समाजभित्रको मूल्य पद्धतिमा नै विस्थापन भइरहेको छ

समाजभित्रको मूल्य पद्धतिमा नै विस्थापन भइरहेको छ
तस्बिर : सुनिता डंगोल

नवीन सुब्बा, फिल्म निर्देशनमा हतारिँदैनन्। झन्डै दुई दशकको अवधिमा निर्देशित तीनवटै फिल्म चर्चामा रहे। लिम्बू समुदायमाथिको पहिलो फिल्म ‘नुमाफुङ’ माइलस्टोन मानिन्छ, मौलिकता र विदेशी मञ्चमा उपस्थितिका हिसाबले। दसवर्षे माओवादी जनयुद्धको पृष्ठभूमिमा बनेको थियो, ‘गुडबाई काठमाडौं’।

जसले ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’ मा ‘उत्कृष्ट फिल्म’ को अवार्ड जित्यो। पछिल्लो फिल्म हो, ‘गाउँ आएको बाटो’। अर्गानिक कथावस्तुमा आधारित फिल्म निर्देशन गर्ने सुब्बासँग अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको अन्तर्वार्ता :


केही वर्षको अन्तरालमा फिल्म बनाउनु हुन्छ। किन ?
नुमाफुङपछि टेलिशृंखला दलनको सिरिजमा व्यस्त भएँ। त्यसपछि ‘गुडबाई काठमाडौं’ निर्देशन गरें। टेलिशृंखला सिंहदरबार सिरिज बनाएँ। अहिले ‘गाउँ आएको बाटो’ निर्देशन गरेको छु। सिरिजमा व्यस्त हुनु पर्दा फिल्म निर्देशनमा समय लागेको हो। 

टेलिशृंखलाका सिरिज र फिचर फिल्म बनाउँदा केमा बढी रमाउनुहुन्छ ?

कामको प्रकृति एउटै हो। सिरिजमा लामो कालखण्ड, धेरै कथाहरू जोडिएको हुन्छ। फिचर फिल्ममा एउटै विषय वा कथावस्तु हुन्छ। फिल्ममा समयावधि पनि छोटो हुन्छ। दुई घण्टाको मात्र हुन्छ। काम गर्दा त्यस्तो फरक अनुभूति छैन। दुवैमा इन्जोय नै गर्छु। 

‘नुमाफुङ’देखि ‘गाउँ आएको बाटो’ निर्देशनका क्रममा भिन्न समुदाय र संस्कृतिको पाटोमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

फिल्मको चरित्रमा विश्व दृष्टिकोण र विश्वास पद्धति हुन्छ। त्यसले कथा भन्नलाई फरक पार्दो रहेछ। स्क्रिप्टभित्र पात्रले सोंच्ने, विश्वास गर्ने कुरा खोज्नु नै प्रधान हुँदो रहेछ। पहिले बाहिर खोजिन्थ्यो। अहिले भित्र खोज्ने चलन आएको छ। ‘नुमाफुङ’ र ‘गाउँ आएको बाटो’ प्रविधिगतरूपमा पनि फरक छ। मेरो बुझाइमा पनि फरकपन आएको छ। ‘गाउँ आएको बाटो’मा बाबुछोराको कथावस्तु छ। तर पनि समाजका सबै क्षेत्र अन्तरघुलन भएको छ। यसमा सामाजिक र आर्थिक स्थिति देख्न सकिन्छ। 

सडक, बजार, प्रविधि, सूचना र अहिलेको समाजलाई ठ्याक्कै ल्याइएको छ। अझ त्यसभन्दा अगाडि गएर निर्देशकले केही सन्देश दिएको छ। null

फरक संस्कृति र भूगोलमा आधारित फिल्म बनाउँदा कत्तिको चुनौती हुने रहेछ ?

राई साथीहरू पनि धेरै नै भएकाले ‘गाउँ आएको बाटो’ मा सजिलो नै भयो। धेरै कलाकारका साथै स्क्रिप्ट राइटर पनि राई नै। यस्तो विषयवस्तुमा विशेषगरी सम्बन्धित समुदायलाई संलग्न गराउनु पर्छ। ‘दलन’ मा दलित साथीसँगै काम गरें। यसो गर्दा आफ्नो विषयवस्तुलाई सम्बन्धित समुदायले कसरी लिनुहुन्छ÷बुझ्नुहुन्छ ? भन्ने कुरालाई नजिकबाट नियाल्न सकिन्छ। गाइड पनि हुन्छ। संवेदनशील विषयवस्तुमा सोही समुदायका धेरै 
व्यक्तिलाई संलग्न गराउँदा पोजेटिभ रेस्पोन्स आउँछ। गल्ती हुनबाट पनि जोगिन्छ। 

यस खालको फिल्म चल्दैन भन्ने भाष्य पनि थियो नि ? 

यस्तो सिनेमा नेपाली दर्शकले हेर्दैनन् भन्ने जुन कुरा थियो। त्यो त होइन रहेछ। केही ब्यारियर हामीले तोड्यौं। यसमा खुसी ब्यारियर तोडेकोमा खुसी पनि लागेको छ। यस प्रकारको सिनेमाको दर्शक पनि छ। महाजात्राको पनि छ। कबड्डीको पनि छ। अब अरूलाई पनि यस खालको फिल्म बनाउन हौसला हुने भयो।

फिल्मले बक्स अफिसमा के गर्छ भन्दा पनि कर्म गरिरहनु पर्छ भन्ने लाग्छ। फिल्म मेरो कर्म हो। त्यसरी हेर्छु। राम्रो काम गरुँ र विदेशी साथीहरूले बनाएको स्तरमा नेपाली फिल्म बनाउन सकियोस् भन्ने लाग्छ। तर, मिहिनेत गरेर अलिकति उकासेर माथि जान्छु, साथीहरू मलाई छोडेर कहाँ पुगिसक्नु भएको हुन्छ। त्यो चुनौती रहिनै रहन्छ। यही त, क्रमिक विकासक्रम हो जस्तो लाग्छ। 

‘गाउँ आएको बाटो’मा मुख्य पात्र अन्ततः गाउँबाटै विस्थापित भएको देखाइएको छ। यो किन ? 

पछिल्लो चरणमा जे जति प्रगति भइरहेको छ त्यो हाम्रो हातभित्र छैन। यो ग्लोबल (विश्वव्यापी) कुरा हो। हामीले मोबाइल फोनलाई रोकेर रोक्न सक्छौं र ? मल्टिनेसनल कम्पनीका उत्पादनहरू घरघरमा आइहाल्छन्। अहिले विश्व नै एउटा युनिटजस्तो भएको छ। र, हामी त्यो युनिटका सानो पुर्जा जस्तो। यसरी पेलेर लैजान्छ कि कसैले रोक्छु भनेर पनि सक्दैनन्। लपेटेर लैजान्छ। यो विश्वजनित कुरा हो। त्यसले सबैलाई प्रभावित गरिरहेको हुन्छ।

जलवायु परिवर्तनले झैं सबैलाई प्रभावित पारिरहेको छ। फिल्ममा पनि त्यहीँ कुरा हो। जे कुराहरू विस्थापित भएको देख्छौं, त्यो वस्तुमा मात्र विस्थापन होइन। ठूलो विस्थापन त हाम्रो मूल्य पद्धतिमा भइरहेको छ। गाउँ आएको बाटोमा माइला बाध्य भएर गाउँ छोड्छ। बाध्यता मात्र होइन रहरले गाउँ छोड्ने पनि त छन् नि। फिल्मको अर्को पात्र लाहुरेको छोरो रहरले जर्मनी जान्छ। हाम्रै गाउँ समाजमा हेरौं न हुनेखानेहरू अमेरिका, अस्ट्रेलिया जान थालेका छन्। कोही जर्मनी, जापान सोच्न थालेका छन्। 

तपाईंका फिल्मलाई कतिपयले वृत्तचित्र (डकुमेन्ट्री)को संज्ञा दिन्छन् नि ? 

२० वर्ष अगाडि ‘नुमाफुङ’ बनाउँदा यो आरोप लागेको थियो। तर, अहिले बुद्धिजीवी, प्राज्ञिकहरूले कुनै नेपाली फिल्ममा नाम लिनु पर्दा ‘नुमाफुङ’ कै लिएको पाउँछु। गाउँ आएको बाटोमा पनि डकुमेन्ट्रीजस्तो भएको कुरा सुन्छु। भारतको हैदरबादबाट यो गाउँ आएको बाटो हेर्नको लागि अनुरोध आइरहेको छ। अमेरिकाको फ्लोरिडाबाट पनि अनुरोध आएको थियो। अहिले त्यहाँ चलिरहेको छ। उनीहरू किन यिनै फिल्म हेरौं भनिरहेका छन् त ? वृत्तचित्र भएको भए त वृत्तचित्र हेरौं भन्थे होलान् नि। जसले वृत्तचित्र भनिरहेका छन् ती व्यक्तिले सिनेमा के हो ? भन्ने नै बुझेका छैनन् भन्नुपर्‍यो। मद्रासी सिनेमा मात्र सिनेमा हो भन्ने बुझाइ हो भने रुचिमा समस्या छ भन्नुपर्ने हुन्छ।

वृत्तचित्रमा मेनुपुलेट गर्न पाईंदैन। फिल्ममा त हामी जे भन्न चाहन्छौं त्यसका लागि यथेष्ट मेनुपुलेटको छनोट छ। कुन दृश्य राख्ने, नराख्ने तथा कलाकारलाई कसरी अभिनय गराउनेसम्मका छनोट हुन्छ। रियालिटीको नजिक पुग्न सिनेमालाई धेरै अप्ठ्यारो छ। 

मौलिक फिल्म कसरी निर्माण गर्न सकिन्छ ?
फिल्ममा कथावस्तु, भाषा र स्वरूप कस्तो हुनुपर्छ ? म चाहिँ यसमा खोज्ने, घोत्लिने प्रयास गरिरहन्छु। फिल्ममा विशेषगरी गाउँको कथा नै भन्न रुचाउँछु। गाउँको कथा यथार्थमा आधारित हुन्छ। यथार्थ भन्नाले फेरि वृत्तचित्र जस्तो पनि होइन। सेलेक्टेड यथार्थ हुन्छ। आफूलाई चाहिने चिज मात्र मैले लिन्छु। फिल्ममा समाजभित्रको समुदायकै कथा नै बढी भनिनुपर्छ भन्ने लाग्छ।

पहिला–पहिला नेपालमा विदेशी फिल्म कपी गर्ने एउटा चरण थियो। त्यो चरण भनेको फिल्म बनाउन सिकिरहेको क्रम थियो। अहिले हामी रचनाकर्ममा छिर्न थालेका छौं। फिल्ममा पनि सिफ्ट आएको छ। अब नेपाली भूगोल, जातजाति, सभ्यताका आधारमा धेरै कथा भनिनुपर्छ। कथाको संश्लेषणबाट नै नेपाली फिल्मको भाषा निर्माण हुन्छ भन्ने मेरो बुझाइ हो। कथावस्तुमा बढीभन्दा बढी अथेन्टिक हुने प्रयास गर्छु। त्यो अरूले नगरिरहेको कारणले अलि फरक देखिएको हुन सक्छ। अब समाजको विविधता उजागर गर्ने, नयाँ–नयाँ शैलीमा कथा पस्कने कुरालाई प्राथमिकता दिनुपर्छ। null

सफल फिल्मको लागि कथावस्तु, निर्देशकीय क्षमता, कलाकारको भूमिकामध्ये कसको भूमिका बढी प्रधान हुन्छ ?

यी सबै पक्ष सन्तुलित हुनुपर्छ जस्तो लाग्छ। निर्देशकीय दक्षता पनि हुनु पर्‍यो। कलाकार पनि अब्बल हुनु पर्‍यो। कलाकार राम्रो भएन भने निर्देशकले जति नै क्षमता देखाउन खोजे पनि हुँदैन। स्क्रिप्ट राइटर पनि निपुण हुनु पर्‍यो। ध्वनिमा काम गर्ने पनि त्यस्तै हुनु पर्‍यो। हाम्रोमा ध्वनिलाई कम ध्यान दिइन्छ। यद्यपि, पछिल्लो चरणमा ध्वनिमा पनि मेहनत हुन थालेको छ। समग्रमा भन्नु पर्दा सबै विधाहरूमा उत्तिकै निपुणता चाहिन्छ। सबै विधाको संयोजनमा निपुणता भएमा मात्र प्रभाव पार्ने हो। 

मसलेदार फिल्म निर्माणको तीव्रता चलिरहेका बेला गाउँको कथावस्तुमा आधारित रहेर नवीनता एवं मौलिकता पस्कने सोच कसरी आयो

नेपालीको परिचय के हो ? हाम्रो मौलिक कला, संस्कृति, भाषा कस्तो हुनुपर्छ ? पहिलेदेखि नै यो प्रश्नले घोचिरहन्थ्यो। हलिउड, बलिउडका फिल्महरू झ्वाट्ट हेर्दा नै चिनिहालिन्छ। विदेशीहरूले कसरी काम गर्छन् ? भन्ने लागिरहन्थ्यो। खोजी गरें। आफ्नो मुलुकका लोककथा, गाथा, लोकसंगीतबाट आफ्नो चलचित्रको भाषा निर्माण गर्दा रहेछन् भन्ने थाहा पाएँ। यदि त्यो हो भने हामीले पनि समुदायभित्रका कथा, गाथाबाट कथावस्तु भन्न सक्यौं भने बल्ल हाम्रो फिल्मको भाषा बन्छ। त्यो खोजका कारण नयाँ वा फरक लाग्ने हो। भिन्न समुदाय र जातिभित्रको सौन्दर्य, विश्वास पद्धति फरक र नौलो देखिन्छ। 

‘गाउँ आएको बाटो’लाई डायस्पोरामा प्रदर्शनको योजना के छ ? 

अहिले नेपाल, अमेरिका बेलायतमा स्क्रिनिङ भएको छ। अस्ट्रेलियामा ७०/८० स्क्रिनिङहरू छन्। अमेरिकामा पनि त्यस्तै छ। अरू ठाउँमा पनि तयारी गरिरहेका छौं। गैरनेपालीमाझ पनि प्रदर्शनको तयारी चलिरहेको छ। हङकङ, चीन, भारतमा पनि स्पेसल स्क्रिनिङ गर्ने कुरा चलिरहेको छ। युरोपमा पनि विस्तारै गर्ने सोच छ। अहिले प्रदर्शन भइरहेको नेपाली भर्जन हो।

प्रसंग बदलौं, कोभिडको बेला सुस्ताएको नेपाली फिल्मीक्षेत्र अहिले तंग्रिन थालेको हो ?

यो वर्ष केही फिल्महरू सफल भए। केही सिनेमा मज्जाले चले। सटिक उदाहरण ‘बोक्सीको घर’ हो। ‘बोक्सीको घर’ चल्छ भनेर धेरैलाई विश्वास थिएन। तर, दर्शकले हेरिदिनुभयो। यहाँ यस्तो फिल्म नेपालीहरूले हेर्छन् है भन्ने व्यक्तिहरू छन्। यस वर्ष फिल्मी पण्डितहरूले माथ खाए। गाउँ आएको बाटो पनि दर्शकले हेर्नुभयो। माया गर्नुभयो। ठूलो समूह आबद्ध भएर छलफल गरिरहेको देख्दा छक्क छुँ।

यति ठूलो रूपमा समाज इन्गेज भएर बहस चलाउँछ जस्तो लागेको थिएन। बाहिरी मुलुकका दर्शकले पनि यति चासो र उत्सुकताका साथ हेर्न चाहनुहुन्छ जस्तो लागेको थिएन। ‘नुमाफुङ’ र ‘गुड बाई काठमाडौं’ सानो समुदायमा मात्र चलेको थियो। तर, ‘गाउँ आएको बाटो’ मा धेरै बहस भएको छ। प्रविधिको विकास र सोसल मिडियाको प्रभावले पनि होला चर्चा पाइरहेको छ। नेपाली दर्शकको रुचिमा रूपान्तरण भएको हो कि पनि भन्न सकिन्छ। विविधता वा सबै प्रकारको सिनेमा हेर्ने दर्शक छन् है भन्ने पुष्टि भएको देखिरहेका छुँ। 

पछिल्लो समय दर्शकको मनोविज्ञानका साथसाथै फिल्म निर्माण र कथावस्तुको ट्रेन्ड पनि बदलिएको हो ?

प्रत्येक दस वर्षमा टे«न्ड फेरिन्छ। हरेक कालखण्डमा समाजको चरित्र, चेतनासँगै फिल्ममा पनि ट्रेन्ड बदलिएको देखिन्छ। २०४६ सालको जनआन्दोलन पछिको फरक खालको फिल्म निर्माण भयो। २०५२ सालमा माओवादी युद्ध हुँदाको अवस्थामा र २०६२/०६३ को आन्दोलन पछि फेरि अर्को खालको सिफ्ट देखिन्छ।

null

पहिले फिल्मको कपी (नक्कल) हुन्थ्यो। योबाट रूपान्तरित हुँदै अहिले आफ्नो चिज के हो ? भन्नेतर्फ खोज गरेको वा त्यतातिर जाँदै गरेको देखिन्छ। पहिले गाउँको कथा सहरसम्म आउँथ्यो। अहिले कथा सहरबाट गाउँमा जाने पनि चलिरहेको छ।

मधेसका कथावस्तुमा पस्केको पनि पाइँदैन। यसमा कुन ‘माइन्ड सेट’ ले काम गरिरहेको छ ? 

यसमा पूर्वराजा महेन्द्रलाई मात्र पनि कति दोस्याउने, हैन ? (हाहाहा)। राष्ट्र बनाउने महेन्द्रको जुन आइडिया थियो नि, त्यसमा समस्या थियो लाग्छ। पञ्चायतकालमा जुन ढंगले सेप अप गरियो। त्यो अहिलेसम्म निरन्तर छ जस्तो लाग्छ। तर पनि विस्तारै सिफ्ट हुँदैछ। हामी अगाडि बढिरहेका छौं। विस्तारै नयाँ चिज, विचार आउँछ होला। मधेसको नायक पनि आउने वा स्वीकार्ने हुन्छ होला। यस्ता चिजहरू विस्तारै विकास हुँदै अघि बढ्छ भन्ने लाग्छ। फिल्म मेकरहरूले पनि भ्याकुम पूर्ति गर्नु पर्‍यो भन्ने अनुभूति भइरहेको छ। सबै फिल्मकर्मीले सोचिदिनु पर्‍यो। कलाको ध्येय नै मानवीय विकास हो। हाम्रो विकसित हुँदै गरेको समाज हो। अमेरिका, कोरिया, जापानमा पनि त्यस्तै छ। जातजाति, समुदायसम्बन्धी मानसिकता र विभेद अधिकांश मुलुकमा हुँदो रहेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.