जैविक खेतीका लागि ‘आइपीएम’ किसान पाठशाला

जैविक खेतीका लागि ‘आइपीएम’ किसान पाठशाला
सुन्नुहोस्

बेनी : किसानहरूलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधिबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्न यस वर्ष म्याग्दीका ८ ठाउँमा एकीकृत शत्रु जीव व्यवस्थापन (आइपीएम) किसान पाठशाला सञ्चालन भएको छ। 

बेनी नगरपालिकाले ५, कृषि ज्ञान केन्द्रले २ र बाली संरक्षण प्रयोगशाला पोखराले १ वटा किसान समूह मार्फत पाठशाला सञ्चालन गरेका हुन्। आईपिएम सहजकर्ता सोवित शर्माले १८ हप्ताका लागि गोलभेँडा, आलु र काँक्रो खेतीमा आइपीएम किसान पाठशाला सञ्चालन गरिएको जानकारी दिए। 

‘किसानलाई मित्र र शत्रु जीव पहिचान गर्न सिकाएर स्थानीय रुपमा उपलब्ध जैविक विषादी र मलको प्रयोग मार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरिएको हो,’ उनले भने ‘हरेक समूहका किसानलाई हप्ताको १ दिन ४ घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान सिप प्रदान गरिएको छ।’

प्रयोगात्मक अभ्यासका लागि १ रोपनी जमिनमा ४ वटा पल्ट (ड्याङ) बनाएर फरक फरक तरिकाले फरक जातको काँक्रो, आलु र गोलभेँडाको सामूहिक खेती गरिएको छ। बेनी नगरपालिका–१ अर्जममा बाली संरक्षण प्रयोगशाला पोखराको सहयोगमा गोलभेँडा खेतीमा सञ्चालन भएको आईपिएम पाठशालामा २९ जना किसान सहभागी भएका छन्। 

कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी नगरपालिका–२ को बगरफाँटमा काँक्रो र मंगला गाउँपालिका–२ तोराखेतमा आलु खेतीमा सञ्चालन भएको पाठशालामा २५/२५ जना किसान सहभागी भएका छन्। बेनी नगरपालिकाले वडा नम्बर –३ भकिम्लीको भकुभुकेमा स्वर्गाश्रम, वडा नम्बर ५ को बगुवाखोला, वडा नं. ९ तोरीपानी र १० नम्बर वडा पात्लेखेतमा आलु खेतीमा आइपीएम किसान पाठशाला सञ्चालन गरेको छ। 

ती सबै पाठशालामा २५ जनाका दरले किसानलाई सहभागी बनाइएको छ। बेनी नगरपालिका–६ जामुनाखर्कमा आलु बालीमा पाठशाला सञ्चालन भएको छ। बेनी नगरपालिका–३ भुकभुकेको स्वर्गाश्रम आइपीएम किसान समूहका अध्यक्ष पूर्णमाया जिसिले स्थानीय स्तरमा उपलब्ध प्राङगारिक मल, गाइभैसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताइन्। 

‘तितेपाती, असुरो, खरानी, गाइभैसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छौं,’ उनले भनिन् ‘रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्युनीकरणका लागि प्राङगारिक खेती गर्न थालिएको छ।’

खेतीबालीमा शत्रु जीव मात्र हुँदैन, मित्र जीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ। कुन जीव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सिप पाठशालाबाट पाएको बेनपा १ अर्जमका किसान सुन्दर थापामगरले बताए।  

पाठशालामा किसानलाई भेला गराएर सैद्धान्तिक बिषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपीएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताए। ‘आइपीएम, परम्परागत र प्रर्दशनी विधिबाट फरक फरक जातका बिरुवा रोपेका छौं,’ उनले भने ‘परम्परागत तुलनामा आइपीएम विधिबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने देखिएको छ।’ 

गत आर्थिक वर्षमा बेनी नगरपालिका–१ उपल्लाचौर, २ को भकुण्डेचौर, वडा नम्बर ६ को छाप र ४ को सिंगामा सञ्चालन भएको आइपीएम किसान पाठशाला प्रभावकारी बनेको थियो। मंगला–२ तोराखेतका किसान छमप्रसाद पौडेलले रासायनिक विषादी र मलको प्रयोग घटाई प्राङगारिक मल र जैविक विषादीबाट स्वच्छ कृषि उपज उत्पादन गर्न थालिएको बताए।  

एक वटा पाठशाला सञ्चालन गर्न १ लाख पचास हजार रुपैयाँका दरले बजेट विनियोजन गरेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले रासायनिक विषादी र मलको प्रयोग घटाई प्राङ्गारिक मल र जैविक विषादीबाट स्वच्छ कृषि उपज उत्पादन गर्न आइपीएम किसान पाठशाला प्रभावकारी बनेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.