अर्को शैक्षिक गन्तव्य

अर्को शैक्षिक गन्तव्य

बाल विकास केन्द्र, आधारभूत कक्षा तथा माध्यमिक कक्षाको पहिलो चरण माध्यमिक शिक्षा परीक्षा हुँदै शैक्षिक गन्तव्यको धरातल निर्माण गर्न तम्तयार भएर बसेका छन् देशका करिब पाँच लाख विद्यार्थी। जसले एसईईको परीक्षाफलसँगै आफ्नो भविष्यको विषयगत र उच्च शिक्षा स्थलको छनोट गर्दै केही दिनपछि नयाँ जोशजाँगरका साथ पाइला अघि बढाउने छन्।

शिक्षाको उच्चतम प्रयोगबाट उत्पादित जनशक्ति विश्वको आवश्यकता अनुरूप हुनुपर्छ। अन्यथा शिक्षाको उपादेयता शून्य प्रायः हुनेछ। जनशक्तिको आवश्यकता र तालिमको व्याख्या देशको विकास र निर्माणसँग सम्बन्धित हुनेगर्छ। रोजगारमूलक शिक्षा आजको आवश्यकता हो अन्यथा शिक्षाले दिगोपन लिन सक्दैन।

विषयगत शिक्षाको छनोट :  विषयगत शिक्षाको छनोट भन्नाले एसईईपछि कुन संकाय लिने भन्ने बुझिन्छ। चलनचल्तीमा आएको विषय यानी संकायको कुरा गर्ने हो भने विज्ञान संकाय, व्यवस्थापन संकाय, मानविकी संकाय, कलादेखि भाषा, व्यावसायिक तालिमदेखि सीटीईभीटीसम्मका विषयहरू पढ्न पाइन्छ। विद्यार्थीले चिकित्सा शास्त्रतिर लाग्ने हो भने विज्ञान संकाय लिनुपर्ने हुन्छ भने इन्जिनियरिङतर्फ लाग्ने हो भने पनि विज्ञान विषय नै रोज्नुपर्ने हुन्छ। यदि विद्यार्थीले चाटर्ड एकाउन्टेटदेखि बंैकर र स्वावलम्बन भई व्यवसायतर्फ अगाडि बढ्ने हो भने व्यवस्थापन संकायतर्फ लाग्नुपर्ने हुन्छ।

आज भोलि कम्प्युटर विज्ञानतर्फ पनि विद्यार्थीको आकर्षण बढ्दो छ। सूचना प्रविधिले पनि विश्वमा फड्को मारिसकेको हुँदा विद्यार्थीको रुचि त्यतिकै पाइन्छ। कानुनको अध्ययन गर्न चाहने विद्यार्थीहरूले विज्ञान, व्यवस्थापन वा मानविकी संकायबाट जानुपर्ने हुन्छ भने नृत्य, गायन, वाद्यवादनजस्ता विषय पढ्न कला विज्ञानतर्फ अगाडि बढ्नुपर्ने हुन्छ भने संस्कृततर्फ लाग्ने विद्यार्थीले संस्कृत विद्यालयमार्फत अध्ययन गर्न सकिन्छ। कृषि, पशुपालन तथा व्यावसायिक तालिममार्फत पनि अध्ययन गर्न सकिन्छ।

अभिभावकको जिम्मेवारी :  सन्तानले एसईई परीक्षामा निकालेको नतिजाको मात्र मूल्यांकन गरी कुनै विषय पढ्न पर्छ भनी मनोवैज्ञानिक दबाव सिर्जना गर्नु विल्कुल गलत हुन्छ। विद्यार्थीको पढ्न सक्ने क्षमता, पढ्ने इच्छा तथा चाहना हेरी बिनादबाब विषय छनोट गराई दिने अभिभावकको जिम्मेवारी हुन्छ। सन्तानले पढ्न चाहना राखेको विषयको गहन अध्ययन गरी त्यस्को फाइदा, बेफाइदा तथा सामाजिक मूल्यमान्यता रोजगारीको सम्भावना केलाई दिएर सहज बनाइदिने जिम्मेवारी अभिभावकको हुने गर्छ।

युवा पुस्ता देशमा मात्र बस्छन् भन्ने सोचबाट माथि उठेर विश्वका कुनै कुनामा पनि खपत हुने शिक्षा दिलाउन अभिभावक स्वयं अन्तर्राष्ट्रिय जगत्को शिक्षाको स्तरलाई हेरी नियाली विषय छनोट गराउँदा उचित हुन्छ। विदेश पढ्न जाने सोच बनाएका छोरा वा छोरीले दुःख नपाउन त्यस देशको आवश्यक जनशक्ति कुन विधामा चाहिएको छ, त्यसलाई बुझ्न जरुरी छ। त्यसै अनुरूप ११ र १२ कक्षामा विषय छनोट गर्न सहयोग अभिभावकले गर्नुपर्छ। आईटीका लागि अमेरिका, नर्सिङको तथा एकाउन्टिङका लागि अस्ट्रेलिया त्यसैगरी क्यानडा, जापान, जर्मनी, फ्रान्सजस्ता देशमा आईटी, बिजिनेसजस्ता विषयको माग बढी देखिन्छ। त्यस्ता देशहरूमा पढ्न जाने चाहना राख्ने छोराछोरीलाई सोही अनुरूपको विषय कक्षा ११ मा छान्नुपर्ने हुन्छ। जस्तो विषय छान्दा पनि पढाइपछि रोजगारीको सुनिश्चितता हुनु आवश्यक हुन्छ।

शिक्षक तथा शैक्षिक संस्थाको भूमिका :  शिक्षक तथा शैक्षिक संस्थाले पनि विद्यार्थीको स्तर, क्षमता र पढाइप्रति लगाव हेरी विषय छनोटमा जोड दिनुपर्छ। क्षमतावान् तथा अब्बल विद्यार्थीलाई सोही अनुरूपको विषय छनोट गर्न प्रेरित गर्नुपर्छ। सामाजिक र पारिवारिक दबाब, साथीभाइको प्रभावमा परेर क्षमताभन्दा बाहिरको विषय छान्न खोजे शिक्षक तथा विद्यालयले विद्यार्थीलाई सम्झाउनु, बुझाउनुपर्छ। विद्यार्थीको रोजाइ विज्ञान विषय लिएर पढ्ने तर व्यवस्थापन संकायमा पढाउने या व्यवस्थापन विषय पढ्न खोज्ने विद्यार्थीलाई विज्ञान विषयमा अभिमुखीकरण गर्नेजस्ता क्रियाकलापले विद्यार्थी वर्ग अन्योलमा पर्छ।

शिक्षक तथा शैक्षिक संस्थाको आफ्नो अन्तरनिहित स्वार्थ पूरा गर्न विद्यार्थीको चाहनाप्रति खेलवाड गर्न शिक्षक तथा विद्यालयलाई कुनै खालको छुट छैन। आफूलाई, कस्तो विषय पढ्ने विद्यार्थीको आवश्यकता छ सो अनुरूप अभिमुखीकरण गर्दा विद्यार्थीको स्वतन्त्रतामाथि प्रश्न चिह्न खडा हुन्छ। त्यसो नगरी यथार्थ धरातलमा उभिई नैतिक रूपले निष्ठावान् रही सही कुराको सूचना प्रवाह गर्नु शिक्षक र विद्यालयको कर्तव्य हुन आउँछ।

विद्यार्थी र अभिभावकले नियाल्नुपर्ने कुरा
१) बौद्धिक व्यक्तिहरूको समूह :  विद्यालय/कलेज छान्दा सबैभन्दा पहिला शिक्षक पंक्ति र कलेज सञ्चालकहरूको पृष्ठभूमि हेर्नु जरुरी हुन्छ। व्यापारिक दृष्टिकोणबाट नभई साच्चै शिक्षा दिन लायक शिक्षकशिक्षिकाबाट सञ्चालित संस्थामा सन्तानलाई भर्ना गर्न सकिन्छ। लामो समय यसै क्षेत्रमा लागेका र खारिएका शिक्षकशिक्षिकासँग यथोचित अनुभव हुने हँुदा विद्यार्थीले सहज ढंगले आफ्नो गन्तव्य पहिचान गर्न सक्ने हुन्छन्।

२) विद्यालयको ऐतिहासिक शैक्षिक पृष्ठभूमि :  विद्यालयको छनोट गर्दा त्यस विद्यालयको विगतको शैक्षिक पृष्ठभूमिलाई केलाएर हेर्न जरुरी छ। विगतका वर्षहरूमा विद्यार्थीको उत्तीर्ण प्रतिशत, मेडिकल वा इन्जिनियरिङमा नाम निकाल्न सफल विद्यार्थीको विवरण तथा सीएमा पढ्ने विद्यार्थीको विवरण आदिको सूचना लिई सन्तानको इच्छा, सम्भावना र भविष्यमा रोजगारीजस्ता कुरालाई ध्यान दिएर हेर्दा सम्बन्धित विद्यालय आफ्नो रोजाइमा पर्न सफल छ या छैन हेर्न जरुरी हुन्छ।

३) छात्रवृत्तिको सम्भावना :  प्रतिस्पर्धात्मक बजारमा सबै कलेजको आआफ्नो तरिकाको छात्रवृत्ति दिइराखेका हुन्छन्। त्यसमध्ये कसले कति छात्रवृत्ति वास्तविक रूपमा उपलब्ध गराएको छ सोको जानकारी लिन जरुरी हुन्छ। आकर्षणका लागि मात्र छात्रवृत्ति दिने तर पछि अन्य शुल्क लगाउँदै जानेजस्ता प्रवृत्ति यत्रतत्र पाइन्छ। सोबाट जोगिन साँच्चै कस्तो विद्यार्थीले कतिको छात्रवृत्ति पाइरहेको हुन्छ थाहा पाउन जरुरी हुन्छ। त्यतिमात्र नभई छात्रवृत्ति पाउने आधार वास्तविक धरातलमा बनाइएको हो या होइन बुझेर यथोचित छात्रवृत्तिका लागि प्रयास गर्नु जरुरी हुन्छ।

४) स्थान र दूरी :  माथिका सबै बुँदामा आफूलाई चित्त बुझेता पनि स्थान र दूरी हेरेर मात्र विद्यालय छनोट गर्नुपर्छ। एकपटकको परिचित सम्बन्धको कारण घरबाट धेरै टाढाको विद्यालयमा सन्तानलाई भर्ना गरेमा वर्षौंसम्म दुःख पाउन सक्छन्। यातायातमा नै आउँदा जादा घण्टौं लागेमा विद्यार्थी स्वयं शारीरिकरूपले थकित हुन्छन्। जसले पठनपाठनमा ह्रास आउन सक्छ। त्यसैकारण घरदेखि विद्यालय नजिकैको दूरीमा भयो भने पढाइमा राम्रो हुन्छ।

५) रोजगारीमूलक शिक्षा प्रणाली :  समाजदेखि र विदेशमा खपत हुने खालको शिक्षा प्रणाली हो या होइन पहिचान गरी शिक्षा तथा शिक्षालय छनोट गर्नुपर्छ। मूलत शिक्षाले जीवन जिउने कला प्रशस्त गर्नुपर्छ। अन्यथा शिक्षा तथा शिक्षालयको औचित्य रहँदैन। शिक्षा रोजगारमूलक, सीपमूलक, व्यावसायिक र तालिममूलक हुनु जरुरी हुन्छ। यदि यस्तो भएमा मात्र कक्षान्तरणको महत्त्व हुन्छ र विश्वविद्यालय तथा महाविद्यालयमा अध्ययन गर्न सक्षम जनशक्ति निर्माण हँुदै जानेमा दुई मत हुन सक्दैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.