मनै हल्लाउने आमाको कथा
...जसले पाठकको मनै विक्षिप्त पार्छन्। जति पढ्दै गयो उति आँसु बगाउँछ। लाग्छ शोकैशोकको कहानी हो, बोरा।
अखण्ड भण्डारी नेपाली पत्रकारिता जगत्को उम्दो नाम अब पत्रकारितामा मात्रै सीमित रहेन। पहिलो कृति ‘मलाया एक्सप्रेस’ लिएर नेपाली साहित्य आकाशमा झुल्केका उनी यसपटक ‘बोरा’ लिएर चम्केका छन्। हाम्रो पूर्वीय दर्शन असाध्यै धनी छ, वैज्ञानिक छ। तर, यसलाई हिजोका ठगीखानेले आफ्नो अनुकूल व्याख्या गरेर विभिन्न मानक खडा गरिदिए। परिणाम जननीलाई तल्लो दर्जाको नागरिकमा सीमित गरियो। परिणति हाम्रा जमुना, यमुना, मुनाजस्ता कैयन आमा दुर्नियतिको सिकार बनिरहेका छन्।
आमाको ममतामयी महिमा अपरम्पार हुने रहेछ, आमा जस्तै दुःखित हुँदा पनि, अभाव, पीडामा पर्दा पनि बिल्कुल निराश हुन्नन्। भावुक बनेर रुन्नन् र अन्त्यमा आफ्नै जन्मदिएको छोराले बोरामा हालेर फाल्दा पनि छोराप्रति कुनै गुनासो नगर्ने आमाको मातृबात्सल्यताको कथा जति पढ्दै गयो पाठक उत्ति बढी घँुक्किन थाल्छ। बोरा लेखनको प्रमुख आधार एक घटिसकेको घटना हो। आमा यसकी स्रोतव्यक्ति हुन् जसबाट समग्र स्थूल घटनाहरूलाई उपन्यासकारले ओकल्याएका छन्। पात्रको चरित्र हे¥यो लाग्छ आमा यथार्थ पात्र हुन् भने छोरो गलत आदर्शच्युत पात्र।
बोराभित्र अटेका आदर्शबादी पात्रहरू पनि प्रशस्तै छन् ः समयले विद्रोही बनाएकी जमुना, यमुना, सौतेनी आमा मुना, रुद्रकी आमा रुक्मिणी, घरबेटी काकाकाकी, ठूलीमाया र प्रेम राईको जोडी, रुद्रका मामा माइजूको मानवतावादी सोच, मावलका हजुरआमा हजुरबुबा, हरिकला, हरिविनोद र तिनको छोरा भगवान्, नाति निर्जल चरित्र चित्रणका हिसाबले यसका पात्रहरूले कथानकतालाई जीवन्त राखेका छन्। खलपात्रको रूपमा उपन्यासमा कमलीकान्त, रुद्रे, चनौटी, प्रधानपञ्च सोमप्रसाद, असई, छोरा असल, नगेन्द्र बहिदार, शेखरकी बूढी भीमा, बुहारी निर्जला आदि नकारात्मक चरित्र बोेकेका पात्र जो हाम्रो वरपर प्रशस्तै देख्न सकिन्छन्।
बोरामा सरल तर कलात्मक भाषाशैलीको लेपनले चरित्र चित्रणमा समेत प्रभाव पारेको छ। विषयवस्तुको आधारमा सामाजिक पक्ष बोकेको उपन्यास विषयगत रूपमा हेर्दा यथार्थपरक देखिन्छ। नारीका पीडा, वेदना र सामाजिक जीवनका छट्पटीहरू यहाँ दृष्टिगोचर भएका छन्। नारी ममताको मनोविज्ञानको सत्यापन गरेको छ। नारीगत भावना अनुरूपको चरित्र पनि देख्न पाइन्छ। मातृत्वको अपहेलना भएको तीतो यथार्थ विपरीत मानवीय संवेदनाको अभिव्यक्तिको उच्चतम प्रयोग गर्न उपन्यासकार सफल भएका छन्।
गयात्मक, बलशाली तर सरल सुबोध्य भाषाशैलीले उपन्यासमा प्राण भरेको छ। वर्णनात्मक एवं संवादात्मक शैलीको प्रचुरता छ। अखण्ड भण्डारीको सौन्दर्यचेतयुक्त भाषिककला उच्चतम लाग्छ। प्रतीकको दृष्टिले शीर्षक बोरा नै खास लाग्छ। शिल्प पद्धतिको हिसाबले आमाको समग्रतामा उनकै वरिपरि उपन्यास घुमेको देखिन्छ। स्थानीय बोलीचालीका लबजहरूको प्रशस्तै प्रयोगले उपन्यास सुन्दर लाग्छ। शीर्षकीकरणको आधारमा पनि प्रतीकात्मक र सार्थक शीर्षक लाग्छ।
सामाजिक जीवनका विभिन्न सम्बन्धअन्तर्गत कारुणिक तथ्यहरूको आडमा लेखिएको उपन्यास अत्यन्तै बलशाली लाग्छ। स्थानीय सामाजिक भाषिका र कथ्यको भाषालाई प्रयोग गरिएको बोरा एउटी आमाको जिन्दगीका अवयवहरूको सामाजिक यथार्थ, तिनको जीवनको अत्यन्तै दूरवस्था र कारुणिकता, सामाजिक एवं पारिवारिक तिरस्कारका विविध पक्षहरूलाई विषयवस्तु बनाएर लेखिएको छ। वर्तमान समयमा अधिकांश आमाहरूको हृदयविदारक कथा जहाँ तिनका दुःखसुख र जीवनका संघर्षका यावत् रंगहरू घुलित भएका छन् तिनकै कहानीको फेहरिस्त हो बोरा। यस्ता घटनाहरू आजकल नेपाली समाजमा थुप्रै पाइन्छन्। पारिवारिक तथा सामाजिक रूपमा एउटी आमाप्रतिको हेयभावको पारदर्शी एवं प्रतिनिधिमूलक ऐना बनेको छ यो उपन्यास। आमाहरूको अन्र्तध्वनि टपक्कै टिप्ने सामथ्र्य राख्ने भण्डारी आमाको मर्मलाई नजिकबाट बुझ्न सफल देखिन्छन्।
समाजमा व्याप्त सामाजिक मनोवृत्तिको यथार्थवादी धरातलमा रहेर लेखिएको यो सुन्दर कृति हो। आजको युगको घोर निन्दनीय र अमानवीय व्यवहारको भग्न प्रतिनिधिमूलक कहानी यो पुरातन मैलो सोचाइले ग्रस्त सम्बन्धमा दिएको यातनाको फेहरिस्त हो। एउटी प्रतिनिधिमूलक पात्र यमुना आफ्नै छोराबुहारीबाट त्याज्य भएर बस्न विवश छन्। उनकै भोगाइ र उनी वरिपरिका विभिन्न घटनाक्रमहरूबाट बोरा अघि बढ्छ।
आफ्नै परिवारको त्याज्य व्यवहारबाट घरसँग ओझेल पारिएका तमाम आमाहरूको कथा जसले हाम्रो समयको हाम्रो परिवारका सदस्यहरूलाई चिहाएको छ। आमा हुनुको खुसी र आफ्नाले जन्माइदिएको पीडाबोधको भग्न कहानी पढ्दै जाँदा मथिंगल हल्लिन्छ। आमाको दुःखान्त कथा, उनले भोग्नुपरेको नारकीय व्यथाले उपन्यास सामाजिक यथार्थवादी कथानकतामा बुनिएको छ भन्न गाह्रो पर्दैन। मस्तिष्कमै वाँण हान्ने उपन्यासको कथानकता हाम्रा आफ्नाप्रतिका विसंगत व्यवहारहरूको दस्तावेज जस्तो लाग्छ।
कुरा काट्ने समाजको प्रवृत्तिको सरल भाषामा चित्रण गरिएको छ। अरूको अनावश्यक चियोचर्चाे र निन्दा गर्नेहरूको कमी कहाँ हुन्छ र ? रगतको नाताभन्दा भावनाको नाता सयौं गुना निकट हुन्छ भन्ने दृष्टान्तसहित मानवताको अपार भेल बगेको छ उपन्यासमा ठूलीमाया र प्रेम राईजस्ता सकारात्मक पात्रमार्फत। जहाँ जातपातको नाम निसान छैन। धनी–गरिबको भेदभाव छैन। छ त आफ्नोपन। उपन्यास वियोगान्त कथानकतामा बुनिएको छ। यसमा थुप्रै हृदयविदारक घटनाहरू घटेका छन् जसले पाठकको मनै विक्षिप्त पार्छन्। जति पढ्दै गयो उति आँसु बगाउँछ। लाग्छ शोकैशोकको कहानी हो बोरा।
यहाँ जुनै पनि आमालाई जहिले पनि संघर्ष गर्नु परेको छ। हरेक च्याप्टरमा गला अवरुद्ध हुन्छ। समयले विद्रोही बनाएको छ आमालाई यहाँ। कमलीकान्तको अमानवीयता विरुद्ध सुरु भएको विद्रोह, छरछिमेक हुँदै समाजसँग समेत छ। आमा जति सबैको हविगत एकै हो कि भान पर्छ यहाँ तीनवटी आमाको विद्रोह छ जमुना, मुना, यमुनाको रूपमा। को हो त्यो जसले प्राण भन्दा सिन्दूरलाई ठूलो बनायो ? अनि को हो त्यो जसले पोतेले बाँधेर महिलालाई थुनिराख्ने चलन चलायो ?.. को हो त्यो जसले महिलाको भागमा मात्र पाप राखिदियो ? (पृष्ठ ३३५)
बाँधिएको बोराको ठूलै पोको खुलाइएको छ। त्यहाँ सन्तान सुखको कुरा छ। पितृत्व प्राप्ति र अप्राप्ति अनि तिनका सम्भावित परिणामको प्रचलित भयले घ्वाम्ल्यौ छोपिएकाहरूको मनोदशा छ। के छैन उपन्यासमा दाजुभाइका बीच दैनिक जस्तो हुने पुख्र्यौली सम्पत्तिको विवाद, नाता सम्बन्धमा दरार, यौवनको अव्यक्त र अप्रकटित मौलाइसै अंकुराएको प्रेम, धार्मिक मान्यताले जरो गाडेको समाजले कैयनका जिन्दगी उजाडिदिएको व्यथा, सम्पत्तिको लोभमा मात्र आफ्नाले काजक्रिया गर्ने निराशालाग्दो वर्तमान नाता सम्बन्धका आयामको फेहरिस्तको सबै पोको खोलेको छ बोराले।
बोरा पढिसकेपछि मैले आफैंसँग प्रश्न गरें आफ्नै छोरा अभिजात्य हुन्छ त ? मेरो मनले उत्तर दियो यस्ता घटना त तेरै आँखा अगाडि हेर दर्जनौं पाउँछस्। बोराले मन झस्कियो, मुटु हल्लियो। छोरो पात्र प्रति घृणाभाव जागृत भयो। छोरामा आएको चारित्रिक र आफ्नालाई गर्ने व्यवहार स्खलित भएको देखेर आँखा रसाए। हामी कहाँ छौ प्रश्न गरें। यो समय किन यति बर्वर र क्रूर छ जहाँ नौ महिना गर्भमा बोकेर हिउँद वर्षा नभनी, रातदिन नभनी, दुःखकष्ट सब झेलेर एउटी आमा दशधारा दूध खुवाएर हुर्काउँछे, बढाउँछे अनि सन्ततिको सुखका निम्ति आफ्ना सबकुरा बिर्साउँछे तर उही अन्तिममा त्यागिन्छे आफ्नै रगतबाट। कति पीडादायी आयाम उतारेको छ उपन्यासले।
समयक्रमसँगै उपन्यासकारले नै बोरामा बाँधिएर बेहोस अवस्थामा छाडिएकी आमालाई आश्रममा पाउँछन् र ती आमालाई नातिसँग सुखदभेट गराई कथानकताले नयाँ मोड लिन्छ। शिक्षित बुहारीको बोक्सी र वेश्याको लाञ्छना लगाइरहने र आमालाई बोरामा फाल्न लोग्नेलाई सहमत गराउने बुहारीसमेतलाई आममाफी दिने आमाको ममता न कुनै तराजुमा जोख्न मिल्छ, न कुनै मानापाथीमा भर्न मिल्छ। साँच्चै आमाको महिमा अपरम्पार छ। नाति केटाले पनि बाउआमा सजग गराएको छ बोरा राखेर कि पछि हजुरआमालाई जस्तै उसले
बाउआमा बोरामा फाल्न नपरोस् भनेर। अन्त्यमा, उपन्यास संयोगान्त बनेर सकिएको छ।
शीर्षकको सार्थकता, पात्र चयनमा स्वाभाविकता, कथाशिल्पको सुन्दर प्रयुक्तिले उपन्यास जीवन्त बनेको छ । लाग्छ, अमानवीय निस्तब्धतामा पनि उज्यालो दियो जल्छ। यस्तै संकेत गरेको छ उपन्यासले। मार्मिक भावनामा लेखिएको पठनीय कृति हो बोरा। यस्तो मानवीय सत्यताको सत्यापन गर्दै कलात्मक बान्की दिएर उपन्यास सिर्जना गर्न सफल अखण्डको क्षमतालाई सलाम।