कञ्चनपुरका अधिकांश बस्ती डुबानमा, घरभित्र बाढी पस्दा सात महिने शिशुको मृत्यु
महेन्द्रनगर : लगातारको वर्षापछि कञ्चनपुर जिल्लामा ७० प्रतिशत डुबान भएको छ। महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन्।
जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन। महेन्द्रनगर बजार क्षेत्र बेदकोट,शुक्लाफाँटा,कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार ६ सय २२ जना को उद्धार गरि सुरक्षित स्थानमा सारिएको बताए। ‘बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन।’ उनले भने,‘डुबानबाट प्रभावितहरुलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ।’
निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। बाढी बढ्दै गएका कारण टोल पूरै विस्थापित हुन सक्ने देखिएको छ। बाढीकै कारण कञ्चनपुरको पुनर्वास–कैलालीको धनगढी हुलाकी राजमार्गको आवतजावत बन्द भएको छ।
घरभित्र बाढी पस्दा सात महिने शिशको मृत्यु
यसैबीच कञ्चनपुरमा घरभित्र बाढी पस्दा सात महिने शिशको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुबान हुँदा घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ।