गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि
बागलुङ : गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति बागलुङको व्यवस्थापनमा भोलिदेखि बागलुङमा प्रदेश स्तरीय महिला/पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो।
जिल्ला खेलकुद विकास समिति बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाले सहभागिता जनाउने बताए। उनले कास्कीबाट ४ पुरुष र २ महिला तथा बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, स्याङ्जा, मनाङ, लमजुङ, तनहुँ, गोरखा र नवलपुरबाट समान ३ पुरुष र २ महिला खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउने बताए।
प्रतियोगिताबाट आगामी मंसिर महिनामा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट सहभागिता जनाउने ७ पुरुष र ५ महिला खेलाडी छनौट गरिने छ। ब्याटमिन्टनमा ५ इभेन्टको प्रतिस्पर्धा हुने भए पनि प्रतियोगितामा महिला र पुरुष सिंगल इभेन्टका मात्र खेल हुने बागलुङ ब्याडमिन्टन संघका अध्यक्ष राजिन खड्काले बताए।
जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष खड्काले प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र १२ कास्य पदकको लागि प्रतिस्पर्धा हुने बताए। प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ।