अन्नपूर्ण संरक्षण क्षेत्रमा कीर्तिमानी पर्यटक संख्या

अन्नपूर्ण संरक्षण क्षेत्रमा कीर्तिमानी पर्यटक संख्या
सुन्नुहोस्

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा यस आर्थिक वर्षको असार दोस्रो सातासम्म अहिलेसम्मकै धेरै पर्यटकले पदयात्रा र तीर्थयात्रा गरेका छन्। संरक्षण क्षेत्रको पदयात्रामा जाने विभिन्न देशका पर्यटक र मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भारतीय पर्यटकसमेत गरेर अहिलेसम्मकै धेरै पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका हुन्। 

चालु आर्थिक वर्षको असार महिनाको दोस्रो सातासम्म अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै धेरै २ लाख १७ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले जानकारी दिए। यो अवधिमा अन्नपूर्ण संरक्षण क्षेत्रमा सार्क मुलुकका १ लाख १४ हजार १ सय ६९ जना र अन्य मुलुकका १ लाख २ हजार ८ सय ८९ जना पर्यटकले भ्रमण गरेको तथ्यांक छ। यो तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक पुगेको रेकर्ड ब्रेकिङ संख्या रहेको एक्यापले जनाएको छ। 

विश्वमै प्रख्यात अन्नपूर्ण पदयात्रामा सबैभन्दा धेरै पर्यटक कोभिडअघि सन् २०१९ मा १ लाख ८३ हजारको संख्यामा पुगेका थिए। कोभिडका एक आर्थिक वर्षमा इतिहासकै कम पर्यटक संख्या ४ हजार पर्यटक मात्र अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेको तथ्यांक छ। 

कोभिड कम हुँदै गएपछि २०७९ मा १ लाख ७२ हजार १ सय ८५ जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए। २०८० मा ९० हजार भारतीय पर्यटकले र तेस्रो मुलुकका ८२ हजार पर्यटक अन्नपूर्ण पदयात्रामा गएको एक्यापको तथ्यांक छ। विश्वमै प्रख्यात अन्नपूर्ण पदयात्रा क्षेत्रका बस्ती नभएका क्षेत्रमासमेत सडक विस्तार गर्दापदयात्राका लागि आउने पर्यटक चिन्तित छन्। पदयात्रामै रमाउन आउने पर्यटक यस्ता सडक सञ्जालले डाइभर्ट हुने चिन्ता बढेको टान पश्चिमाञ्चलका अध्यक्ष धर्मराज पन्थीले बताए। 

सडक सञ्जालका कारण २१ दिन लाग्ने अन्नपूर्ण चक्रिय पदयात्रा (पोखरा, बेसीसहर, मनाङ, थोरङलापास भएर मुक्तिनाथ, तातोपानी, पुनहिल, घान्द्रुक पोखरा) गर्ने समय घटेर एक सातामै समेटिएको व्यवसायीले बताएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रका सबैजसो पदयात्रा सडक सञ्जालका कारण छोटिएकाले लामो समय पदयात्रामा रमाउन चाहाने पर्यटकका लागि प्रतिकुल बन्दै गएकोमा व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। 

अन्नपूर्ण संरक्षण क्षेत्रमा मुक्तिनाथको दर्शन गर्न जाने भारतीय पर्यटक बढेर अहिलेसम्मकै धेरै पुगेको हो। पछिल्लो समयमा पदयात्रामा रमाउन आउने युरोप, अमेरिकालगायतका देशका पर्यटकको संख्यामा भने कमी आएको एक्यापको तथ्यांक छ। पदयात्रा क्षेत्रमा सडक सञ्जाल विस्तारको कारण यो समस्या आएको टानका उपाध्यक्ष कृष्ण आचार्य बताउँछन्। यसैले संरक्षण क्षेत्रमा नयाँ पदयात्रा मार्ग निर्माणमा उनले जोड दिए। 

गण्डकी प्रदेश र प्रदेशको राजाधानी सहर पोखरामा वार्षिक रूपमा कति पर्यटक घुम्न आउँछन् भन्ने आधिकारिक तथ्यांक छैन। प्रदेशमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पोखरा विमानस्थलले पर्यटक आएको तथ्यांक राख्ने भए पनि अरू कुनै पनि निकायले नराख्दा पर्यटकको एकिन तथ्यांक नभएको हो। पोखरालाई सरकारले हालै पर्यटकीय राजधानी घोषणा गरेको छ। पर्यटकीय राजधानी पोखराको बजार क्षेत्रमा करिब १२ सय होटल रहेको र ४० हजार भन्दा बढी बेड संख्या रहेको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

पोखरामा होटलको लगानी मात्रै ५ खर्ब रहेको अध्यक्ष सुवेदीले सुनाए। पोखराका होटलले मात्र १५ हजारभन्दा बढीलाई रोजगार दिएको संघले जनाएको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पर्यटकको संंख्या बढ्ने विश्वासमा होटल तथा रेस्टुरेन्टमा लगानी बढ्यो तर विमानस्थलबाट अहिलेसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। पर्यटन क्षेत्रका दक्ष जनशक्ति पलायन हुने क्रम बढेकोले दक्ष जनशक्तिको अभाव रहेको पनि उनले सुनाए। 

पोखराको पर्यटन क्षेत्रले मात्र ६५ हजार बढीलाई रोजगारी दिएको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य टीकाराम सापकोटाले बताए। होटल, रेस्टुरेन्ट, साहसिक पर्यटकीय खेललगायतका पर्यटकीय क्षेत्रमा रोजगारका अवसर सिर्जना भएको हो। गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रले ७५ हजार बढीलाई रोजगारी दिएको पनि उनले बताए। पोखरामा वार्षिक रूपमा स्वदेशी र विदेशीसमेत गरेर १८ लाख पर्यटक आउने अनुमान रहेको उनले सुनाए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.