उर्लाबारीको स्थिति नियन्त्रणमा लिन २९ सेल अश्रुग्यास प्रहार, प्रहरी कार्यालयमा क्षति

उर्लाबारीको स्थिति नियन्त्रणमा लिन २९ सेल अश्रुग्यास प्रहार, प्रहरी कार्यालयमा क्षति

विराटनगर : टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोसित बनेको भीडले ढुंगामुडा गरेर मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा क्षति पुर्‍याएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाट्ठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो। दुर्घटनालगत्तै माहोल अशान्त बनेर हिंसा भड्किने सम्भावना बढेपछि स्थितिलाई साम्य पार्न सोमबार राति २९ सेल अश्रुग्यास प्रहार गर्नु परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। प्रहरीले लाट्ठी चार्जसँगै अश्रुग्यास प्रहार गर्न थालेपछि भीड तितरबितर भएको थियो। परिस्थिति नियन्त्रण बाहिर जान पाएन। 

डीएसपी बस्नेतका अनुसार करिब २ सयको संख्यामा रहेकाहरुले होहल्ला र नारबाजीसहित सडकमा टायर बालेर प्रदर्शन गर्दै प्रहरी कार्यालयलाई लक्षित गरेर आक्रमण एवं ढुंगामुडा गरेका थिए। प्रदर्शनकारीको आक्रमणमा परेर प्रहरी सहायक हवल्दार लालबहादुर खत्री घाइते भएका छन्। आन्दोलनमा उत्रिएकाले प्रहार गरेको ढुंगाले लागेर चिउडोमा चोट लागेका उनलाई उपचारका लागि अरनिको अस्पतालमा भर्ना गरिएको थियो। 

प्रदर्शनकारीले ढुंगाले हानेर प्रहरी कार्यालयको गेटको डिजिटल बोर्ड र नागरिक सहायता कक्षको शिशा फुटाइदिएको बस्नेतले बताए। साथै, ढुंगाले लागेर प्रहरीले प्रयोग गर्ने ५ वटा शिल्ड ढालसमेत फुटेको जानकारी उनले दिए। स्थितिलाई नियन्त्रण लिन इलाका प्रहरी कार्यालयहरु पथरी, लेटाङ, बेलबारी तथा झापाको दमकबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। सशस्त्र प्रहरीसमेत खटाइएको थियो। 

सुरक्षाकर्मीको संयुक्त टोलीले सम्झाई बुझाई गर्न थालेपछि झन् उत्तेजित भएको भीडले पूर्व–पश्चिम लोकमार्गमा सवारी आवागमन ठप्प पारेर टायर बाल्दै सडकमा प्रदर्शन गरेको थियो। प्रदर्शन र सडक अवरोधका कारण लोकमार्गमा निक्कै बेरसम्म यातायातका साधन चल्न सकेनन्। माहोल भड्किएर परिस्थिति नियन्त्रण बाहिर जाने सम्भावना बढेपछि लाट्ठी चार्ज तथा अश्रुग्यास प्रहार गर्नु परेको र राति ११ बजेतिर भीड तितरबितर भएको डीएसपी बस्नेतले बताए। उनका अनुसार घटनामा परेर १ जना प्रहरीबाहेक अरु घाइते भएनन्। प्रहरीले संयमता अपनाएकै कारण ठूलो क्षति हुन नपाएको जानकारी बस्नेतले दिए। 

उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी नगरपालिका–६ सिलौलीमा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट अन्दाजी २७ वर्षीया सीता बोहोराको मृत्यु भएको थियो। मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६:५० बजेतिर ठक्कर दिँदा स्कुटर चालक उर्लाबारी–६ की बोहोराको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उपचारका लाग मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। बोहोरालाई साँझ ७:३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। 

घरबाट शब्जी लिनलाई स्कुटरमा निस्किएका बेला टिपरले उनलाई ठक्कर दिएको बताइएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका छोरा अन्दाजी ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन्। मध्यम अवस्थाका बालकको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको छ। चालकको लापरबाही र टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। लिम्बूविरुद्ध सवारी ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। 

दुर्घटनापछि आक्रोसित बनेका मृतकका आफन्त र स्थानीय ढुंगामुडा गर्दै प्रदर्शनमा उत्रिएका थिए। टिपर आतंक बन्द हुनुपर्ने, दुर्घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग आन्दोलनकारीको थियो। माहोल भड्काउन भूमिका खेल्ने र ढुंगामुडा गरेर क्षति पुर्‍याउनेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने प्रहरीको तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.