आँपको ब्रान्डिङले बढायो बजार

आँपको ब्रान्डिङले बढायो बजार
सुन्नुहोस्

ब्रान्डिङ गरेको आँपले राम्रो मूल्य पाए पनि अरू किसानले लाभ उठाउन नसकेको लहान–२४ झुटकी गाउँका वीरेन्द्र यादवको भनाइ छ।

सिरहा : ‘मालदह’ प्रजातिलाई आँपहरूको राजा मानिन्छ। जसको माग गाउँदेखि सहरसम्मै धेरै हुन्छ। जेठको दोस्रो सातादेखि केही प्रजातिका आँप पाक्न सुरु हुन्छन्। बजारमा पाइन थाल्छन्। बम्बई आँप स्थानीय बजारमै खपत हुन्छ।

आँप कुनै वर्ष बढी त कुनै वर्ष कम फल्ने गर्छ। फलेको वर्ष हावाहुरीले उडाएन भने स्थानीय बजारमा सस्तो हुन्छ। तर, त्यही आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ सुरु गरेपछि बजार बढेको छ। बिक्रेताले मूल्य पनि राम्रै पाउन थालेका छन्।    

लहानको आँप भनेर अर्कै ठाउँको बेच्ने, एउटा जातको आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर लहानको आँपलाई बदनाम गराउने प्रचलन बढ्दो छ। यसलाई निरुत्साहित गर्न र भारतबाट भित्रिने आँपलाई रोक्न अर्गानिक लहानको आँपको प्रबद्र्धनलाई लहान नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। नगरपालिकाले ब्रान्डिङ गरेर काठमाडौं, पोखरालगायत ठूलो सहरमा पठाएको छ। आँप ब्रान्डिङ गरेर काठमाडौं पुर्‍याउँदा बिक्री पनि बढेको छ। लहानमा ३५ देखि ५० रुपैयाँमा पाउने आँप काठमाडौं पुगेपछि सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेका छन्। 

‘गाउँ–गाउँमा किसानले उत्पादन गरेको आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङ गरी काठमाडौंलगायत देशका विभिन्न सहरमा बिक्रीका लागि पठाउने गरेको छ,’ नगरपालिकाका कृषि संयोजक बद्रीनारायण चौधरीले भने, ‘आँपको हरेक प्याकेटमा 
‘लहानको आँप’ भनेर ब्रान्डिङ गरिएको छ। तौल, जात र मूल्य उल्लेख छ।’

उनका अनुसार यो वर्ष ५० हजार केजी आँप पठाउने लक्ष्य रहेको छ। लहान–२४ का सरस्वती कृषि फार्मको ५० प्रतिशत साझेदारीमा यो सुरु भएको हो। नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गतवर्ष ३० हजार केजी आँप ब्रान्डिङ गरी बिक्री गरेको थियो। आँपको खेती बढाउन वर्षैपिच्छे अनुदानमा बिरुवा पनि वितरण गरिरहेको उनले जानकारी दिए।   

आँप बिक्रीका लागि लहान र काठमाडौंको नयाँ बानेश्वर शान्तिनगरमा ‘लहानको आँप’को स्टल स्थापना गरिएको छ। स्टलमा पाँच र १० किलोको आँप प्याकिङ गरी राखिएको छ। बमई, मालदह, दसहरी, आर्मपाली र कलकतिया आँपलाई अलग–अलग प्याकेजिङ गरी बिक्रीका लागि राखिएको कृषि फार्मका सञ्चालक रोहिन महतोले सुनाए।

‘लहानको आँपलाई ब्रान्डिङ गरेर काठमाडौँ पुर्‍याउँदा बिक्री बढेको छ। यसले हामीहरूलाई राम्रो आम्दानी भइरहेको छ,’ उनले भने, ‘आँप घरघरमा पुर्‍याउन ओओ पसलले होम डेलेभरिको व्यवस्था मिलाएको छ। अहिले अनलाइनमार्फत प्रिअर्डर पनि आइरहेको छ।’ काठमाडौं पुर्‍याउन खर्च बढी लाग्ने गरेकोले भाउ पनि सोहीअनुसार निर्धारण गरिएको उनले बताए। 

‘मेहनतअनुसार आम्दानी सन्तोषजनक हुने गरेको छ। आँपमा मञ्जर लाग्ने बेलादेखि नै स्याहार सुसार गर्नुपर्छ,’ लहान–१ नागेन्द्र प्रधान रामुले भने, ‘फलेपछि राम्ररी प्याकिङ गर्न मानिस भारतबाट ल्याउनुपर्छ। राम्रो प्याकिङ हुँदा आँप खराब हुँदैन। ग्राहकले रुचाउँछन्।’ उनले पनि १० बिघाको आँप किनेर काठमाडौं, पोखरालगायत सहरका व्यापारीलाई बेचेका छन्। वर्षा धेरै नभए पनि हुने र अरू बालीभन्दा आँपले उत्पादन राम्रै दिने गरेको उनले सुनाए। 

ब्रान्डिङ गरेको आँपले राम्रो मूल्य पाए पनि अरू किसानले लाभ उठाउन नसकेको लहान–२४ झुटकी गाउँका वीरेन्द्र यादवको भनाइ छ। उनले आफ्नो बगैंचा तीन वर्षका लागि स्थानीय व्यापारीलाई बेचेका छन्। ‘आँपलाई धेरै मेहनत पर्छ। समय–समयमा जोताउनुपर्छ। औषधि छर्ने र पानी सिँचाइ गर्नुपर्छ। मेहनत लगानीअनुसार यहाँको बजारमा मूल्य पाइँदैन। बाहिर लग्न साधन छैन,’ उनले भने, ‘सबै झन्झट हेरेर तीन लाखमा तीन वर्षका लागि बेचेका छौँ। आँप जति सहर बजार पुग्दै गएको छ। उतिउति मूल्य बढेको छ। किसानले थोरै र व्यापारीले धेरै पैसा कमाउन सफल भएका छन्।’

आँपबाट अचार, अमोट पनि उत्पादन हुने हुनाले सीप र प्रविधि किसानलाई भए अझै फाइदा लिन सक्ने उनको भनाइ छ। आँपको रसको जुस बनाउने उद्योग र कोल्ड स्टोर स्थापना गरी किसानले नै आँपको कारोबार गर्न पाए राम्रो आम्दानी हुने उनले सुनाए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.