ढल्केवर(धनुषा) : होर्डिङ बोर्ड छ ‘उपचार’को। नाममा जोडिएको छ ‘पोलिक्लिनिक’। त्यसमा न क्लिनिकको दर्ता प्रमाण। न त कुनै चिकित्सकको नाम। त्यो हो, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित सखुवा रोडमा रहेको प्रभात पोलिक्लिनिक एण्ड अकुपञ्चर सेन्टर। त्यही क्लिनिकमा ३६ दिन भर्ना भएकी धनुषाको बटेश्वर गाउँपालिका–४ की ६८ वर्षीया गायत्री देवी महतो ओछ्यानमा थलिएकी छिन्।
ब्लडप्रेसर र मधुमेहले ग्रसित गायत्री गत वैशाख ११ गते त्यहाँ पोलिक्लिनिकमा भर्ना हुँदा सामान्य अवस्थामै थिइन्। गायत्रीका श्रीमान राम हृदय महतोलाई क्लिनिकका सञ्चालक रामबाबु महतोले बिरामीलाई एक साता मात्रै भर्ना गरे मधुमेह च्वाट्टै पारेर घर फर्काइदिने प्रलोभन देखाएपछि गायत्रीलाई भर्ना गरेका थिए। एक साताका लागि भर्ना गरिएकी गायत्रीलाई त्यहाँ चार सातासम्म राख्दा बिरामीको अवस्था सुधारको साटो झनै बिग्रेको बिरामीका आफन्तजनको आरोप छ।
रोजगारीको सिलसिलामा बुटवल बस्दै आएका गायत्रीका छोरा वसन्त भन्छन्, ‘सुरुमा ममीलाई हस्पिटलमा राखिएको भनेर घरबाट मलाई जानकारी गराइयो। अवस्था बिग्रिएको थाहा पाएपछि साथीलाई पठाउँदा फर्जी क्लिनिकमा राखिएको रहेछ। उपचारमा खटिएको भनिएका चिकित्सक पनि ‘नन मेडिकल’ फिल्डका पो रहेछन्। त्यतिन्जेलसम्म ममीको अवस्था पुरै बिग्रिसकेको थियो। मान्छे चिन्न छाडिसक्नुभको थियो।’
भर्ना गरिएको पोलिक्लिनिकबाट ३६ औं दिनमा जबरजस्ती बिरामीलाई आफूहरूले काठमाडौं लगेको वसन्त बताउँछन्। काठमाडौंको उपेन्द्र देवकोटा मेमोरीयल हस्पिटलमा चेकजाँचपछि बिरामीको वास्तविक अवस्था र पोलिक्लिनिको बदमासी थाहा भएको उनी सुनाउँछन्। ‘त्यहाँको रिपोर्टले बिरामी अवस्था नाजुक रहेको देखियो,’ त्यहाँका चिकित्सको भनाइलाई उद्धृत गर्दै वसन्तले भने ‘बिरामीको मस्तिकमा ब्लकेज छ। सुरुमै ल्याइएको भए मेडिसिनबाटै निको पार्न सकिन्थ्यो। अहिले त्यहाँको नशा सुकिसकेको छ। अप्रेसन गर्ने अवस्था पनि रहेन।’
त्यहाँको सामान्य औषधिले तत्कालै बिरामीलाई केही सुधार भएको उनी बताउँछन्। चिकित्सकको सल्लाहमै घर बिरामीलाई ल्याएर जनकपुरको न्यूरो हस्पिटलमा फ्लोअप गराइरहेको वसन्तको भनाई छ। ममि अहिले मृत्युसँग लडिरहेको उनले दुखेसो पोखे।
महेन्द्रनगरको पोलिक्लिनिकमा नक्कली चिकित्सकले उपचार गरेर बिरामीलाई मरणासन्न बनाइदिएको वसन्तको आरोप छ। ‘त्यहाँ ममिलाई जथाभावी ‘हाई पावर’ र म्याद गुज्रेका औषधिहरू खुवाएका रहेछन्। पैसा कुम्ल्याउने चक्करमा नक्कली चिकित्सकले बिरामीलाई मार्न खोजे,’ उनले भने।
वसन्तले बिरामीलाई ३६ दिनसम्म झुक्याई छलकपट गरी मानव शरीरमा खेलवाड गरेकोले पोलिक्लिनिकका सञ्चालकलाई कानून बमोजिमको कारबाही गरी तत्कालै उक्त पोलिक्लिनिक शिलबन्दी गर्न गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, क्षीरेश्वरनाथ नगरपालिकामा उजुरीसमेत गरेका छन्। तर प्रहरी प्रशासन कारवाही गर्नुको साटो पोलिक्लिनिक र त्यसका सञ्चालकलाई संरक्षण गरिरहेको वसन्तले आरोप लगाए।
पोलिक्लिनिकको बोर्डमा उल्लेख भएको पान नम्बर पनि फर्जी रहेको पाइएको छ। त्यो नम्बरको रेकर्ड आन्तरिक राजश्व कार्यालयमा नरहेको भेटिएको हो। ‘त्यहाँ बोर्डमा हालेको पान नम्बरको रेकर्ड मिलिरहेको छैन। फर्जी वा टाइपिङ मिस्टेक मध्ये एउटा कारण हुनसक्छ,’ आन्तरिक राजश्व कार्यालयमा कार्यरत एक कर्मचारीले भने।
अहिले पोलिक्लिनिक बन्द गरेर त्यसका सञ्चालक रामबाबु महतो सम्पर्कविहीन छन्। प्रतिक्रियाका लागि पटकपटक फोन सम्पर्क गर्न खोज्दा पनि उनको फोन लागेन। यता धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवा यो केसमा प्रहरी गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताउँछन्। ‘हामीले अनुसन्धान गरिरहेका छौं। पोलिक्लिनिक र चिकित्सकको विषयमा बुझ्ने ठाउँमा पत्र काटिसकेका छौ। अनुसन्धान भई नै रहेकोले अहिले धेरै कुराहरू भन्न मिल्दैन,’ प्रहरी नायव उपरीक्षक अवाले भने।
क्षीरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर यादव घटना भनिएको पोलिक्लिनिकको दर्ता विषयमा नगरपालिकालाई कुनै जानकारी नभएको बताउँछन्। ‘यहाँ दर्ता भएको कुनै प्रमाण छैन। हामी दुई/तीन दिन भित्रै प्रशासनसँग समन्वय गरेर केही निचोड निकाल्छौं। अवैध ठहर भयो भने शिलबन्दी गर्छौ। कारबाही हुन्छ,’ स्वास्थ्य शाखा संयोजक यादवले भने।