१४ वर्षमा फर्कियो बेलायतमा लेबर

१४ वर्षमा फर्कियो बेलायतमा लेबर

लन्डन : बेलायतमा सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टीले भारी बहुमत प्राप्त गरेको छ। बिहीबार सम्पन्न निर्वाचनमा तल्लो सदन हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने कुल ६ सय ५० निर्वाचन क्षेत्रमध्ये लेबरले ४ सय १२ स्थानमा विजय हासिल गरेको छ। 

दुई तिहाइ नजिकको बहुमतसहित लेबर पार्टीका नेता सर केर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन्। र अन्ततः १४ वर्षदेखि निरन्तर सत्तामा रहेको कन्जरभेटिभ पार्टीको युगलाई समाप्त गर्दै लेबरले सत्तामा पुनरागमन गरेको छ। 

यसअघिका प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सत्तारूढ कन्जरभेटिभ पार्टी भने यो निर्वाचनमा नराम्रो पराजय भोग्न बाध्य बनेको छ। देशभरमा कन्जरभेटिभ पार्टीले मात्रै १ सय २१ सिटमा जित सुरक्षित गरेको छ। 

लिबरेल डेमोक्र्याट पार्टीले जम्मा ७ स्थानमा जित हासिल गरेर तेस्रो पार्टी बनेको छ। स्कटल्यान्ड आधारित स्कटिस नेसनल पार्टी जम्मा ९ सिटमा सीमित बनेको छ। पहिलोपटक निर्वाचन लडेको ब्रेक्जिट अभियन्ता नाइजेल फाराज नेतृत्वको कट्टरवादी रिफर्म यूकेले ४ सिट जितेको छ। 
सन् २०१९ मा सम्पन्न पछिल्लो आम निर्वाचनको तुलनामा लेबर पार्टीले झन्डै दोब्बर बढी स्थानमा जित हात पारेको छ। जसअनुसार उसलाई कमसेकम १ सय ७४ सिटको बहुमत प्राप्त भएको छ। 

लेबर पार्टीका लागि यो विजय सन् १९९७ मा तत्कालीन नेता टोनी ब्लेयरले हासिल गरेको १ सय ७९ को बहुमतकै हाराहारीमा हो।  तर कन्जरभेटिभ पार्टीले पछिल्लोपटक जितेका स्थानमध्ये एक तिहाइ स्थानमात्रै सुरक्षित गरेको छ। पार्टीको शीर्ष तहकै कयौं नेता र मन्त्रीहरूसमेत पराजित बनेका छन्। पूर्वप्रधानमन्त्री लिज ट्रस, पार्टीको भावी नेतृत्व दाबी गर्ने ठानिएकी कमन लिडर पेनी मोर्डन्ट, रक्षामन्त्री ग्र्यान्ट श्याप्स, पूर्वमन्त्री ज्याकव रिस मोगलगायतका प्रभावशाली नेतासहित सुनक मन्त्रिमण्डलका कयौं मन्त्रीसमेत सांसद निर्वाचित हुन असफल भएका छन्। 

बेलायती संसद्मा तेस्रा ठूलो दल बनेको लिबरल डेमोक्रयाटलाई पनि नतिजा ऐतिहासिक रूपमा सुखद बनेको छ। उसले प्राप्त गरेको कुल ७१ सिट पछिल्लो निर्वाचनको तुलनामा ६३ बढी हो। उता स्कटल्यान्डलाई बेलायतबाट अलग गराउनुपर्ने पक्षमा पैरवी गर्दै आएको स्कटिस नेसनल पार्टी पनि बढारिएको छ। पार्टीले अघिल्लो निर्वाचनमा पाएको ३८ सिट यसपटक गुमाएको छ। 

५८औं प्रधानमन्त्री बने स्टार्मर

लेबर पार्टीको भारी बहुमतसहित पार्टीका नेता सर केयर स्टार्मर बेलायतको ५८औं प्रधानमन्त्री नियुक्त भएका छन्। निर्वाचनको जितसँगै शुक्रबार मध्याह्न बकिङहम प्यालेस पुगेर राजा चाल्र्सलाई भेटेपछि उनी देशको नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन्। 

६१ वर्षीय नवनिर्वाचित प्रधानमन्त्री स्टार्मर सन् २०२०देखि बेलायतको तत्कालीन प्रमुख विपक्षी लेबर पार्टीको नेता रहँदै आएका थिए। त्यसअघि उनी सन् २०१५ देखि लन्डनको किङ क्रस एन्ड सेन्ट प्यांक्रास निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित हुँदै आएका छन्। 

स्टार्मरको पारिवारिक पृष्ठभूमि वर्किङ क्लास हो। उनका बाबु मिस्त्रीको रूपमा काम गर्थे भने आमा यहाँको नेसनल हेल्थ सर्भिसमा काम गर्ने नर्स थिइन्। स्टार्मर आफ्नो परिवारबाटै युनिभर्सिटी जाने पहिलो सदस्य थिए। 

राजनीतिमा आउनुअघि स्टार्मर एक कानुन व्यवसायी थिए। सन् १९८७ मा ब्यारिस्टर बनेका उनको विशेषज्ञता मानवअधिकारका क्षेत्रमा थियो। सन् २००८ मा क्राउन प्रोजिक्युसन सर्भिस (अभियोजन कार्यालय)को प्रमुख नियुक्त भएका उनले अपराधीहरूलाई न्यायको दायरामा ल्याउने कार्यमा विशेष योगदान गरेबापत राज्यबाट सम्मानित हुँदै सर केयर स्टार्मर बनेका थिए। 

स्टार्मरकी पत्नी भिक्टोरिया पनि नेसनल हेल्थ सर्भिसमै कार्यरत छन्। उनीहरूका एक छोरा र एक छोरी छन्। प्रधानमन्त्री नियुक्त भएलगत्तै स्टार्मरले सरकारी कार्यालय १० डाउनिङ स्ट्रिटबाहिर उभिएर आफ्नो पहिलो सम्बोधन गरे। 

त्यस क्रममा उनले आफ्नो चुनावी अभियानको प्रमुख नारा बनाएको परिवर्तनको मुद्दालाई नै जोड दिँदै भने, परिवर्तनको काम तत्काल सुरु हुन्छ। उनले देशलाई रिसेट गर्नुपर्ने आवश्यकता औंल्याउँदै गभर्मेन्ट अफ सर्भिस (सेवाको सरकार) प्रत्याभूति दिलाउने प्रतिबद्धता गरे। बेलायतमा एसिएन मूलको पहिलो प्रधानमन्त्रीका रूपमा ऋषि सुनकले हासिल गरेको उपलब्धि र देशको सेवामा पु¥याएको योगदानको उनले प्रशंसा गरे। 

डेढ दशकपछि सत्ताबाट बाहिरियो कन्जरभेटिभ 
डेढ दशकदेखि सत्तासीन कन्जरभेटिभ पार्टीले नमीठो हार व्यहोरेको छ। जुन पार्टीको लागि इतिहासकै नराम्रो पराजय हो, तर अप्रत्याशित होइन। महिनौंअघिदेखि भइरहेका निर्वाचन सर्वेक्षणहरूले यसपटक कन्जरभेटिभको हविगत अहिलेको नतिजाजस्तै आउने अनुमानहरू सार्वजनिक गरिरहेकै थिए। 

लेबर पार्टीको पराजय र कन्जरभेटिभ पार्टीको पराजयका पछाडि बहुकारण छन्। तर विगत डेढ दशकदेखि सत्ता हाँकिरहेको पार्टीप्रति आम बेलायती जनताको चरम असन्तुष्टि र निराशा सबैभन्दा महत्त्वपूर्ण छ। 

कन्जरभेटिभ पार्टीले सरकारका सञ्चालनका क्रममा आम जनताको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्न नसक्नुकै नतिजा आज व्यहोर्न पुगेको छ। 
बेलायतीहरूको जनजीवन नै कष्टकर बन्ने गरी चुलिएको महँगी, अस्पताल र जीपी सर्जरीमा स्वास्थ्य सेवा लिन झेल्नुपर्ने लामो पर्खाइदेखि बेरोजगारी, अनियन्त्रित इमिग्रेसनदेखि गहिरिएको वित्तीय संकटसम्म सबै कन्जरभेटिभ हारका कारक छन्। 

पाँच वर्षअघिकै निर्वाचनमा बहुमत प्राप्त गरेको पार्टी अहिले नै यो स्थानमा आउनमा भने पार्टीभित्रको आन्तरिक राजनीतिको अस्थिरताले पनि ठूलो भूमिका खेलेको छ। विशेषतः ऋषि सुनाकअघि जम्मा ६ साताको लागि प्रधानमन्त्री बनेकी पार्टी नेतृ लिज ट्रसको पालामा सार्वजनिक मिनी बजेटले देशको अर्थतन्त्रलाई नै अस्थिरता र अन्योलमा धकेल्ने मात्र हैन, पार्टीप्रतिको भरोसा र मतलाई समेत तत्काल पूर्ति गर्न नसक्ने गरी क्षति पु¥याउने काम गरेको ठानिएको छ । 

आर्थिक मन्दी सामना गरेको बेलायतमा खाद्य तथा उपभोग्य सामग्रीहरूदेखि इन्धन मूल्य र बैंकको ब्याजदरसमेतमा भएको चर्को वृद्धिले आम नागरिकको दैनिक जनजीवन नै अहिले कष्टकर बनेको छ। कोभिड महामारीका बेला कन्जरभेटिभ पार्टीले तत्कालीन अर्थमन्त्री ऋषि सुनककै अगुवाइमा कयौं राहत प्याकेजहरू पनि ल्यायो, तर आम जनताको आकांक्षा सम्बोधन गर्न पर्याप्त भएन।

युक्रेन र रसियाबीचको युद्धलाई पनि कन्जरभेटिभ पराजयको केही श्रेय अवश्य जान्छ। रसियासँगको व्यापार सम्बन्धको कटौतीकै कारण बेलायती जनताले इन्धन, खाद्यपदार्थजस्ता आधारभूत सामग्रीमै तीव्र मूल्यवृद्धि सामना गर्नुप¥यो। त्यसमाथि रसियाविरुद्धको लडाइँमा सघाउन युक्रेनलाई खन्याइरहेको ठूलो धनराशिकै क्षतिपूर्ति पनि जनताकोे काँधमा आयो। राजनीतिक तहमा युक्रेनमाथि बेलायतमा एकमतसहितको ऐक्यबद्धता र प्रतिबद्धता छ। तर आम रूपमा भने सरकार आफ्ना जनताको वास्ता नगरी युक्रेन युद्धमा काँध थाप्ने राजनीतिमा केन्द्रित भइरहेको बुझाइ पनि छ।  

प्राविधिक रूपमा निर्वाचनमा कन्जरभेटिभ पार्टीलाई सबैभन्दा ठूलो धक्का भने नयाँ दल रिफर्म पार्टीबाटै लाग्यो। ब्रेक्जिट अभियन्ता नाइजेल फाराज नेतृत्वको कट्टर दक्षिणपन्थी धारको पार्टीले अधिकांश मत कन्जरभेटिभबाटै काटेको ठानिन्छ। उक्त पार्टीले देशभरमा कुल मतको १४ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ। जबकि बहुमत प्राप्त गरेको लेबरले ३४ प्रतिशत र कन्जरभेटिभले २४ प्रतिशत मत पाएका छन्। 

ऋषिले लिए हारको जिम्मेवारी
लेबरको सत्तारोहणसँगै करिब डेढ दशकदेखि सत्तासीन कन्जरभेटिभ पार्टी सरकारबाट बाहिरिएको छ। पार्टीका नेता एवं प्रधानमन्त्री ऋषि सुनकले हारको जिम्मेवारी लिएका छन्। 

राजा चाल्र्सलाई भेटेर प्रधानमन्त्री पदबाट राजीनामा बुझाएपछि १० डाउनिङ स्ट्रिटस्थित सरकारी कार्यालय परिसरबाट आफ्नो अन्तिम सम्बोधन गर्दै उनले भने, आई एम सरी। 

उनले निर्वाचनको नतिजाबाट जनताको अपेक्षाअनुसार आफू नेतृत्वको पार्टीले काम गर्न नसकेको र जनतामा असन्तुष्टि पैदा भएको सन्देश आफूले लिएको उनले बताए। सोही सम्बोधनका क्रममा उनले पार्टीको नेताबाट समेत पछि हट्ने घोषणा गरे। तर पार्टीको नयाँ नेता चयन नहुुँदासम्म आफू निरन्तर रहने उनले जानकारी गराए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.