व्यापारीसँग पैसा उठाउने पूर्वइन्सपेक्टर विराटनगरबाट पक्राउ
![व्यापारीसँग पैसा उठाउने पूर्वइन्सपेक्टर विराटनगरबाट पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_k2YYqUppZs_iKC75tpxqX.jpg)
विराटनगर : नेपाल प्रहरीका पूर्वइन्सपेक्टर (पूर्वप्रहरी निरीक्षक) गणेशमान श्रेष्ठ सोमबार साँझ विराटनगरबाट पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–८ घर भएका ५८ वर्षीय श्रेष्ठलाई साँझ ५ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार आफू ब्युरोको प्रहरी भएको बताउँदै धम्क्याएर व्यापारीसँग पैसा उठाउने क्रममा श्रेष्ठ पक्राउ परेका हुन्।
आफू ब्युरोको प्रहरी भएको बताउँदै श्रेष्ठ विराटनगर–६ स्थित व्यापारी राजकुमार भगतको पसलमा छापा हान्न भनेर पुगेका थिए। श्रेष्ठले आफू प्रहरी हुँदाको पुरानो परिचयपत्र देखाएर डर त्रास देखाई व्यापारी भगतसँग पैसा लिएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
भगतको किराना सामानको गोदाम छ। गोदाममा चिनी लगायतका सामान राखिएको छ। गोदाममा छापा हान्न प्रहरी आएको ठानेर भगतले १० हजार रुपैयाँ पैसा पूर्वइन्सपेक्टर श्रेष्ठलाई दिएका थिए। व्यापारीसँग पैसा लिएको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएर श्रेष्ठलाई प्रहरीको जिम्मा लगाएका हुन्।
श्रेष्ठले व्यापारीसँग लिएको रकम पनि बरामद भएको डीएसपी बस्नेतले बताए। उनले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)