गुलरिया मेयर कप क्रिकेटको उपाधि बंगलामुखीलाई
![गुलरिया मेयर कप क्रिकेटको उपाधि बंगलामुखीलाई](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_yO3INUzvdF_d3iwYp7n5N.jpg)
गुलरिया : प्रथम मेयरकप टी–१० क्रिकेट प्रतियोगिताको उपाधि बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले जितेको छ। ध्रुव माध्यमिक विद्यालय तुल्सीपुरलाई ८ विकेटले पराजित गर्दै बगलामुखीले मेयर कपको उपाधि हात पारेको हो।
टस जितेर घरेलु मैदानमा पहिलो बलिङ गरेको बंगलामुखीले ध्रुव माध्यमिक विद्यालयलाई ९.५ ओभरमा ६७ रनमा अलआउट गरेको थियो। ६८ रनको फाइनल जित्ने लक्ष्य लिएको बंगलामुखी माध्यमिक विद्यालयले ४.५ ओभरमा २ विकेटको क्षतिमा ६९ रन बनाउँदै उपाधि जितेको खेलका सहजकर्ता दिपकलाल श्रेष्ठले बताए।
बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको तर्फबाट ब्याटिङ गर्दै सुमन ज्ञवालीले १३ रन, इमरान अलिले १४ रन र आर्यन खड्काले १८ रन जोडे। फाइनल खेलमा ४ विकेट लिएर बंगलामुखी माविका निराजन थापा म्यान अफ द म्याच घोषित भए।
बर्दियाको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सहजीकरणमा गराइएको प्रथम मेयरकप क्रिकेट प्रतियोगितामा महाकवि देवकोटा माध्यमिक विद्यालयका सद्दाम गद्दी म्यान अफ द सिरिज र ध्रुव माध्यमिक विद्यालयका अभिषेक सिंह राठौर बेस्ट ब्याट्सम्यान घोषित भएका छन्।
ध्रुव माध्यमिक विद्यालयको तर्फबाट उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टिमका लागि विजय कुशवदियाले ४४ रनको योगदान दिए। बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको तर्फबाट उत्कृष्ट बलिङ गर्दै निराजन थापाले ४ विकेट लिन सफल भए। प्रथम मेयरकप टी–१० क्रिकेट प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि १४ वटा माध्यमिक विद्यालयहरूको सहभागी थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)