झापामा एक महिलाको हत्या, श्रीमान फरार
![झापामा एक महिलाको हत्या, श्रीमान फरार](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_Tk9k1lFzid_nFZmN5DLEv.jpg)
झापा : झापामा एक महिलाको हत्या भएको छ। झापा गाउँपालिका–३ कामाटोली निवासी अन्दाजी २७ वर्षीया अनिशाकुमारी गणेशको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अनिशाको टाउकोमा फलामे हम्मर प्रहार गरी हत्या गरिएको हो।
अनिशाको हत्या उनकै श्रीमान् सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बयान दिएका छन्। दिउँसो पौने ४ बजे दुई छोरी विद्यालयबाट घर फर्किएपछि आमा कोठामा रक्ताम्मे अवस्थामा खाटमा लडेको देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए।
त्यसपछि प्रहरी टोली घटनास्थल पुगेका थिए। घटना शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा हुनुपर्छ। सोही बेला सतिशलाई स्थानीयले अनिशाको घर आसपास देखेका थिए। अनिशा श्रीमान् सतिशलाई छाडेर दुई छोरीसहित छुट्टै बस्दै आएकी थिइन्। अनिशा र सतिशबीच सम्बन्ध राम्रो थिएन। सतिशले पहिला पनि श्रीमतीलाई कुटपिट गर्दै आइरहेका थिए।
उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटक पटक गाउँ छिमेकीमा सो विषयमा छलफल समेत भइसकेको स्थानीयले बताएका छन्। अनिशाको माइती घर झापा गाउँपालिका–७ पर्छ। यता प्रहरीका अनुसार घटनापश्चात् सतिश फरार रहेको र उनको खोजी कार्य भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)