सरकारी जागिर छाडेर व्यावसायिक कखुरापालन
दोलखा : भीमेश्वर नगरपालिका-४ जिलुकी जिष्णुकुमारी उप्रेतीले सरकारी जागिर छाडेर कुखुरापालन व्यवसाय अंगालेकी छन्। नेपालीहरूले कृषि र पशुपालनलाई खासै चासो नदिराखेको अवस्थामा १३ वर्ष लामो समयसम्मको शिक्षण पेसा छोडेर कुखुरापालन गर्न थालेकी हुन्।
सरकारी जागिर खाने धेरैको रहर हुन्छ। जागिर स्थायी बनाएर ढुक्कको जीवन निर्वाह गर्न चाहनेहरूका बीच जागिर स्थायी हुने बित्तिकै उनले कुखुरापालन गर्न व्यवसाय रोजिन्। प्रावि तहमा १३ वर्षको शिक्षण अनुभव बटुलेकी उप्रेतीले भीमेश्वर नगरपालिका-७ साखिनेमा ५ रोपनी जग्गा लिएर अण्डा उत्पादनका लागि दोलखा कृषि उद्यम प्रालि खोलेकी छन्।
अहिले कुखुरा फार्ममा ६ हजार कुखुरा छन्। ४९ सय कुखुराले दैनिक अण्डा दिन्छ। चरिकोट बजार लगायत मैनापोखरी र बनेपा बजारसम्म यहाँ उत्पादित अण्डा जाने गरेको छ। उनको आजभोलि बिहान ४ बजेदेखि बेलुकासम्म कुखुराको स्याहारसुसारमा समय बित्ने गर्छ।
साढे दुई करोड लगानीमा सुरु भएको उनको कुखुरा फार्ममा ५ जनाले रोजगारी पाएका छन्। सुरुमा ३ हजार कुखुराबाट उनले व्यवसाय सुरु गरेकी हुन्। कुखुरापालन व्यवसायको पर्याप्त ज्ञान नहुँदा उनले सुरुमा घाटा व्यहोर्न परेको थियो। आफूसँग भएको र अगाडि जोडिएको सम्पतिले पनि धान्न नसक्ने गरी व्यापारको घाटा व्यहोर्नु परेको उनले बताइन्।
बिहान खाए बेलुका के खाउ भन्ने अवस्थाबाट दैनिकी चलाउनुपर्ने अवस्था सिर्जना भयो। उनलाई दैनिक साहुको फोनले हैरान बनाउन थाल्यो। जीवनमा सबै गुम्यो अब उठ्न सक्ने कुनै आधार छैन भन्ने पीडा हुन थाल्यो । त्यसमा पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण अलिकति फरक हुने हुँदा मानसिक रुपमा विचलन आउन थाल्यो।
तर आँट गरेर अघि बढ्नुपर्छ भनेर कम्मर कसेर अघि बढेको उनको भनइ थियो। ‘हार नमानी फेरि २०७७ सालमा ऋण थप गरी १ हजार ७ सय चल्ला पालन सुरु गरें’, उनले भनिन्। १७ सय कुखुराले अण्डा दिन सुरु गरेपछि अण्डा बेचेको पैसाले लगतै अरु कुखुरा थप गरेर व्यापारलाई लयमा फर्काएको उनले बताइन्।
‘ऋण लाग्यो तर जिन्दगी भासिएको छैन भनेर आँट गरें। केही सुधार हुँदै गयो। यसैबाट छोराछोरी पढाउन र व्यवहार धान्न पुग्दै आयो। अहिले ऋण तिर्न सजिलो हुँदै आएको छ। हाल ५ रोपनी जग्गा र भएका संरचनाबाहेक ७० लाखको कुखुरा छ। खर्च कटाएर मासिक ३ लाख नाफा रहन्छ,’ उनले भनिन्।
दैनिक १८/१९ बाक्सा अण्डा टिप्ने र बजार पठाउने चटारो हुन्छ। ‘पढे लेखेको मान्छेले कृषि पेसा गर्नु हुँदैन भन्ने नेपाली समाजको मान्यतालाई तोडेर समाजमा नयाँ पुस्तालाई उद्यमी बन्न प्रेरणा मिलोस् भनेर यो पेशाा रोजेको हो,’ उनले भनिन्। स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गरेर स्थानीय उत्पादन र आयातित उत्पादनको गुणस्तर हेरेर बजारको सुनिश्चित गरिदिए प्रोत्साहन मिल्ने उनको भनाइ छ।