वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइनमार्फत हुने
काठमाडौं : वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गतेदेखि पूर्णरुपमा अनलाइनमार्फत हुने भएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेश स्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरु का लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्थाबारे जानकारी गराएका हुन्।
नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेश गरेको आवश्यक कागजातहरु साउन १ गतेदेखि अनलाइनमार्फत प्रमाणीकरण हुने भएकोले सेवाप्रवाह समयानुकुल एवम् चुस्त हुने भएको छ । सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आवद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
उनले खाड़ी मुलुक एवं मलेसिया लगाएत नेपाली कामदार माग हुने अन्य देशहरूमा रहेका नेपाली राजदुतावासहरु ले साउन १ गते देखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत गर्नुपर्ने बताए। परराष्ट्रमन्त्री श्रेष्ठले भने,'सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्न अघिनै नयाँ प्रणालीसँग अभ्यस्त हुनुका लागि आजैबाट परीक्षण सुरु गर्दा हुन्छ ।'
परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकहरुको खोजतलाश / उद्धार, मृतको शव झिकाउने, राहत / क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन सेवालाई सबै नियोगहरु ले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए।