लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा नेताहरूको जोड

लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा नेताहरूको जोड
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीकोे १०औं राष्ट्रिय महाधिवेशन आइतबारबाट राजधानीमा सुरु भएको छ। तीन वर्षअघि एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीले कम्युनिस्ट पार्टीकै निरन्तरता भन्दै १० औं महाधिवेशनको संज्ञा दिएको छ।

राष्ट्रियसभा गृहमा भएको महाधिवेशन उद्घाटन सत्रमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए। एमाले अध्यक्ष केपी ओली भने उपस्थित भएनन्। 

उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा केही पनि हुँदैन भन्ने गलत भाष्य सिर्जना गर्न खोजिएको भन्दै त्यसका विरुद्ध सबै शक्ति एकजुट हुनुपर्ने बताए। ‘देशमा केही भएको छैन, केही छैन, केही हुँदैन, पार्टीहरू सबै खतम छन्, नेताहरू सबै खतम छन् भन्ने भाष्य बनाउन खोजिएको छ। त्यो भाष्य मेरो विचारमा प्रतिक्रियावादी भाष्य हो, त्यो प्रतिगमनकारी भाष्य हो’, प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचार अभियानलाई निस्तेज पार्ने किसिमका प्रचारवाजी गरिएका छन्, यो गलत छ, त्यसकारण राम्रा कामलाई राम्रो भन्न सक्नुपर्‍यो, नराम्रालाई नराम्रो भनेर आलोचना गर्नुपर्‍यो।’ 

जनताका आशा एवं अपेक्षाहरू पूरा गर्नका लागि सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने प्रधानमन्त्री दाहाले बताए। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘आन्दोलनका नेताहरूले अझ ठूलो परिवर्तनका निम्ति एवं नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरि एकपटक संकल्प लिन जरुरी छ, एकताबद्ध एवं केन्द्रित हुन जरुरी छ।’

प्रधानमन्त्री दाहालले निराशा र अतिवादी प्रवृत्तिलाई परास्त गर्दै क्रान्तिकारी आशावादीका साथ सही विचार र राजनीतिक कार्यदिशा विकास गरेर कम्युनिस्ट एकता, राष्ट्रिय एकता एवं राष्ट्रको समुन्नतिको निम्ति स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्न नेकपा(एकीकृत समाजवादी)लाई सुझाव दिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकको दिगो शान्ति, सुशासन तथा समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। सभापति देउवाले संविधानको रक्षा, संघीय लोकतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्तिको महत्वपूर्ण एजेन्डामा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी बलियो भएर मात्र नपुग्ने भन्दै विचार र दृष्टिकोण पनि सही हुनुपर्ने बताए। प्रधानमन्त्री दाहाललाई संकेत गर्दै अध्यक्ष नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, सुनिन्छ संसद् विघटन गरेर ठीक गरियो भनेर कतिपयले बोल्ने गरेका छन्,’ नेपालले भने, ‘हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान ख्याल गर्नुहोला।’ जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले संविधानलाई अझै समृद्ध बनाउन जरुरी रहेको बताए। उनले भने, ‘संविधानलाई अझै खारेर पहिचानयुक्त, सुदृढ र सफल बनाउन आवश्यक छ।’

धेरै मिहिनेत, त्याग, तपस्याबाट र हजारौं हजार सहिदको बलिदानबाट नयाँ व्यवस्था आएकाले यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ थियो। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.