समाजवादीको अबको बाटो
पार्टीको नेतृत्व एउटै पुस्तामा सीमित राख्नुभन्दा नेतृत्वमा हरेक पुस्ताको अर्थपूर्ण सहभागिता चाहिन्छ।
नेतृत्व चयन, नीति निर्माण, समीक्षा, पार्टीको कार्यक्रम, कार्यनीति तथा रणनीति अनुमोदन, विधान तथा सांगठनिक प्रतिवेदन पास महाधिवेशनको महत्त्वपूर्ण पक्ष हो। महाधिवेशनले नेतृत्वको च्यन गरेर मात्रै पुग्दैन, आगामी दिनमा पार्टीले हिँड्नुपर्ने बाटोको निर्धारण र त्यसका लागि अँगाल्नुपर्ने नीतिको समेत निर्धारण गर्न सक्नुपर्छ। तर, नेपालको सन्दर्भमा पार्टीहरूको महाधिवेशन कर्मकाण्डको रूपमा सीमित हुने गरेको छ। सही नीतिको चयनभन्दा नेतृत्वको चयनमा केन्द्रित हुने गरेको छ। एकीकृत समाजवादी पार्टी सफल पार्टी बन्ने/नबन्ने कुरा पार्टीले सार्ने समाजवादी कार्यक्रम र त्यसको प्रभावकारी कार्यान्वयनमा भरपर्छ।
एकीकृत समाजवादीको अबको बाटो निर्धारित नीति तथा कार्यक्रमको उपयोग गर्दै संगठन विस्तार हुनुपर्छ। एकीकृत समाजवादी कांग्रेस–एमालेको विकल्प बनेर उभिन सक्नुपर्छ। नेकपा (एस)को गठन हुँदा यो पार्टी लामो समयसम्म चल्न सक्दैन भनेर आकलन गरिएको थियो। तर, नेकपा (एस)का नेताहरूले भविष्यमा आफ्नो पार्टीले वाम आन्दोलनकै नेतृत्व गर्ने सार्वजनिक घोषणा गरेका थिए। आज एकीकृत समाजवादी गठनदेखि महाधिवेशनसम्मको यात्रा तय गर्न सफल भए पनि एकीकृत समाजवादीको नतिजा र गति राम्रो देखिएको छैन। कानुनत : एकीकृत समाजवादी राष्ट्रिय पार्टी पनि बन्न सकेको छैन। विद्रोहको औचित्यसमेत पुष्टि हुन सकेको छैन।
१५ वर्षसम्म आफैंले नेतृत्व गरेको पार्टीबाट माधवकुमार नेपालले विद्रोह गरेका थिए। नेपालको आफ्नो विद्रोहलाई ओलीको अधिनायकवाद विरुद्धको विद्रोह भनेका थिए। दुई पूर्वप्रधानमन्त्री रहेको पार्टी एकीकृत समाजवादीमात्रै भए पनि पार्टीको आपेक्षित विकास हुन सकेको छैन। पार्टी विस्तारमा समाजवादीले खास उपलब्धि हासिल गर्न सकेको छैन। एकीकृत समाजवादीको अहिलेसम्मको अवस्था हेर्ने हो भने पार्टी आफ्नै खुट्टामा उभिन सकेको देखिँदैन। परनिर्भरताको अवस्था एकीकृत समाजवादीको वर्तमान अवस्था हो।
एकीकृत समाजवादी पार्टीको भविष्य अहिलेसम्म उज्ज्वल देखिएको छैन। आमजनतामा एकीकृत समाजवादीप्रति कुनै खास आकर्षण पनि देखिँदैन। पार्टी त बनेको छ तर नेता र कार्यकर्ताको दायरा निकै नै साँघुरो छ। दायरा विस्तार हुनुको सट्टा खुम्चिँदै गएको हो कि संकेत देखिन्छ। यसतर्फ पार्टी नेतृत्वमा चिन्ता र चासो देखिन जरुरी छ। प्रभावकारी समाजवादी कार्यक्रमको चयन र संगठन विस्तार एकीकृत समाजवादीका लागि अहिले सबैभन्दा ठूलो चिन्ताको विषय छ।
विद्रोहपछि भएको गत निर्वाचनमा संघमा प्रत्यक्षतर्फ १० स्थानमा जित हासिल गरे पनि नेकपा (एस)ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन। नेकपा (एस)मा नेताहरू आए पनि कार्यकर्ता खासै नआएको स्पष्ट संकेत थियो यो। प्रदेश र स्थानीय निकायमा समेत नेकपा (एस)को अवस्था राम्रो छैन। प्रत्यक्षतर्फ १० सिट प्राप्त गरेको पार्टीले समानुपातिकतर्फ २ लाख ९८ हजार ३ सय ९१ मत मात्र प्राप्त गर्यो। यसले नेकपा (एस)ले प्राप्त गरेको सफलता गठबन्धनको बलमा प्राप्त गर्न सफल भएको प्रस्ट भएको थियो। यो नेकपा (एस) आफ्ना कार्यकर्तामा भन्दा बढी अरू दलमा आश्रित रहेको प्रमाण थियो। यसलाई आत्मसात् गरेर एकीकृत समाजवादीले आफ्नो संगठन विस्तारको योजना बनाउन र कार्यक्रम लागू गर्न जरुरी छ।
समाजमा नयाँ पार्टीको जन्म हुन्छ। भर्खरै जन्मिएको पार्टीले पनि मुलुकको राजनीति र समाजको नेतृत्व लिन सक्छ। त्यसका लागि नयाँ पार्टीको संगठनको विस्तार हुन अत्यन्त जरुरी हुन्छ। नयाँ पार्टीले पुरानाभन्दा फरक र पृथक् ढंगले आफ्ना आगामी यात्रालाई अगाडि बढाउन सक्नुपर्छ। अहिलेको एकीकृत समाजवादीलाई हेर्ने हो भने एमाले, माओवादीलगायतका वाम दलहरूभन्दा न विचार र सिद्धान्त फरक देखिन्छ, न त कार्यक्रम र कार्यनीति नै फरक देखिन्छ। स्थापित दलको भन्दा फरक र उत्कृष्ट समाजवादी कार्यक्रम दिन नसके एकीकृत समाजवादी स्थापित हुन सक्दैन। जसको विकल्प दिन नेकपा (एस) जन्मियो तिनै दलसँग सहकार्य गरेर स्थापित हुन खोज्ने बाटो रोज्नु गलत हो। एकीकृत समाजवादीको लागि यो प्रश्न गम्भीर छ।
आफ्नै बलमा नेपाली राजनीतिमा कुनै निर्णय लिन सक्ने अवस्थामा एकीकृत समाजवादी छैन। सडक र सदन दुवैमा एकीकृत समाजवादी छायामा परेको छ।
नेपाली राजनीतिमा कांग्रेस एमालेको विकल्पको रूपमा आफूलाई उभ्याउन सक्नु नेकपा (एस)का लागि ठूलो चुनौतीको विषय हो। तर, समाजवादतर्फको यात्रामा आफूलाई सही बाटोमा उभ्याउन सक्यो भने सफलता अवश्य नै प्राप्त हुनेछ। यसका लागि नेकपा (एस)ले सार्ने समाजवादी कार्यक्रमको गुणस्तर, कार्यान्वयनको प्रभावकारिता र कार्यान्वयनका लागि व्यावहारिक प्रतिबद्धता महत्त्वपूर्ण रहन्छ। आफ्ना व्यवहारबाट देश र जनताप्रतिको लगाव, सिद्धान्त र नीतिप्रतिको निष्ठा, विचार, कार्यक्रम, कार्यनीति र रणनीतिप्रतिको प्रतिबद्धता एवं इमान्दारिता देखाउन सक्नु वर्तमानमा नेपाली राजनीतिक दलहरूका लागि ठूलो परीक्षाको विषय छ। यो परीक्षा पास गर्न सक्ने दलमात्र नेपाली राजनीतिको विकल्प बन्न सक्छ।
प्रत्येक दलको आफ्नै विचार, सिद्धान्त, नीति, रणनीति, कार्यक्रम र कार्यनीति हुन्छ। यी सबै कुरा जति उत्कृष्ट भए पनि यी कुराको कार्यान्वयनका लागि चाहिने भनेको संगठन नै हो। तसर्थ राजनीतिक दल सफल हुन उत्कृष्ट नीति र सिद्धान्त भएर मात्रै पुग्दैन, त्यसलाई जनतामा लैजान कार्यकर्ता र लागू गराउन संगठन पनि चाहिन्छ। त्यस्तै पार्टीको नेतृत्वमा महान् विचारक भएर मात्रै पुग्दैन, पार्टी विस्तार गर्न कुशल संगठक पनि चाहिन्छ। पार्टीको नेतृत्व एउटै पुस्तामा सीमित राख्नुभन्दा नेतृत्वमा हरेक पुस्ताको अर्थपूर्ण सहभागिता चाहिन्छ। पार्टी नेतृत्वमा देवता बनेर आफू पुजिनेभन्दा आफ्ना नेता, कार्यकर्ता र सम्पूर्ण जनतालाई पूज्ने इच्छाशक्ति भएको नेता चाहिन्छ।
वर्तमानमा एकीकृत समाजवादीको सबैभन्दा ठूलो आवश्यकता भनेकै जनतामा जाने स्पष्ट एजेन्डा र ठोस कार्यक्रमको रहेको छ। प्रस्ट विचार र निश्चित कार्यक्रमका साथ जनतामा गई संगठन विस्तार गर्न सक्ने कार्यकर्ताको आवश्यकता एकीकृत समाजवादीलाई त्यतिकै छ। आफ्ना विचारमा स्पष्टता, व्यवहारमा कार्यक्रम कार्यान्वयनको इमान्दारिता, संगठन विस्तार र परिचालनमा तीव्रता तथा प्रभावकारिता नै एकीकृत समाजवादीको अबको बाटो हुनुपर्छ। एमालेबाट विद्रोह गरेर नेपालले एकीकृत समाजवादीको निर्माण गर्दा देउवा नेतृत्वमा सत्ता गठबन्धन निर्माणमा पार्टीको भूमिका महत्त्वपूर्ण थियो। देउवाले पनि नेपाल समूहको सांसदको हैसियत जोगाउन सहयोग गरे। निर्वाचनमा पनि गठबन्धनमा राम्रै स्थान दियो। तर, निर्वाचनपछि एकीकृत समाजवादीको भूमिका कमजोर हुँदै गएको सजिलै देख्न सकिन्छ।
अहिले एकीकृत समाजवादी आफू भूमिकामा देखिन केहीले कांग्रेस त केहीले माओवादीलाई पछ्याउने बाध्यतामा छ। आफ्नै बलमा नेपाली राजनीतिमा कुनै निर्णय लिन सक्ने अवस्थामा एकीकृत समाजवादी छैन। सडक र सदन दुवैमा एकीकृत समाजवादी छायाँमा परेको छ। नेपाली राजनीतिमा आफ्नो भूमिका खोज्न र स्थापित हुन नेपाली समाजवादी कार्यक्रमको नेतृत्व गर्ने गरी नीति, कार्यक्रम, कार्यनीति, कार्ययोजना र व्यवहारका साथ आफ्ना संगठन विस्तार गर्दै अगाडि बढ्नुको विकल्प छैन, एकीकृत समाजवादीसँग। वाममोर्चा होइन, समाजवादी मोर्चाको निर्माणको बाटोमा एकीकृत समाजवादी अगाडि बढ्न सक्नुपर्छ।