बाजुरा र अछामका केही ठाउँमा विद्युत अवरुद्ध
बाजुरा : लगातारको वर्षातका कारण रुख ढलेर विद्युतको पोल ढलेर तार चुँडाएपछि बाजुरा लगायत अछाम जिल्लाका केही ठाउँमा ३३ केभी राष्ट्रिय प्रसारण लाइन विद्युत सेवा अवरुद्ध भएको छ।
केही दिनदेखि लगातारको अविरल वर्षाका कारण अछामको बुढाबगरमा सालको रूख ढलेर बिजुलीको पोल भाँचिएर क्षति भएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध भएको हो।
शनिबार बिहान ३३ केभी राष्ट्रिय प्रसारण लाइनअन्तर्गत साँफे–मार्तडीको बुढाबगरमा बिजुलीको पोल ढले पछि अछामका केही स्थान र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए।
अवरुद्ध विद्युत सेवा सुरु गर्नका लागि बाजुरा र अछामबाट जनशक्ति परिचालन गरिएको छ। अविरल वर्षाका कारण मर्मत कार्यमा समेत समस्या भई रहेकोले विद्युत आउन समय लाग्ने प्रमुख झाले बताए।
बाजुरा जोड्ने राष्ट्रिय प्रसारण लाइन लामो भएकाले पहाड जंगल हुँदै ल्याइएको छ वर्षातको समय बाढी पहिरो रुख ढलेर विद्युत लाइन बिग्रने समस्या बढी नै रहेको छ। बाजुरा सदरमुकाम र साँफेबगरमा वितरण केन्द्रबाट रुख ढलेर अवरुद्ध भएको ठाउँ पुग्न समय लाग्ने भएकोले विद्युत मर्मतमा समय लाग्ने भएकोले सेवा प्रवाहमा समस्या भएको छ।