन्। 

सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरेको छ। यस वर्ष कृषि तथा पशुपन्छी मन्त्रालयले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा दिएको छ। चितवनमा कार्यक्रम गरेर दिवस मनाइँदै छ। 

तर, सिँचाइको अभावले समयमा धान रोप्नुपर्ने समस्या बर्सेनि दोहोरिने गरेको छ। आकाशेपानीकै भरमा धान खेती गर्नुपर्ने बाध्यता किसानको छ। यस वर्ष पनि लामो खडेरी र वर्षा सुरु नभएका कारण धान रोपाइँ गर्न सकिरहेका छैनन्। यस वर्ष १ लाख ३६ हजार ४ सय ११ हेक्टरमा धान रोपाइँ भएको छ। जुन, ९.८ प्रतिशतमात्रै हो। यस वर्ष मुलुकभर १३ लाख ९८ हजार ८ सय ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदैछ। तर अझै १२ लाख ६२ हजार ४ सय २५ हेक्टर जमिनमा धान रोपाइँ गर्न बाँकी रहेको कृषि विभागको तथ्यांकमा उल्लेख छ। यसअनुसार अझै ९०.२ प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ।

यद्यपि, गत वर्षको भन्दा भने केही बढी भागमा धान रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा ८.७५ प्रतिशत धान रोपिएको थियो। तर, २०७९ सालमा भने ३०.७१ प्रतिशत रोपाइँ भएको थियो। असार मध्य हुँदा पनि मुलुकभर बर्खे धान रोपाइँ औसत कम छ। आकाशेपानीकै भर पर्नुपर्ने बाध्यता र मनसुन ढिलाइ हुँदा धान रोपाइँ कम हुने गरेको कृषि विभागका प्रवक्ता डा. अरुण काफ्ले बताउँछन्। उनका अनुसार धानको लागि सिँचाइ सुविधा भएको क्षेत्रफल एकदमै कम छ। ‘मुलुकभर करिब २५ प्रतिशत क्षेत्रफलमा सिँचाइको सुविधा भएकाले समयमै रोपाइँ हुन्छ। यसबाहेकका क्षेत्रमा भने पानी परे मात्रै समयमा हुन्छ। आकाशेपानी नै कुर्नुपर्छ,’ डा. काफ्लेले अन्नपूर्णसँग भने। 

यस वर्ष सबैभन्दा बढी सुदूरपश्चिम र कर्णालीमा रोपाइँ भएको छ। सुदूरपश्चिममा २५ प्रतिशत धान रोपिएको छ। १ लाख ७४ हजार ५ सय ७६ हेक्टर जमिनमध्ये ४३ हजार ६ सय ३४ हेक्टरमा रोपाइँ भइसकेको छ। यस्तै, कर्णालीमा २३.९ प्रतिशत रोपाइँ भएको छ। ४१ हजार ९ सय ४ हेक्टरमध्ये १० हजार १० हेक्टरमा रोपाइँ भइसकेको छ। यो गत वर्षको भन्दा बढी हो। 

गत वर्ष २२.६ प्रतिशत हाराहारीमा भएको थियो। हालसम्म सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ। जहाँ २.९ प्रतिशतमात्रै रोपाइँ भएको छ। कुल ३ लाख ८३ हजार १ सय ५० हेक्टर जमिनमध्ये ११ हजार ४० हेक्टर मात्रै रोपाइँ भएको हो। यस्तै कोशी प्रदेशमा १७ प्रतिशत रोपाइँ भएको छ। २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये १५ हजार ३ सय ६० हेक्टर मात्रै हो। यसैगरी बागमती प्रदेशले यसपटक १८.३ प्रतिशत रोपेको छ। यो कुल १ लाख १२ हजार २ सय ७३ हेक्टरमध्ये २० हजार ५ सय ५० हेक्टर हो। 

यस्तै, गण्डकी प्रदेशमा ८.३ प्रतिशत अर्थात् ९८ हजार ९ सय ४ हेक्टरमध्ये ८ हजार २ सय ४७ हेक्टरमा रोपाइँ भएको छ। यता लुम्बिनी प्रदेशमा पनि ८.८ प्रतिशत अर्थात् कुल ३ लाख ११ हजार ६ सय ४३ हेक्टर जमिनमध्ये २७ हजार ५ सय ७० हेक्टर हो। 

रोपाइँ कम हुनुको मुख्य कारण सिँचाइ अभाव हो। सरकारले सिँचाइ नीति बनाएर कार्यान्वयन गरेको छ। उक्त नीतिअनुसार खेतीयोग्य जमिनमा सिँचाइ व्यवस्था गर्ने भनिए पनि हालसम्म २०–२५ प्रतिशत जमिनमा मात्र सिँचाइको सुविधा भएको किसान अभियन्ता नवराज बस्नेत बताउँछन्। 

‘डोजरे विकासका कारण परम्परागत रूपमा किसानको श्रमदानबाट निर्मित सिँचाइ कुलाहरू नोक्सान भई सञ्चालनमा आउन सकेका छैनन्। जमिनमा पानीको सतह घट्दै गएको छ। जसको असर सुक्खा बढ्दैछ। सिँचाइको व्यवस्था छैन,’ उनी भन्छन्, ‘कहिले आकाशबाट पानी खस्ला र रोपाइँ गरौंला भनेर किसानहरू आकाशतिर मुन्टो तेस्र्याउन विवश छन्। जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा किसानहरूले समयमा बाली लगाउन सकेका छैनन्। जसको प्रत्यक्ष असर उत्पादनमा पर्नेछ।’ 

धान उत्पादनको लक्ष्य ः ५७ लाख मेट्रिकटन

मुलुकमा वार्षिक रूपमा ५५ लाख मेट्रिकटन असारे धान उत्पादन हुने गरेको छ। प्रतिहेक्टर औसत ३.६ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको प्रवक्ता डा. काफ्लेले जनाए। ‘तर झापा, मोरङमा भने अझ बढी उत्पादन हुन सक्छ। पहाडी जिल्लामा कम हुन्छ,’ काफ्लेले भने। यद्यपि चालु आवमा भने धानको कुल उत्पादन गत आवभन्दा ४.३३ प्रतिशतले बढी छ। अर्थात्, ५७ लाख २४ हजार २ सय ३४ मेट्रिकटन उत्पादन भएको छ। जुन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार कुल धानबाली भिœयाइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार ९ सय ८९ हेक्टर कायम हुन पुगेको छ। यो क्षेत्रफल गत चार आवको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो। धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ। जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो। 

‘चालु आवमा धान उत्पादन वृद्धि हुनुमा उन्नत बिउको उपलब्धता र प्रयोग, रोग किराको प्रकोपमा कमी, बाढी पहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई लिइएको छ। मधेस प्रदेशका केही जिल्लाहरूमा धान रोप्ने समयमा पर्यात वर्षा नभएको कारणले समग्र मधेस प्रदेशको उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आएको छ,’ मन्त्रालयले जानकारी दिएको छ। 

बर्सेनि अर्बौंको धान-चामल आयात

मुलुकमा बर्सेनि अर्बौं रकमको धान, चामल र कनिका आयात हुने गरेको छ। चालु आवको ११ महिनामा मात्रै ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँबराबरको ३० करोड ५३ लाख १० हजार ५ सय २० किलोग्राम धान आयात भएको छ। यस्तै, चामलमात्रै ८ अर्ब ६९ करोड रुपैयाँबराबरको आयात भएको छ। यस्तै, सोही अवधिमा कनिका ९ लाख २० हजार रुपैयाँको र धानको बिउ ८८ करोड ६५ लाख २१ हजार रुपैयाँबराबरको आयात भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.