नवलपरासीका मुस्लिम महिलाको स्वास्थ्य सेवामा पहुँच बढ्दै
परासी : नवलपरासीमा सञ्चालन गरिएको ‘खुसहाल परिवार कार्यक्रम’बाट मुस्लिम महिलाहरूको स्वास्थ्य सेवामा पहुँच बढ्दै गएको पाइएको छ। लुम्बिनी प्रदेशको तराईका जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नका लागि परिवार योजनासम्बन्धी ‘खुसहाल (खुसी) परिवार कार्यक्रम’ अन्तरगत यो कार्यक्रम सञ्चालनमा छ।
स्वास्थ्य कार्यालयबाट जिल्लामा सञ्चालन गरिएको यो कार्यक्रमबाट मुस्लिम महिलासँगै समुदायमै स्वास्थ्य सेवामा पहुँच बढेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए। दुई वर्षदेखि यो कार्यक्रम जिल्लाका सबै पालिकामा सञ्चालनमा छ। मुस्लिम समुदायमा जन्मान्तर (बच्चा जन्माउने वर्षको अन्तर), गर्भावस्थामा स्वास्थ्य जाँच, परिवार नियोजनका अस्थायी साधनलगायतका बारेमा कम जानकारी हुँदा महिला र बच्चाहरुको ज्यान जोखिममा पर्दै गएकाले यो कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य प्रमुख पन्थीले बताए।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९ देखि २०८१ को हालसम्म ४ हजार ८६० जना स्वास्थ्य संस्थामा गएर सुत्केरीहुँदा मुस्लिम महिलाको संख्या भने ६२१ मात्र छ। ‘पहिला महिलामा गर्भावस्थामा गर्नुपर्ने जाँचदेखि सुत्केरी अवस्थामा लिनुपर्ने स्वास्थ्य सेवाका बारेमा कम जानकारी थियो। अहिले कार्यक्रम सुरु भएपछि धेरै सुधार आएको छ। स्वास्थ्य संस्थामा गएर जाँच गराउनेको संख्या पनि क्रमशः बढ्दै गएको छ,’ पन्थीले भने।
बच्चा जन्माउने अन्तर कम्तीमा ३ वर्षमाथि हुनुपर्ने भए पनि धेरैजसो मुस्लिम समुदायमा १ देखि २ वर्षको अन्तरमा बच्चा जन्माउने अवस्था देखिएको उनले बताए। ‘जन्मान्तरको बारेमा जानकारी नहुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने भएकाले बच्चा जन्मेको कम्तीमा ३ वर्षपछि मात्र अर्को बच्चा जन्माउनुपर्ने पन्थीको सुझाव छ।
आमा र बच्चाको स्वास्थ्य सुधारका लागि समुदायस्तरमा सञ्चालन गरेको यो कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन अहिले मदरसा र मस्जिदहरूमा पनि सञ्चालन गरिएको छ। मुस्लिम धर्म गुरुहरूमार्फत कार्यक्रम लैजादा अझ बढी प्रभावकारी हुने भएकाले पछिल्लो पटक मदरसा र मस्जिदलाई पनि प्राथमिकतामा राखेर कार्यक्रम गरिएको स्वास्थ्य प्रमुख पन्थीले जानकारी दिए।
स्वास्थ्य कार्यालयले सञ्चालन गरेको कार्यक्रमले मुस्लिम समुदायको स्वास्थ्यमा पहुँच बढ्नुका साथै मातृ मृत्यु र बाल मृत्युमा समेत कमी आउने विश्वास लिइएको उर्दु भाषा अध्यापन गराउने शिक्षकहरूको संगठन ‘ओल्मा काउन्सिल’का केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसेनले बताए।