अर्घाखाँचीमा ३० प्रतिशत रोपाइँ, वार्षिक ८० करोडको धान उत्पादन
अर्घाखाँची : अर्घाखाँचीमा असार १५ सम्म झन्डै ३० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ। अहिलेसम्म कुल धानखेती हुने खेतको ३० प्रतिशतमा मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए। जिल्लाको कुल २६ हजार खेती योग्य जमिन मध्ये २९ प्रतिशत अर्थात ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।
जिल्ल्लामा प्रतिहेक्टर ३.६१ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ। यसको हिसाबले लुम्बिनी प्रदशेको पहाडी जिल्ला अर्घाखाँचीमा वार्षिक ८० करोड रुपैयाँको धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख घिमिरेको भनाइ छ।
धानबाट बन्ने चामल सबैंको भान्सामा अपरिहार्य रहेकाले यसको उत्पादकत्व वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। पछिल्लो समय कृषि पेशामा रुची हराउँदै जादा बर्सेनि धान आयात भइरहेकोले यसतर्फ युवायुवतीको आकर्षण बढाउनु पर्ने बताएका छन्।
नेपालको प्रमुख बालिका रूपमा रहेको धानको दिवस मनाएर सबै कृषकको मनोबल वृद्धि गर्नका लागि धान दिवसको महत्व रहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनले धानको उत्पादन वृद्धि गर्न सबै लाग्नुपर्ने बताएका छन्।
अर्घाखाँची जिल्लामा पछिल्लो समय हाइब्रीड जातको धान बढी रोपिने गरिन्छ। स्थानीय जातहरू खुमल चार, पोख्रेली लगायतका धानहरू समेत लगाइँदै आएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए।
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सन्धिखर्कको सुक्मी फाटमा पञ्चेबाजाको तालमा बाली गाएर मनाइएको छ। नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ।
यसपाली २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा’जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ। रोपाइँ महोत्सव समारोहमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख बेद्धिराज घिमिरे लगायतले मन्तव्य राखेका थिए।
जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार प्रसार गरी किसान माझ पु¥याउने उद्देश्य छ। यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ।
विगतका वर्षहरूमा पानी नपरेर चिन्तित बनेका कृषकलाई यस वर्ष भने खेतालाको चिन्ता छ। युवाहरूको विदेश पलायनले रोपाइँका लागि खेतलाको अभाव हुँदा कृषकहरू अत्यन्तै चिन्तित बनेका छन्।
पहिलेको तुलनामा अहिले खेतालाको दैनिक ज्याला पनि ह्वात्तै बढेको छ। युवाहरू बैदेसिक रोजगारीका लागि खाडी मुलुकमा गएपछि मानो रोपेर मुरी उब्जाउने यो समयमा खेतलाको चरम अभाव देखिएको छ। किसानहरू निकै चिन्तित छन्। खेत रोप्ने काम गर्नेमा अहिले अधिकांश बालबालिका, महिला र वृद्धाहरू मात्र जुटेका छन्।
आज–भोलि पुरुष खेतालाको दिनको ८ सय देखि एक हजारसम्म र महिला खेतालाको ५ सय देखि माथि तिर्दासमेत खेताला नपाएको कृषकको गुनासो छ।
अधिकांश युबाको विदेश पलायन र भएकाले थौरै पैसामा भएपनि कृषि पेशा बाहेकका अन्य पेशामा काम गर्न खोज्ने प्रवृतिका कारण पनि खेती गर्ने
मान्छेको अभाव बढ्दै गएको छ। अहिले खेत रोप्ने काम गर्नेमा अधिकांश बालबालिका, महिला र वृद्धाहरू मात्र रहेका छन्। बढ्दो सहरीकरणसगंै आधुनिक जीवनमा रमाउन चाहने सौखिन युवायुवतीकोका कारण पनि खेती गर्ने समयमा खेतालको थप अभाव देखिएको हो।