गृहमन्त्रीज्यू, तपाईंको मुटु कस्तो छ ?

गृहमन्त्रीज्यू, तपाईंको मुटु कस्तो छ ?

संवेदनशील, पराक्रमी वा कुन मुटु छ गृहमन्त्रीसँग ? माछा वा भ्यागुताको झैं दुई वा तीन कोठाको मुटु अवश्य छैन होला।

उपप्रधान तथा गृहमन्त्री र मन्त्रालय सम्बद्ध विषयमा उठेका प्रश्नबारे असार १० गते संसद्मा जवाफ दिए गृहमन्त्री रवि लामिछानेले। उनले विविध विषयमा जानकारी दिने क्रममा गृह मन्त्रालयको उपलब्धिबारेको प्रतिवेदन पेस गरेका हुन्। जहाँ उनले ‘संसारमा नै दह्रो मुटु भएको मान्छे रवि लामिछाने हो’ भनेर घोषणा गरे। हुन त उनी मुटु रोग विशेषज्ञ होइनन्। राजनीतिकर्मी हुन् तर उनले आफ्नो मुटुको यसरी बढाइचढाइ गरे कि उनको मुटु संसारमा नै दह्रो भएको कुरा उनकै मुखबाट संसद्को रोस्टमबाट दुनियाँले सुन्नु पर्‍यो।

मूलतः कोही कति दह्रो, कति बलियो र कति साहसी छ भन्ने वर्णन अर्काको मुखबाट सुनिन्छ, सुनाइन्छ। तर देशका उपप्रधानमन्त्रीले आफ्नै मुखबाट आफ्नो बखान प्रस्तुत गरे। आफ्नो बखान आफैं गर्ने संस्कृति निको मान्ने चलन संसारमा सायदै होला ! कामको वर्णन र प्रशंसा मुखले होइन, कामले गर्छ। मुख पनि आफ्नो होइन, अर्काको मुखले गरेको प्रशंसा बढी प्रभावकारी हुन्छ र त्यसले सामाजिक स्वीकृति अर्थात् वैधता प्राप्त गर्छ। आत्मश्लाघा एक प्रकारको रोग हो। 

जसरी प्रत्येक मान्छेमा पागलपन रहेको स्वीकार गरिन्न र थाहा पाइन्न, त्यसैगरी आत्मश्लाघा भन्ने रोगको बारेमा सम्बन्धित पक्ष अनविज्ञ रहन्छ। यस्तो रोगको बारेमा अरूले जानकारी दिएको शायद कसैलाई मन पर्दैन र त्यसलाई आलोचना भनेर बुझिन्छ। आफ्नाले पनि यसबारे जानकारी दिएको मन पर्दैन। यद्यपि आफ्नालाई त्यो अप्रिय तर सत्य कुरा भन्ने अधिकार रहन्छ। त्यसका लागि पनि लामिछानेले भने झैं मुटु भएको मान्छे चाहिन्छ। उनको निर्णयविरुद्ध राय बझाउने र उनलाई अप्रितिकर लाग्ने कुरा भन्ने साहसी मुटु भएको नेतृत्व रास्वपासँग छ कि छैन ? छ भने त्यो अपवाद होला। अपवाद एउटा नियममात्रै हो। स्वभाव र सामान्यीकरणको नियम होइन।

मुटु रोग विशेषगज्ञले स्वस्थ मुटुको परिचय दिए झैं चार कोठा भएको मुटुमा दायाँतर्फको दुई कोठाबाट, अक्सिजन कम भएको नीलो रगत र बायाँतर्फबाट अक्सिजनले भरिपूर्ण रातो रगत बहने मुटु हुन्छ। तपाईंसँग कस्तो मुटु छ ? गृहमन्त्रीज्यू ? 

गृहमन्त्रीको ‘मुटु चाहिन्छ मुटु’ भन्ने उद्घोष उसै आएको भने थिएन। विगतमा नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा मुटु चेक गर्नुपर्‍यो र मुटु कस्तो छ भनी प्रश्न गरेका थिए। ठूला माछा समात्न नसकेको र समातेकालाई पनि छोडेको आरोप गर्दै प्रतिपक्षी बेन्चबाट सिंहनाद गरेका थिए टेलिभिजन प्रस्तोता भएर सरकार र पार्टीहरूलाई अनगिन्ती पटक ललाकारेका थिए। विगतका उनले गर्दै आएका हरेक प्रश्न आज रवि लामिछानेतिरै सोझिएका छन्। त्यसैमध्येको प्रश्न थियो– गृहमन्त्रीको मुटु कति दह्रो र बलियो छ भन्ने सांसदहरूको प्रश्न पनि। उनले आफूलाई कहिल्यै र कुनै पनि मानेमा कमजोर निरीह र कानुनको उल्लंघनकर्ता मानेका छैनन्। यो उनको भ्रम हो नत्र उनी चेतेका देखिँदैनन्। उनी कति भ्रममा थिए र छन् भन्ने कुरा २०७९ माघ १३ गतेको सर्वाेच्च अदालतको फैसला दृष्टान्त नै छ।

न्युज ट्वान्टिफोर टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै गर्दा २०७४ माघ २८ गते रविविरुद्ध नुवाकोटका लक्ष्मण विकले लामिछाने अमेरिकी आप्रवासी भिसा लिई नेपालमा अनुमतिबेगर बस्दै आएका व्यक्ति हुन्, जसले सूचना विभागको नियमसमेत पालना नगरी नेपाली सञ्चारमाध्यममा काम गरिरहेका छन् भनेर २०७४ सालमा किशोर श्रेष्ठ प्रेस काउन्सिलको अध्यक्ष हुँदा उजुरी दिएका थिए। सो उजुरीउपर कारबाही हुँदा रविले प्रेस प्रतिनिधि प्रमाणपत्र नलिएको खुलासा भयो र रविले प्रेस काउन्सिलको प्रतिवाद गर्दा जुन भाषा, शैली र दाबी पेस गरे, त्यो नेपालको कानुनको खिलाफमा थियो। उनले सूचना विभागको प्रेस पास लिनुभन्दा आफू दोबाटोमा जुत्ता पालिस गरेर बस्ने भनेर दिएको जबाफको रवाफ नै अन्ततः उपप्रधानमन्त्रीसहित गृहमन्त्री, सांसद पद र रास्वपाको पार्टी सभापति र सदस्य पदसमेत गुमाउनु परेको कुरा यहाँ स्मरणीय छ।

कुनै दम्भ र अभिमान नराखी प्रेस प्रतिनिधि कार्ड लिने प्रयत्न गरेको भए आजसम्म आइपरेका लफडा त्यतिबेला नै हल हुने थिए रविका। त्यसयता पनि उनले सार्वजनिक वृत्तमा आफूबारे उठेका प्रश्न पासपोर्ट विवाद सहकारी विवाद आदिलाई इन्कार गर्दै आएका छन्। प्रतिपक्षमा बस्दा र सत्तापक्षमा बस्दा दोहोरो मापदण्ड लिएर बसेको बारे रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई नैतिक अप्ठेरो परेको कुरा बारम्बार सार्वजनिक गर्दै आएको विषय हो। यसर्थ मुखले जे भने पनि रविमा इमान र नैतिकताको प्रश्न भने सत्य उजागर नहुञ्जेल रहिरहन्छ। तीनवटा श्रीमती ल्याइसकेको मान्छेले बहुविवाह गर्‍यो भनेर नागरिकलाई दण्ड दिने नैतिक हक अवश्य रहन्न।

नागरिकता विवाद साम्य भए पनि पासपोर्टको मुद्दा कुनै पनि बेला उधिन्न सक्ने र सहकारी प्रकरणको मुद्दा संसदीय न्यायिक निरूपणकै अवस्थामा रहेको बेला गृहमन्त्रीमा नै बसिरहने नैतिकता लामिछानेकै अवधारणाअन्तर्गत गलत हो। तपाईंले लेख्नु भएको थियो, ‘प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ र अविलम्ब छानबिन सुरु हुनुपर्छ। राजीनामा नदिए कार्यकक्षबाटै पक्राउ गरिनुपर्छ।’ यो भनाइ तपाईंकै थियो र हो भने आफ्नो हकमा कथनी र करणीमा किन भिन्नता आयो ? पक्कै यो प्रश्न गर्न पाउने हक आमनागरिकलाई छ।

‘मुटु भएको मान्छेले फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्, संसद्मा होइनन्’ भन्ने मान्छे आज जसलाई तपाईंले थुन्नुपर्छ भन्नुभयो क्यान्टोन्मेन्ट र गिरीबन्धु टी स्टेटको फाइल खोल्ने कुरा गर्नु भएको थियो। उहाँहरूलाई काखा पोल्टामा बसेर तपाईंले चरितार्थ गर्नु भएको के हो ? काखमा बसाउनेलाई थुन्न नसक्ने मुटु फिस्टे चराको जस्तो भनियो भने अन्यथा होला नहोला ? सिंहको मुटु हुनेलाई बूढानीलकण्ठतिर म्याडमलाई लिन प्रहरी पठाउन केले छेकबार गर्‍यो ? देशको आन्तरिक सूचना बेच्ने विपक्षी दलका महामन्त्रीलाई  झ्याइँकुटी पारेर मामाघर राख्न किन सक्नु भएन ?
खतरासँग खेल्ने अर्थात् अत्यन्तै ठूलो जोखिम मोल्नेहरूलाई चलनचल्तीको भाषामा मुटु नभएको भनेर उपमा दिइन्छ। मुटु नहुनुको अर्थ हो हिम्मतिलो नहुनु। त्यस्तै हिम्मतिलो पात्र र प्रवृत्ति जसको हिम्मतमा सबै किसिमका भ्रष्टाचार विकृति र विसंगतिबारे बोलेर सूचना प्रवाह, सामाजिक काम गरेर धेरैको पाप छताछुल्ल पार्नेसम्मको काम गर्दा रवि लामिछानेसँग मुटु थिएन ?

मुटु चाहिन्छ भन्नुको मतलव पनि हिम्मतिलो मुटु हुनु नै हो। जसले वीरतापूर्ण कार्य गर्छ। फराकिलो मुटु कठोर मुटु हिम्मतिला मुटुका दुई परिभाषा हुन्। कठोर मुटु हुनुको प्रमाण तपाईंले बारम्बार प्रकट गर्नु भएको छ। त्यही मुटुकै कारण पार्टी गठन भएको ६ महिना नपुग्दै २१ सांसदसहित उपप्रधानमन्त्री बन्नु हो। मानव मुटुविहीन हुँदैन तर मुटुको विशेषता हुन्छ। आकार तौल र सानो ठूलो मुटुको बनोटको आधारमा यसको विशेषता उल्लेख हुँदैन, केवल मान्छेको सोच्ने विवेक पुर्‍याउने र कार्य गर्ने क्षमताको आधारमा मुटु हुने मान्छे मुटु नहुने मान्छे, कोमल मुटुको मान्छे र कठोर मुटुको मान्छे, साधारण मुटुको मान्छे र असाधारण मुटु हुने मान्छे भनेर चिनिन्छ। संवेदनशील मुटु, पराक्रमी मुटु वा कुन मुटु छ आजकल गृहमन्त्रीसँग ? माछाको झैं दुई कोठा, भ्यागुताको झैं तीन कोठा भएको मुटु निश्चय नै छैन होला। मुटु रोग विशेषगज्ञले स्वस्थ मुटुको परिचय दिए झैं चार कोठा भएको मुटुमा दायाँतर्फको दुई कोठाबाट, अक्सिजन कम भएको नीलो रगत र बायाँतर्फबाट अक्सिजनले भरिपूर्ण रातो रगत बहने मुटु हुन्छ। तपाईंसँग कस्तो मुटु छ ? गृहमन्त्रीज्यू ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.