व्यावसायिक सीप सिकाइमा महिलाको आकर्षण

व्यावसायिक सीप सिकाइमा महिलाको आकर्षण
सुन्नुहोस्

भोजपुर : फुर्सदको समयमा आयमूलक र आत्मनिर्भर बन्न भोजपुर नगरपालिकाका महिलाहरू सीपमूलक सिकाइमा अग्रसर बनेका छन्। सीप सिकेपछि आम्दानीको स्रोतलाई निरन्तरता दिने लक्ष्यले भोजपुर नगरपालिका–९ का महिला यतिबेला सीप विकास तालिममा व्यस्त छन्।

भोजपुर नगरपालिका– ९, काफ्लेकी शर्मिला तामाङ विगत एक महिनादेखि व्यावसायिक प्राविधिक सीप विकास झोला बुनाइ तालिम लिइरहेकी छिन्। फुर्सदको समयमा सीप सिकेर व्यावसायिक पसल खोलेर आम्दानी गर्ने उनको सोच छ। ‘यो झोला सिलाउने सीपले केही गर्ने हौसला मिलेको छ, अब यो सीप सिकेर व्यवसाय खोल्ने छु,’ उनले सुनाइन्।

आफ्ना फुर्सदिलो समयको सदुपयोग गर्दै आयआर्जनमा लाग्ने महिलाको सीप विकासका सिकाइमा आकर्षण बढ्दै गएको हो। फुर्सदमा गरेको व्यवसायले घरगर्जो र सीपको सदुपयोग हुने भएकाले झोला बुन्ने सीप सिकिरहेको भोजपुर नगरपालिका– ९ कै आश्मा शेर्पाले सुनाइन्। झोला बुन्ने सीपले बढ्दो बजार माग धान्न सकेमा मनग्गे आयआर्जन गर्न सकिने प्रशिक्षक दालकी शेर्पा बताउँछिन्। परिश्रम गर्नेका लागि यो पेसा उपयुक्त हुने शेर्पा बताउँछिन्। 

प्रशिक्षक शेर्पा भन्छिन्, ‘यो एकमहिने तालिममा सहभागीको उत्साहजनक सहभागिता रह्यो, उहाँहरूले यहाँ सिकेको सीपलाई उहाँहरूले आयस्रोतमा लगानी गर्नुहुनेछ भन्ने अपेक्षा लिएका छौ।’ झोला बुन्ने सीप सिकेपछि बजारीकरण लाग्न सके घरमै बसीबसी राम्रो आम्दानी गर्न सकिने उनी बताउँछिन्।

नगरका महिला तथा लक्षित वर्गलाई व्यावसायिक क्षेत्रमा जोड्न र आत्मनिर्भर बनाउने मुख्य लक्ष्यका साथ भोजपुर नगरपालिकाले एकमहिने सीप विकास तालिम र सहभागी २१ जनालाई ८ लाख रुपैयाँबराबरको आवश्यक सिलाइबुनाइ मेसिन पनि दिएको छ। 

नगरपालिकाले दिएको तालिम र उपकरण पाएपछि स्थानीय महिलाहरूमा आत्मविश्वास बढेको भोजपुर नगरपालिका–९ की कल्पना घिसिङले बताइन्।

महिला सशक्तीकरण र आयमूलक क्षेत्रमा समान सहभागिता बढाउने लक्ष्यले सीप विकास तालिम र प्रतिव्यक्ति नै उपकरण (मेसिन) उपलब्ध गराइएको भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले बताइन्। 

‘नगरका महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो। तालिमपछि उहाँहरूलाई व्यावसायिक बन्न सहज होस् भनेर सहभागी सबैलाई व्यक्तिगत रूपमै हाते मेसिन पनि वितरण गरेका छौं,’ उनले भनिन्, ‘यसरी उद्यमशीलतामा महिला दिदीबहिनीलाई जोड्ने किसिमका अन्य क्षमता विकासका तालिम पनि आगामी वर्षहरूमा ल्याउने नगरको योजना छ।’ 

प्रायः गृहिणी महिला दिउँसो केही घण्टा सिलाइ सीप सिक्न व्यस्त हुन्छन्। बिहानको कलेज सकेर आउने विद्यार्थीहरू पनि दिउँसो सिलाइ सिक्नका लागि आउँछन्। 

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा नगरपालिका– ९, का पानीट्याङ्की, काफ्ले, भोटेपसललगायत क्षेत्रका २१ महिला सहभागी छन्। सहभागी महिला सीपलाई व्यवहारमा लागू गर्दै व्यावसायिक रूपमा सुरु गर्ने प्रतिक्रिया छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.