किरिया कर्ममा बस्दा पनि जनताकै सेवा !

किरिया कर्ममा बस्दा पनि जनताकै सेवा !
बाबुको किरिया बस्दा पनि काम गर्दै दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्रराज घिमिरे।
सुन्नुहोस्

बेंसीसहर : सामान्यतयाः किरियापुत्रीले किरियाकर्मबाहेक अन्य काम गर्नुहुँदैन भन्ने मान्यता छ। हुन पनि शोकमा रहेका बेला दिवंगतको सम्झानामा किरियाकर्म गर्ने, इष्टमित्र, छिमेकी र साथीभाइहरूबाट समवेदना ग्रहण गर्दैमा किरियापुत्रीको दिन बित्छ। 

लमजुङको राइनास नगरपालिका–१ साहिँलीटारका नरेन्द्रराज घिमिरे भने किरिया कर्ममा रहे पनि जनताको सेवा प्रवाहमा खटिरहेका छन्। घिमिरे लमजुङकै दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्। उनलाई अहिले पितृशोक परेको छ। उनका पिता दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा गत असार १९ गते निधन भयो। हाल उनी पिताको किरिया कर्मका लागि घरमा छन्। तर, घिमिरेले जनताको सेवा प्रवाहमा असर नपरोस भनेर नियमित काममा खटिरहेका छन्।

आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी छ। आर्थिक वर्ष सकिन लाग्दा आर्थिक कारोबार बन्द हुने भएकाले यतिबेला सरकारी कार्यालयहरूमा चापाचाप छ। विशेषगरी यो आर्थिक वर्षभरि सञ्चालन भएका योजना, कार्यालयमा हुने अन्य थुप्रै काम कारबाही र कर्मचारीका तलबभक्ताको भुक्तानी दिने समय भएकाले पनि कार्यालयमा चाप बढेको हो।

सरकारी कार्यालयसँगै स्थानीय तहहरूको आर्थिक भुक्तानीको काम भ्याइनभ्याइ छ। वर्षभरि सञ्चालन भएका योजनाको बाँकी भुक्तानी लिन पालिकाहरूमा सरोकारवालाहरूको भीड छ। कार्यालयका प्रमुखलाई तोक लगाउँदैमा र लेखा अधिकृतलाई भुक्तानी दिन भ्याइनभ्याइ छ।

‘आर्थिक वर्ष सकिन लागेकाले विकास निर्माणका भुक्तानी, कर्मचारीको तलबलगायतका महत्वपूर्ण कामहरू ओझेलमा नपरोस् भन्ने छ। त्यसैले किरियाकर्ममा भए पनि कार्यालयको काम गरिरहेको छु’, लेखापाल घिमिरेले भने। 

बुबाको किरियामा रहे पनि उनले कार्यालयको काम छोडेका छैनन्। सामान्यतयाः किरियापुत्रीले किरियाकर्मबाहेक अन्य काम गर्न हुँदैन भनिन्छ। तर, घिमिरेले यतिबेला कार्यालयको काम नगर्ने हो भने धेरैजसोको आर्थिक चौपट हुन्छ। कार्यालयबाट सम्पादन हुने कैयौं योजनाको भुक्तानीदेखि कार्यालयका कर्मचारीहरूको तलब भत्तासमेत रोकिन्छ।

लेखा अधिकृतको पदीय जिम्मेवारीले घिमिरेले घरबाटै कार्यालयको काम गरिरहेका छन्। उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा मेरा कारणले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर घरबाटै भए पनि नियमित रूपमा कार्यालयको काम गरिरहेको छु।’

कार्यालयको लेखासँग सम्बन्धित सबै काम घिमिरेकै जिम्मामा हुन्छ। उनको अनुपस्थितिले कार्यालयका दैनिक कामकाज प्रभावित हुन्छन्। तर, प्रविधिको सहयोगमा घरबाटै कार्यालयको काम गर्न पाउँदा सन्तोष लागेको उनले बताए। किरियामा बसेका घिमिरेलाई गाउँपालिकाको कार्यालयले घरमै आवश्यक फाइलहरू लगिदिएको छ। ती फाइल र बिल भरपाईहरू हेरेर उनले घरबाट इन्टरनेटको माध्यमले भुक्तानी गरिरहेका छन्। दूधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले  लेखा अधिकृत किरियामा रहे पनि उनले सम्पादन गर्नुपर्ने काम घरबाटै गरिरहेका र कुनै पनि काम नरोकिएको बताए।

हुन त सरकारी नियमअनुसार उनले पिताको किरियाका लागि १५ दिनको बिदा पाउँछन्। यो बिदामा उनलाई काम गर्न पर्दैन। तर, आर्थिक वर्षको समाप्तिका बेला उनले काम नगर्दा कार्यालयबाट हुनुपर्ने भुक्तानी रोकिएर धेरै समस्या आउन सक्ने भएकाले घरबाटै भए पनि कार्यालयको काम गरेको उनले बताए।

गाउँपालिकाका प्रशासन प्रमुख रमण बरालले गाउँपालिकाबाट भुक्तानीका लागि आवश्यक कागजातसहितको फाइल राइनासको साहिँलीटारस्थित लेखा अधिकृत घिमिरेको घरमा पुर्‍याउने गरिएको बताए। घिमिरेले किरियामा बसेर पनि कार्यालयको काम गरिरहेकाले भुक्तानीको काम नरोकिएको गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बताए। दुःखको अवस्थामा पनि जनताको सेवा गरेकोमा सेवाग्राही भने खुसी भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.