साता दिनमै स्याङ्जामा १० को मृत्यु, ७ घाइते

साता दिनमै स्याङ्जामा १० को मृत्यु, ७ घाइते
सुन्नुहोस्

स्याङ्जा : यसपटक स्याङ्जा मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको भन्दै विपद् व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउन सूचित गरेको छ। 

प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा उच्च जोखिममा रहेको बताइएको छ। अघिल्ला वर्षहरूका तुलनामा यस वर्ष स्याङ्जामा अत्यधिक वर्षा भएको छ। वर्षा सुरु भएसँगै जिल्लामा मानवीय एवं भौतिक क्षतिका धेरै घटनामा पनि वृद्धि भएका छन्। एक साताभित्रमा जिल्लामा १० जनाको ज्यान गइसकेको छ भने ७ जना घाइते छन्। करोडौं मूल्य बराबरका धनजनको क्षति भएको छ। 

बाढी र पहिरोमा परेर ज्यान जानेमा बिरुवा गाउँपालिकाका ३, फेदिखोला गाउँपालिकाका २, आँधीखोला गाउँपालिकाका २, पुतलीबजार नगरपालिकाका १ जना र भीरकोट नगरपालिकाका दुई जना छन्। बिरुवा गाउँपालिकामा ५ जना र आँधीखोला गाउँपालिकाका २ जना घाइते छन्। भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला गाउँपालिकाका बस्ती नै जोखिममा छन्। कैयौं घरहरू बाढी पहिरोका चपेटामा परेका छन्।

विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूलाई विपद्बाट भएका धनजनको क्षतिको जानकारी गराउँदै सहायक प्रजिअ दीपक पौडेलले ती मानवीय क्षतिसँगै ६ वटा घर पूर्ण रूपमा नष्ट भएको र ५ वटा घर जोखिममा रहेको जानकारी गराए। 

यसैगरी, ८ वटा पशुचौपाया (भैंसी, बाख्रा) मरेका, २ वटा गोरु बगेर बेपत्ता भएको र एउटा भैंसी घाइते भएको जानकारी दिए। वर्षात् र पहिराका कारण दर्जनभन्दा धेरै स्थानमा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ। खाल्डाखुल्डी हुनुका साथै केही स्थानमा राजमार्ग चिरा परेर भासिएको छ। स्थानीय पालिका र सडक कार्यालयका डोजरले तत्कालका लागि पहिरो पन्छाउने काम गरे पनि राजमार्गअन्तर्गत सडकखण्डका कैयौं स्थानमा भएका खाल्डाखुल्डीले आवतजावतमा भने निकै कठिनाइ पार्दै आएको छ। 

राजमार्गका छेउछाउबाट ठूला सानागरी दर्जनौं ठाउँमा खसेका बाढी, पहिरोलाई स्थानीय पालिकाले खुलाउने क्रम पनि जारी छ। आँधीखोला किनारका सयौं रोपनी धानखेत बगरमा परिणत भएका छन्। धानखेतमा बाढी पस्दा सयौं हेक्टरमा रोपिएका धानवाली नष्ट भएका छन्।

सबैभन्दा पहिले मानवीय सेवा गर्नुपर्ने जनाउँदै विपद्का समयमा खाद्यान्न, खानेपानी, स्वास्थ्योपचार, बिजुली बत्ती, इन्टरनेट जस्ता वस्तु तथा उपकरणको व्यवस्थापन मिलाउनसमेत प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सरोकारवाला सबैलाई सुझाव दिइन्। 

जोखिमपूर्ण घर पहिचान गरी सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन सबै पालिकाहरूले तयारी गर्नुपर्ने उनको भनाइ छ। विपत्तिका बेला सबैले आ–आफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दैै तोकिएको भन्दा बढी मूल्य लिनेलाई कालोबजारीमा मुद्दा लगाइने उनले बताइन्। पुतलीबजार नगरपालिकामा मानवीयसँगै घर गोठ, सडक, जमिनमा क्षति पुगेको उपप्रमुख देवी अर्यालको भनाइ छ। सिद्धार्थ राजमार्गसहित भित्री सडकमा बाढी पहिराले असर पारेको जनाउँदै प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेको र स्थानीय डोजरलगायत उपकरण पठाएर बाढी पन्छाउनुका साथै आवश्यक सहयोगका काम भइरहेको जानकारी उनले दिइन्। 

बैठकका सुरक्षा निकाय प्रमुखहरू, नागरिक समाज, स्वास्थ्य तथा अस्पताल प्रमुख, उद्योग वाणिज्य संघ स्याङ्जा, च्याम्बर अफ कमर्श, उपभोक्ता मञ्च, गैरसरकारी संस्था महासंघ, रेडक्रसलगायतले आआफ्ना क्षेत्रबाट हुने आवश्यकीय सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै सल्लाह सुझाव दिएका थिए। करिब एक महिनाअघि स्याङ्जा प्रशासनमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ। मनसुनजन्य विपद् प्रभावितलाई राहत दिने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको हो। 

विपत्तीका बेला तत्काल सहयोग तथा राहत उपलब्ध गराउन सहज बनाउन सकिने भन्दै जिल्लाका ११ वटा स्थानीय पालिकामा पनि विपत् सहायता कक्षहरू स्थापना गर्न सुझाइएको छ। आफूलाई प्राप्त सूचना तत्काल सार्वजनिक गर्न समेत समितिको आग्रह छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.