सबैको आस्थाको धरोहरको रूपमा रहेको यो शिवालयको पुनर्निर्माण पुरातत्तव विभागले २०७९ सालमा सम्पन्न गरेको हो।
एक दिनको कुरा हो, लक्ष्मीनारायण रुद्राक्षैरुद्राक्ष जडिएका भोटी उपर्ना वस्त्र लगाएर आफ्नो नित्य पूजा गर्दै हुनुहुन्थ्यो। त्यसैबेला बाहिर योगी आए र अलग ११ जगाए।
सामान्यतः झट्ट हेर्दा तेजयुक्त अनुहार भएका योगीलाई भित्रबाट मानिस आएर हेर्दा उहाँको प्रश्न थियो– खै यो घरका मूली कहाँ छन् ? बोलाऊ। पूजा कोठामा बसेका लक्ष्मीनारायणलाई खबर पुग्यो र उनी पूजाकै भेषमा बाहिर आए। योगीलाई शिष्टाचार गरे र भने, ‘महात्मालाई के टक्र्याउँ ?’
महात्माले भनेछन्, ‘तिमीहरूको सन्तान धेरै पुस्तादेखि एक/एक हुँदै आएका रहेछन्। त्यसैले केही लिँदिनँ बरु उपदेश गर्न आएको हुँ।’ ‘आज्ञा होस् महात्मा, सुन्न लालायित छु।’ ‘तिमीले परम्परादेखि दाङको देउखुरीको चर्सा रकम तिमीहरूले लिएका रहेछौं, यो सन्तान वृद्धि नहुने कारकतत्त्वसमेत भएकाले आजसम्म आर्जित उक्त रुपैयाँ जम्मा गरी एक ठाउँमा राखेर त्यसमाथि शिवलिंग स्थापना गर्नू र त्यस ठाउँमा बगैंचा लगाउनू त्यसपछि तिम्रो सन्तान वृद्धि हुनेछ।’
त्यसलगत्तै महात्मा अन्तध्र्यान भएछन्। महात्माको भनाइअनुसार, उनका पुत्र रत्न सुदयराम जन्मिसकेकाले उनकै नामलाई जोडी लक्ष्मीनारायणले सुदयरामेश्वर महादेवको स्थापना गरे। सुदयरामबाट चार छोराको जन्म भएकाले सन्तान वृद्धिका लागि स्थापित सन्तानेश्वर महादेवस्वरूप सुदयरामेश्वर भए। प्राध्यापक श्रीधर शर्मा मजगैंयाद्वारा लिखित ‘मजगैंया’ (पोख्रेल) वंशको इतिहास तथा वंशावली’का अनुसार मन्दिर स्थापना हुनुको कारण बडो अलौकिक भेटिन्छ।
तुल्सीपुर उपनगरपालिका १८, बिजौरी दाङमा अवस्थित सुदयरामेश्वर शिवालय एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा विकास भइरहेको छ। १८३४ सालमा लक्ष्मीनारायण पोख्रेलद्वारा स्थापित मन्दिर मजगैंया परिवारको धरोहरको रूपमा छ। लक्ष्मीनारायण पोख्रेल सुदयराम मजगैंयाका पिता हुन्। स्थापनाकालदेखि नै यहाँ नित्य पूजा आजा हुँदै आएको छ। मजगैंया परिवारले जनता विद्यालयलाई दान दिएको १२०० बिगाहा जग्गाको १२ खण्डको एक खण्डको आयस्था शिवालयलाई छुट्टाई सोही आयस्ताबाट यसको सञ्चालन भइरहेको थियो। तत्कालीन अवस्थामा यसको सञ्चालन जिम्मेवारी विद्यालयले लिएको थियो। विद्यालयको खर्च ज्यादा हुने भएकाले पछिल्लो दिनमा खण्डको हिसाबमा होइन, एकमुष्ट रकम मन्दिर सञ्चालनका लागि दिने गरिन्थ्यो।
महात्माको भनाइअनुसार, शिवलिंग स्थापना गरी बगैंचासमेत लगाइएको थियो। तर हाल बगैंचाको नामोनिशान देखिँदैन। हालको शिवालय त्यही बगैंचा भएको ठाउँमा सरेको छ। पहिले लक्ष्मीनारायणले स्थापना गरेको स्थान मन्दिर पश्चिमपट्टि रहेको कुलाको तट भएको र ठाउँ पनि सानो भएकाले पछि संरक्षणको सिलसिलामा मन्दिरलाई केही पूर्व सारिएको हो। संरक्षणको सन्दर्भमा पटक पटक निर्माण, पुनर्निर्माण भइरहेकोमा करिब दुई वर्षअघि नेपाल सरकार पुरातत्त्व विभागको योजनामा पुरातात्त्िवक अवधारणाको मापदण्ड अनुसार पुनः निर्माण गरी सुन्दर तथा आकर्षक मन्दिर बनेको छ।
सन् १९७९ मा नेपालका केही महत्त्वपूर्ण सांस्कृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गरियो। तत्पश्चात् नेपालमा सांस्कृतिक पर्यटन क्षेत्रको विकास हुँदै गएको हो। दाङमा रहेका धेरै धार्मिकस्थलमध्ये एक ऐतिहासिक धार्मिकस्थल सुदयरामेश्वर शिवालयलाई लिइने २०२८ सालदेखि नित्य पूजामा संलग्न पुजारी तिलकराम पोख्रेल बताउँछन्। शिवालय भनेको शिव मन्दिर हो। शिव मन्दिरमा साउन महिना र हरेक सोमबार पूजा तथा आरतीको विशेष महत्त्व रहन्छ। चाडपर्वमा स्थानीयवासी यही मन्दिरमा पूजाआजा गर्छन्।
हरेक एकादशीमा विशेष पूजा तथा गुरुहरूबाट पुराण वाचन गरिन्छ। यस शिवालयमा शिव मन्दिरको अलावा भक्तजनद्वारा निर्माण गरिएका हनुमान मन्दिर, सरस्वती मन्दिर, विष्णु मन्दिर, राधाकृष्ण मन्दिर, विवाहमण्डप, मजगैंयाहरूको कुल देवता थान, सूर्यनारायणको मन्दिर, स्वस्थानीदेवीको मन्दिर, गणेश मन्दिर आदि छन्। मजगैंया परिवारद्वारा मन्दिर परिसरमै कुल मन्दिर पनि बनाइएको छ। सबैको आस्थाको धरोहरको रूपमा रहेको यो शिवालयको पुनर्निर्माण पुरातत्त्व विभागले २०७९ सालमा सम्पन्न गरेको हो। जय सुदयरामेश्वर शिवालय !