विपदबाट सिन्धुपाल्चोकमा २५ हजार घरधुरी प्रभावित बन्न सक्ने

विपदबाट सिन्धुपाल्चोकमा २५ हजार घरधुरी प्रभावित बन्न सक्ने
सुन्नुहोस्

सिन्धुपाल्चोक : लगातार वर्षा सुरु भएपछि हुन सक्ने विपदको आकलन गर्दै सिन्धुपाल्चोकमा विपद सहायता कक्ष स्थापना गरिएको छ। 

विगतका वर्षहरूमा विपदका घटना धेरै हुने गरेकाले थप सतर्कता र सहजताका लागि जिल्लामा विपद सहायता कक्ष स्थापना गरिएको हो। सोही विपद सहायता कक्षको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले उद्घाटन गरे। 

यो सहायता कक्ष जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र चौतारामा रहनेछ भने विपद प्रतिकार्यका लागि समन्वय तथा सहजीकरणका काम यो कक्षले गर्ने थापाले बताए।

विपद सहायता कक्षले विपदमा परेका वृद्धवृद्धा, फरक क्षमता भएका व्यक्ति, महिला तथा बालबालिकाहरूलाई मुख्य प्राथमिकतामा राखेर विपद प्रतिकार्य र सहजीकरणका कामहरू गर्नेछ। मनसुनको समय भएकाले जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका सम्बन्धित निकायहरू मनसुन प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ।

बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट संकटग्रस्त जिल्ला सिन्धुपाल्चोकमा यो बर्षको मनसुनबाट २५ हजार ८८ घरधुरी प्रभावित बन्न सक्ने अनुमान गरिएको छ। २ सय १५ बस्तीको भौगर्भिक अध्ययनपश्चात आँकडा निकालिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।

मनसुन सुरु भएसँगै विपदको चपेटामा परिरहने जोखिम क्षेत्रका बासिन्दामा चिन्ता छाउने गरेको छ। सिन्धुपाल्चोकलाई दुई पटकसम्म संकटग्रस्तक्षेत्र घोषणा गरिए पनि ढुक्क हुनेगरी काम हुन नसकेको प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ। 

सिन्धुपाल्चोकले एक दशकको अवधिमा २०७१ मा जुरे पहिरो, २०७२ मा महाभूकम्प, २०७३ देखि २०७७ सम्म भोटेकोशी बाढी पहिरो, २०७७ मा लिदी पहिरो, २०७८ मा मेलम्ची बाढीजस्ता ठूला विपदको सामना गर्नु पर्‍यो। यो दशकमा १ हजार ९ सय ८८ परिवार प्रभावित बन्दा ४ हजारभन्दा धेरैले ज्यान गुमाउन पुगे। कैयौँ बालबालिकाले आफ्नो अभिभावक गुमाए। घाइते भएकाहरू बाँच्नको लागि अहिले पनि संघर्ष गरिरहेका छन्। 

यस बीचमा विपदबाट प्रभावित भएका १ हजार ९ सय ८८ परिवारमध्ये अहिलेसम्म ४ सय ९५ जनाले जग्गा प्राप्त गरेका छन् भने १ सय ६ जनाले मात्र नयाँ घर बनाएका छन्। स्थानीय तहहरूमा विपद सम्पर्क व्यक्ति छन्। आपतकालीन आश्रय स्थल, भोटेकोशी र मेलम्ची खोलामा पूर्व सूचनाका लागि विभिन्न खालको साइरन समेत जडान भएको छ। 

स्थानीय तह र जिल्ला विपद व्यवस्थापन समितिले विपदका बेला आवश्यक पर्ने सामग्रीको संकलनसहित जोखिम न्यूनीकरणको तयारी थालेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ बताउँछन्। जोखिम क्षेत्र र सुरक्षित स्थान पहिचान भएपनि बस्ती जोगाउने विषयमा सरकारले काम गर्न नसकेको उनको भनाई छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.