मेरा काका

स्व–स्मरण

मेरा काका

काका यस्ता प्रश्नमा रिसाउनु हुन्न। उल्टै भन्नुहुन्छ, ‘हाम्रो पार्टी राम्रो हो !’

हाम्रो घरमा केही यति पुराना मुडा छन्, जसले साढे तीन दशक उमेर खाइरहेका छन्। ती मुडासँग हाम्रो परिवारको अविस्मरणीय सम्झना छ। किनकि, ती हाम्रा काकाले २०४६ ताका जेल बस्दा बन्नुभएको थियो। 

एक कालखण्ड पार गरिसकेका ती मुडाले उसबेला काकाका फरक व्यस्तता झल्काउँछन्। ती मुडामा शायद उहाँले टुसुक्क बस्न भ्याउनु भएन। हामीले देख्दा रातभर हिँडिरहनु भएको हुन्थ्यो। दिनभर सुतिरहनुहुन्थ्यो। म सोच्थेँ मेरो काका कस्तो काम गर्नुहुन्छ, जुन राति मात्रै हुन्छ ? 

अहिले पनि मलाई याद छ, हाम्रो आमाले राति–राति ठूलो खड्कुलामा भात पकाएर धेरै नेतालाई खुवाउनुहुन्थ्यो। रातभरि घरमा धेरै नेताहरू आउँथे। उज्यालो हुँदा कोही हुँदैनथे। 

२०४६ सालमा प्रजातन्त्र आएपछि मेरो काकाले राजनीतिसँगै आफ्नो शिक्षालाई पनि अगाडि बढाउदै लानुभयो। केही महिना रामचोकस्थित मोहनमाया प्राथमिक विद्यालयमा पढाउनु भयो। त्यसपछि आफ्नो अध्ययन व्यवसाय र राजनीतिलाई सँगै लिएर जाने सोचमा उहाँ लाग्नुभयो।

त्यसैक्रममा २०४८ साल भदौमा उहाँ काठमाडौं जानुभयो। त्यहाँ कुनै जागिर खानुभयो। एक वर्ष जतिपछि व्यापार व्यवसायमा लाग्नुभयो। साथै, पढाइलाई पनि निरन्तरता दिइरहनुभयो। आफ्ना पुराना राजनीतिक सहकर्मीहरूसँगको निरन्तर सम्पर्कमा रहनुभयो। 

२०५१ चैतमा झापै फर्कनुभयो। २०५२ फागुनमा उहाँको विवाह दिव्यकुमारी शर्मासँग भयो। २०५६ को चुनावताका हाम्रो घरमा चुनाव प्रचारप्रसारमा प्रयोग हुने भारतीय नम्बर प्लेटका गाडीहरू राखिएका थिए। नेताहरूको घरमा आउने जाने क्रम बाक्लो थियो। घरमा एउटा मोटरसाइकल थियो। त्यो आफ्नोभन्दा पार्टीको काममा बढी प्रयोग हुन्थ्यो। हाम्रो गाउँमा त्यति बेला दूरसञ्चारबाट राखिएका ल्यान्डलाइन फोन औंलामा गन्न सकिने व्यक्तिहरूकोमा मात्रै थियो। त्यसमा हाम्रो घर पनि पथ्र्यो। 

पार्टीलाई तन, मन र धनले सघाउने पुरानै बानी मेरो काकाको लगातार रही नै रह्यो। गाउँघरमा साह्रो–गाह्रो परेकालाई सहयोग गर्न, पुलिस, प्रशासन, अड्डा अदालत कहीँ जान कुनै बेला पनि नाइँ भन्नु भएन। पार्टीमा आफ्नो योगदानको कमी हुन दिनु भएन। आफ्नो व्यापार व्यवसायलाई झापामै निरन्तरता दिँदै राजनीतिमा रहँदै आउनुभयो। उहाँ २०५४ देखि २०५६ सम्म राष्ट्रिय युवा संघ नेपालको झापा जिल्ला अध्यक्ष रहनुभयो। राजनीति यात्राको निरन्तरताले आफ्नो व्यवसायमा असफल हुनुभयो। कामलाई भन्दा बढी समयपार्टीमा खर्चिन थाल्नुभयो। 

हुँदाहुँदै झापाको व्यवसायलाई पुनः काठमाडौंमा गर्ने सोचका साथ उहाँ २०६१ सालमा काठमाडौं जानुभयो। पार्टीका विभिन्न जिम्मेवारी लिँदै २०७६ सालसम्म काठमाडौंमा रहनुभयो। कोभिड सुरु भएसँगै २०७७ देखि उहाँ सपरिवार झापामै रहनुभएको छ। उहाँले आफ्नो २०४४ सालदेखि २०८१ सालसम्म ३७ वर्षको जीवन त्यही पार्टीको लागि दिनुभयो।

ooo

२०२३ भदौमा जन्मनुभएको हो उहाँ। मेरा काकाको बाल्यकाल गाउँघरमै साथीभाइसँगै बित्यो। गाउँकै सेतीपानी स्कुलमा ६ कक्षाको पढाइ सकेर झापाकै चारपानेस्थित वीर अमरसिंह निमाविमा अध्ययन थाल्नुभयो। जहाँ ७ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। त्यसपछि महेन्द्र रत्न मावि अनारमनिबाट २०४३ सालमा एसएलसी गर्नुभयो।

एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न इलाम जानुभयो। महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पढाइ सुरु भयो। पढाइ सँगसँगै उहाँको राजनीतिक यात्रा पनि त्यहीँबाट सुरु भयो। क्याम्पस इकाइ कमिटी हुँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटी सदस्य पद सम्हाल्न थाल्नुभयो। 

त्यसै क्रममा २०४४ चैतमा तत्कालीन पञ्चायती व्यवस्थाको विरोधमा प्रचारप्रसार गरेको आरोपमा उहाँ पक्राउ पर्नुभयो। रातिको समयमा कलेजको होस्टेलबाटै उहाँलाई प्रहरीले पर्चा–पम्प्लेटसहित पक्राउ गरेको थियो। 

राति नै प्रहरीले समाएर प्रहरीले लगेछन्। इलाममा त भोलिपल्ट मात्रै हल्ला भएछ। हामी झापामा थियौं। थाहा पाउने त कुरै भएन। किनभने त्यतिबेला अहिलेको जस्तो सहज सम्पर्क सूत्र थिएन। चार÷पाँच दिनपछि मात्रै घरमा थाहा भएछ। त्यसपछि मैले पनि थाहा पाएँ। 
घरमा रुवाबासी भएको थियो काका पक्राउ पर्नुभयो भनेर। २०२९ फागुनमा रामनाथ दाहाललगायतको सुखानीमा प्रहरीद्वारा हत्या गरिएको कुरा हजुरआमाको मनमा झल्झल्ती आएछ। धेरै डराउनु भएको थियो। 

त्यसपछि अदालती प्रक्रियामा जानुपर्‍यो। मेरा बुबा तुरुन्त इलाम जानुभयो। पढ्न पठाएको भाइ जेलमा छ भनेर सुन्दा के फट्याई ग¥यो भन्ने लागेछ। हल्का रिसाउनु पनि भएको थियो रे।  ४ महिना १९ दिनमा मुद्दा परेपछि काकालाई तारेखमा छोडिदियो। मलाई अलिअलि सम्झना छ, २०४६ सालको आन्दोलनपछि मुद्दा पनि काकाकै पक्षमा आयो। धरौटी रकम फिर्ता भयो। जेल बस्दा उहाँले सिक्नु भएका कला कदरयोग्य छन्। त्यही क्रममा बनेका मुडा अहिले घरमा सजिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.