तरकारी उत्पादनमा मुद्राडका स्थानीय
जिल्लाको अजयमेरु गाउँपालिका– १ समैजी मुद्राड गाउँका स्थानीय व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएका छन्। मुद्राडका महिला तरकारी लगाउन खेती सिक्दै, उत्पादन गर्दै आएका छन्।
किसानका बारीमै प्रशिक्षक गई कृषि ज्ञान केन्द्रले आईपीएम कृषक पाठशाला सञ्चालन गरेपछि मुद्राड गाउँका ३० बढी महिला समूहमा आबद्ध भई हाल तरकारी खेती गरिरहेका छन्। सामूहिक रूपमा तरकारी खेती गर्न अभ्यास गर्दै मुद्राडका महिलाले भेडे खुर्सानी, गोलभेंडा, भिन्डी, खुर्सानीलगायतका वस्तुहरू उत्पादनसमेत गरेका छन्।
तरकारी खेती गर्न खनजोतदेखि बेर्ना राख्ने, मलजल गर्ने, गोडमेल गरी बजारसम्म पु¥याउने गरी पाठशालामा महिलालाई सिकाइएको कृषि ज्ञान केन्द्र डँडेलधुराका कार्यालय प्रमुख खेमराज पनेरूले बताए। मुद्राड गाउँमा आयोजना गरिएको आईपीएम कृषक पाठशालाका माध्यमबाट बढीभन्दा बढी तरकारी उत्पादन गरी महिलालाई आम्दानी बढाउन सहयोग गरिएको जनाए।
ग्रामीण सडक पुगेको मुद्राड गाउँमा सिँचाइका लागि कुलोको व्यवस्था र उर्वर भूमिसमेत भएकाले व्यावसायिक रूपमा तरकारी खेती गरी सक्षम भइरहेका छन्। आईपीएम पाठशाला योजना लागु भएकाले गाउँका किसानले राम्रो तरकारी खेती गर्दै गए थप योजनाहरू समेत प्राथमिकतामा राखी कार्यालयबाट सहयोग गर्ने ज्ञान केन्द्रका निमित्त प्रमुख पनेरूले बताए।
तरकारी तथा खाद्य वस्तु आलीदेखि थालीसम्म सफा र स्वच्छ राख्नसमेत खाद्यसुरक्षाअन्तर्गतका कुराहरू पनि आईपीएम अर्थात् इन्टिग्रेटेड पेस्टी मेनेजमेन्ट (एकीकृत शत्रुजीव व्यवस्थापन) पाठशालामार्फत कृषकलाई जानकारी गराइएको छ। परम्परागत रूपमा खेतीपाती गर्दै आइरहेका तथा प्रविधि नपुगेका किसानसम्म प्रविधि र आधुनिक खेतीबारे जानकारी गराई उत्पादन बढाउने लक्ष्य सरकारको रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत लेखराज निरौलाले जानकारी दिए। यसका लागि पाठशाला सञ्चालन गरिँदै आएको र यो योजनाबाट किसानले फाइदा लिँदै आएका छन्।
स्थानीय, उन्नत र आधुनिक गरी तीन तरिकाले भेडेखुर्सानी लगाई तरकारी खेती गर्न सिकेको गैरीपोखरी आईपीएम कृषक पाठशाला समूहका अध्यक्ष इश्वरीदेवी भण्डारीले वताइन्। आधुनिक प्रविधिबाट तरकारी खेती गर्दा उत्पादन बढी भइरहेको उनले बताइन्। तरकारीका बिरुवा कति दूरीमा रोप्ने, ड्यांग कसरी बनाउने, कुन किरा मित्र, कुन शत्रु, किराको प्रकोप तथा विभिन्न रोग, संक्रमणको जोखिम कम गर्न विषादीको प्रयोग गर्नेबारे जानकारी पाएका छन्।