कांग्रेस र रास्वपाले भन्दै आएको समाजवादले जनता खुसी हुँदैनन् : विप्लव
काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएको समाजवादले जनता खुसी हुन नसक्ने बताएका छन्।
आइतबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै विप्लवले कांग्रेस र रास्वपाले भन्दै आएकोभन्दा अग्रगमन दिन सक्ने समाजवादमा बहस गर्नुपर्ने समेत बताएका हुन् ।
समाजवादी गणतन्त्र, समाजवादी संघीयतामा नेपालका सबै पुराना पार्टीका नेताहरुले छलफल गर्नुपर्ने उनको भनाई छ । उनले नेपालको कम्युनिष्टलाई एकताबद्ध गराउनपर्ने बताए। उनले आफूहरुको ध्यान नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालमा फकाएर नयाँ एकताको सुरुवात गर्नुपर्नेमा रहेको उल्लेख गरे।
विप्लवले देशको स्वाधिनताको रक्षा गर्नका लागि युवाहरुले योगदान दिँदै सबै दलहरुले पनि स्पष्ट दृष्टि तय गर्नुपर्ने धारणा राखे । उनले यथास्थितिले नेतृत्व गर्न नसके त्यसलाई जनताले फ्याँक्ने अवस्था आउने बताए। उनले भने,‘यथास्थितिलाई संरक्षण गर्न हुँदैन, जनताको नेतृत्व गर्नेले उखालेर फ्याँक्नुपर्छ। कांग्रेससहित सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ।’