दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डमा १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने
काठमाडौं : प्रतिष्ठित विद्युतीय गाडी कम्पनि दिगोले अब नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने भएको छ।
१०० किलोवाट पीक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ भने ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पीक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ।
विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माता सिएटीएलले बनाएको लिथियम आयन फस्फेट ब्याट्री भएको १६ सिटर गाडीले एक पटकको फुल चार्जमा ३२० किलोमीटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमीटर सम्म गुड्ने दिगोले दाबी गरेको छ।
बढी मान्छे बोक्न सक्ने क्षमताको साथै बढी रेन्ज भएकोले यी गाडीहरू व्यवसायीका लागि एकदम लाभदायी रहेका छन्। दिगोले मूल्य नतोके पनि अहिले बजारमा भएको अन्य गाडीहरू भन्दा उपयुक्त मूल्यमा र ग्राहकलाई बढी फाइदा हुनेगरी यी गाडीहरू भित्राउन लागेको भनेर जनाएको छ।
बजारको माग हेर्दै दशैंलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर विद्युतीय गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ। बुकिङ खुलेको सानो समयमै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ भइसकेको पनि दिगोले सार्वजनिक गरेको छ।
दिगो ग्रुप नेपालमा पछिल्लो दशक देखि विद्युतीय गाडी तथा यसको इकोसिस्टममा काम गर्दै आएको छ। दिगो ग्रुप नेपालमा डीएफएसके, सिएचटिसी मोटर्स, जेएसी ईभी गाडीहरूको साथै विश्वकै सबैभन्दा ठुलो चार्जर कम्पनि स्टारचार्जको अधिकारक वितरक हो।