कांग्रेस र एमालेले नयाँ गठबन्धन गर्ने कुरा अप्राकृतिक र अस्वभाविक : देवेन्द्र पौडेल
काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने कुरा अप्राकृति र अस्वभाविक भएको निष्कर्श निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले रातारात नयाँ गठबन्धन बनाउने कुरा अप्राकृतिक र अस्वभाविक रहेको भन्दै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको हो ।
कुनै दलले समर्थन फिर्ता लिएपछि पनि विश्वासको मतका लागि एक महिना समय रहने भएकाले तत्कालै प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय भएको माओवादी सचिव देवेन्द्र पौडेलले बताए।
उनले प्रधानमन्त्रीसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले एउटा कुरा गरेको र कांग्रेससँग अर्को छलफल गरेको आरोप लगाए । उनले संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने र यसका लागि कांग्रेस, एमाले र रास्वपा लगायतका दलहरूसँग छलफल गर्ने जिकिर गरे। एमालेको कदम षडयन्त्र भएकाले प्रतिवाद नै गर्ने उनको भनाइ छ ।
सचिव पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नका लागि माओवादीले पहल गर्ने बताए। संविधान संशोधन गर्ने विषयमा पार्टीले बुझ्न बाँकी रहेको भन्दै उनले पछिल्लो परिवर्तन उल्टाउने खेल भइरहेको हो कि भन्ने आशंका रहेको जिकिर गरे।