एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन अगाडि काठमाडौंमा र्याली (तस्बिर)
काठमाडौं : एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको उद्घाटनअघि काठमाडौंमा र्याली गरेको छ। एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको उद्घाटन गर्नु अगाडि आज भृकुटीमण्डपबाट र्यालीसहित प्रदर्शन गरेको हो।
र्यालीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल,महासचिव घनश्याम भुसाललगायतका नेता,कार्यकर्ता सहभागी छन्।
आजबाट बिहीबारसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ। एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनलाई १० औं महाधिवेशनका रूपमा दाबी गरेको छ। एमाले फुटेपनि समानुपातिक तर्फ पहिलो दल बन्दा गत निर्वाचनमा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी समेत बन्न सकेको थिएन।
माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)ले २०७८ साल भदौ ९ गते दल दर्ताको प्रमाणपत्र पाएको हो।महाधिवेशनको पार्टी अध्यक्ष नेपालले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ।
पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ। महाधिवेशनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ। महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य छनोट गर्नेछन्।
अध्यक्षमा नेपाल र झलनाथ खनालले आकांक्षा देखाएका छन्। यद्यपी निर्वाचन भएको खण्डमा खनालले घनश्याम भुसाललाई अगाडि सार्नेले तयारी गरेको नेताहरुले बताएका छन्।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ । शनिबार आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिएका थिए।
तस्बिर : अभिषेक महर्जन