परिवार आत्मनिर्भर बने देश आत्मनिर्भर हुँदै जान्छ : ओली
राष्ट्रको विकास र उन्नति गर्ने शक्ति जनता हुन्
उनले यथास्थितिमा देश अगाडि बढ्न नसक्ने भन्दै कृषि क्षेत्रको आधृनिकीकरण गर्दै रोजगारको सिर्जना गर्न सकिने बताए।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको विकास र उन्नति गर्ने शक्ति जनता भएको बताएका छन्। आइतबार एमालेको कृषि तथा पशुपन्छी विभागले आयोजना गरेको नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोकभोकै जनता शक्ति नहुने बताएका हुन्।
‘सबभन्दा ठूलो चुनौती खान लाउन नपुगेका जनतालाई खान पुग्ने बनाउने हो। त्यसलाई अन्त्य गर्नुपर्छ।’ओलीले भने,‘राष्ट्रको विकास र उन्नती गर्ने शक्ति जनता हुन्। जनता बिना राष्ट्रको विकास हुन सक्दैन। भोकभोकै रहेको जनताले केही गर्न सक्दैन, के को शक्ति हुन्छ ? भोक,गरिबी, बेरोजगारीसँग तड्पिरहेको हुन्छ।’
ओलीले परिवार आत्मनिर्भर भए देश आत्मनिर्भर हुने बताए। ओलीले उद्यमशिलता र व्यवसायीकताका माध्यमबाटै कृषिको आधृनिकिकरण गर्दै रोजगारको सिर्जना गर्न सकिने धारणा राखे। उनले यथास्थितिमा देश अगाडि बढ्न नसक्ने भन्दै कृषि क्षेत्रको आधृनिकीकरण गर्दै रोजगारको सिर्जना गर्न सकिने बताए।
ओलीले भने,‘कृषिमा अल्झिने मात्र भयौं। परिवारमा हामी परम्परावादी भयौं, हाम्रो उहि तरिका, उहि परम्परामा रमायौं,चलेकै छ। अब नयाँ ढंगले जानुपर्छ।’
ओलीले २० प्रतिशत जनता भोकमरीमा रहेको भन्दै प्रयाप्त उत्पादन हुने गरि कृषि क्षेत्रको आधुनिकिकरण गर्नुपर्ने भएपनि सरकारी तवरबाट ठोस नीति निर्माण हुन नसकेको बताए। उनले कृषि क्षेत्रलाई प्राथमिकता दिन सके पाँच वर्षभित्र यस क्षेत्रलाई प्रभावकारी रुपमा रुपान्तरण गर्न सकिने दाबी गरे।