टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि उर्लाबारी तनावग्रस्त, प्रहरी कार्यालयमा ढुंगामुडा

टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि उर्लाबारी तनावग्रस्त, प्रहरी कार्यालयमा ढुंगामुडा
सुन्नुहोस्

विराटनगर : तीव्र गतिमा रहेको टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि सोमबार साँझबाट मोरङको उर्लाबारी तनावग्रस्त बनेको छ। 

घटनापछि आक्रोसित भएर प्रदर्शनमा उत्रिएका स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ढुंगामुडा गरिरहेका छन्। स्थानीयको प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन बन्द भएको छ। यातायात अवरुद्ध पारेर नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएकाहरूले उर्लाबारी चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै प्रहरी कार्यालयमा ढुंगामुडा गरिरहेका हुन्। 

उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी नगरपालिका–६ सिलौलीमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएको थियो। मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६:५० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार दुर्घटनामा परेर स्कुटर चालक उर्लाबारी–६ की अन्दाजी २७ वर्षीया सीता बोहोराको मृत्यु भएको हो। गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा साँझ ७:३० बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए। घरबाट सब्जी लिन निस्किएका बेला उनलाई टिपरले ठक्कर दिएको बताइएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन्। सुरुमा उपचारका लागि अरनिको अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको न्युरो अस्पतालतर्फ ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते बालकको अवस्था मध्यम छ। 

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको छ। चालकको लापरबाही र टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

डीएसपी बस्नेतले दुर्घटनापछि मृतकका आफन्त र स्थानीयले उर्लाबारीमा प्रदर्शन गरिरहेको बताए। उनका अनुसार २/३ सयको संख्यामा रहेकाहरूले सडकमा टायर बालेर नाराबाजी र प्रदर्शन गर्दै प्रहरी कार्यालयलाई लक्षित गरी ढुंगामुडा गरिरहेका हुन्। टिपर आतंक बन्द हुनुपर्ने, दुर्घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेर स्थानीय आन्दोलित भएका छन्। 

स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी बस्नेतले बताए। प्रदर्शनस्थलमा पुगेको प्रहरीले आन्दोलित बनेकालाई सम्झाई बुझाई गरिरहेको छ। तर, आक्रोशित बनेको भीडले थप उत्तेजित भएर प्रदर्शनलाई उग्र बनाउँदै लगेको छ। सम्झाई बुझाई गर्दा पनि माहोल शान्त नभएमा बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रहरीको तयारी छ। 

माहोल भड्काउन भूमिका खेल्नेहरूलाई निगरानीमा राखिएको र थप क्षति हुन नदिन सुरक्षाकर्मीले संयमता अपनाइरहेको डीएसपी बस्नेतले बताए। ‘सम्झाई बुझाई गर्दा पनि माहोल शान्त नभए बल प्रयोग गरेर भएपनि स्थितिलाई नियन्त्रणमा लिइने छ। कुनै पनि क्षति हुन नदिन आवश्यकता अनुसार बल प्रयोग गर्नुपर्ने हुनसक्छ ,’ प्रहरी स्रोतले भन्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.