रकम अपचलनको आरोपमा लालिगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चारजना पक्राउ
काठमाडौं : प्रहरीले ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ललितपुरको पुल्चोकमा रहेकोउक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको हुनसक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए। सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए।
पक्राउ परेकामध्ये अध्यक्ष श्रेष्ठले ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेको खुलेको छ भने ६१ सालमा उक्त सहकारीमा सचिवको रुपमा काम गरेका श्रेष्ठ ६४ सालमा उपाध्यक्ष भएका थिए । ७४ साल देखि उनी उक्त सहकारीको अध्यक्ष रुपमा कार्यरत थिए ।