अल्पमतमा परेपछि प्रचण्डलाई एक सेकेण्ड पनि सरकारका बस्ने नैतिक आधार छैन : सांसद गैरे
काठमाडौं : नेकपा एमालेका सांसद ठाकुर गैरेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले लोकतान्त्रिक शासनमा अल्पमतमा परेपछि एक सेकेण्डपनि सरकारका बस्ने नैतिक आधार नरहने धारणा राखेका हुन्।
उनले सरकार घोर अल्पमतमा परेपनि निरोले बाँसुरी बजाए झैं बजाइरहेको दाबी गरे।‘सरकारको कुरा के गर्नु हामीले बेला बेलामा सुन्दै आएको,पढ्दै आएको आजपनि उद्धरण हुँदै गरेको कुरा रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेको जस्तै देशमा सरकार घोर अल्पमतमा परेको छ, तर बाँसुरी बजाइरहेको छ। सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ। बरु उडायो सबै सपनाहरु हुरीले भन्ने गीत गाए हुने नि !’
गैरेले सरकारले बहुमत गुमाएपछि कुनै धारा,उपधारा खोजेर बस्नु नपर्ने धारणा राखे। ‘आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारा-पानी खोज्दै हुनुहुन्छ ,संविधानमा प्वाल खोज्दै हुनुहुन्छ, सरकारलाई अस्थिरतातर्फ, बेथितितर्फ, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ र यहीँ सदनमा पनि अनेकन तर्क, विर्तकहरु गर्ने कोसिस गरिँदैछ।’ सांसद गैरेले भने,‘देशमा उत्पन्न भएका समस्या समाधान गर्नका लागि,लोकतान्त्रिक शासन व्यवस्थामा सरकार अल्पमतमा परिसकेपछि,सरकारले बहुमत गुमाएपछि कुनै धारा,उपधारा खोज्नुपर्ने कुनै कारण छैन र त्यो भनेको नैतिक रुपले सरकार लोकतान्त्रिक प्रणालीमा बहुमत गुमाएपछि एक मिनेट होइन, सेकेण्डपनि बस्ने कुरा नैतिक आधार रहँदैन।’
उनले मुलुक प्राकृतिक प्रकोपको विपतीमा परेको भन्दै मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन अनुरोध गरे। उनले वर्ष शुरु भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताए।