५० लाख बढी नगद र सुनसहित ५ जना पक्राउ
काठमाडौं : ललितपुरको एक निर्माणाधीन घरमा शंकास्पद कारोबार गर्ने पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले ५० लाख ४ हजार ७ सय रूपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेस सुवेदीका अनुसार ललितपुर महानगरपालिका १४ मा रहेको निर्माणाधीन घरबाट नगद र सुनसहित तीन जना भारतीय र दुई जना नेपाली पक्राउ परेका हुन्।
सुवेदीका अनुसार उक्त घरमा गत कात्तिकदेखि भारतीय नागरिक युवराज विभुतेले फ्लाट भाडामा लिएका थिए। उक्त घरमा अवैध कारोबार हुने गरेको सूचना प्रहरीले पाएको थियो प्रहरी वृत सातदोबाटोले घर खानतलासी गर्दा अवैध रकम र सुन फेला परेको हो।
सुनसहित भारतीय नागरिक महाराष्ट्र प्रदेशका २८ वर्षीय युवराज विभुते, विक्रम यलवार र अभिलेख विभुते पक्राउ परेका छन्। त्यस्तै उनीहरूको काममा सघाउँदै आएका भक्तपुर सूर्यविनायकका सिद्धान्त चौलागाई, ललितपुर महालक्ष्मी-८ का यसवन्त सुनार पनि पक्राउ परेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त घरमा कोठा भाडामा लिएर उनीहरूले अवैध सुनको कारोबार गरेको प्रहरीको भनाइ छ। उनीहरूको साथबाट सुन पगाल्न प्रयोग हुने मेसिन पनि बरामद गरिएको छ। उनीहरूले अवैध सुनको गरगहना बनाएर बेच्ने गरेका थिए।