आशा जगाउने लाहानका सामुदायिक विद्यालय

आशा जगाउने लाहानका सामुदायिक विद्यालय
लहान नगरपालिका–९ का मावि लहानगोठ अनुगमन निरीक्षण गर्दै नगरप्रमुख र शिक्षा शाखाका टोली। तस्बिर : शम्भु यादव।

सिरहा : राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई–२०८०) को नतिजा सार्वजनिक ग¥यो। त्यसमा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भई कक्षा ११ मा भर्ना हुन योग्य भए। नतिजाअनुसार ५२ दशमलव १३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए। यो निराशाजनक नतिजा हो। यसरी नतिजा आउँदा सामुदायिक विद्यालयका विद्यार्थी बढी अनुत्तीर्ण भएको देखिन्छ। परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थी सहभागी भएका थिए। 

देशैभरि सामुदायिक विद्यालयहरूको नतिजा नराम्रो आए पनि लहानका केही सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा ल्याउन सफल भएका छन्। लहान नगरपालिका–३ स्थित लक्ष्मण ललिता कुशवाहा (ललकु) माविबाट १ सय ७९ जना एसईईमा सहभागी भएका थिए। त्यसबाट १ सय ३४ जना उत्तीर्ण भएका छन्। ७५ प्रतिशत नतिजा ल्याउन विद्यालय सफल भएको हो। 

उत्तीर्ण भएकामध्येबाट २२ जनाले ए प्लस, ६७ जनाले ए, ४० जनाले बी प्लस, र ५ जनाले बी ग्रेड ल्याउन सफल भए। ‘हाम्रो विद्यालयको नतिजा सन्तोषजनक छ,’ प्रधानाध्यापक शिवशंकर मेहताले भने, ‘नगरपालिकाबाट स्वयंसेवक शिक्षक सहयोग पाएदेखि पठनपाठनमा राम्रो गरेका छौं। आउँदो वर्ष अझै राम्रो नतिजा ल्याउँछौं। गत वर्षभन्दा राम्रो भएको छ।’ यो विद्यालयले यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमले पनि पठनपाठन सुरु गरेको छ। 

यसैगरी लहान नगरपालिका–२० का श्री मावि हनुमाननगर ब्रम्हान गोर्छारीबाट ४३ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। जसमध्ये ३२ जना उत्तीर्ण र ११ जना अनुत्तीर्ण भएका छन्। उत्तीर्ण भएका मध्येबाट ३ तीन जनाले ए प्लस, १६ जनाले ए, १० जनाले बी प्लस, ३ जनाले एक विषयमा एनजी र ४ जनाले दुई विषयमा एनजी ग्रेड ल्याएका छन्। प्रधानाध्यापक राजेन्द्रप्रसाद यादवका अनुसार यो विद्यालयको ७४ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। ‘अहिले परीक्षामा सहभागी भएका विद्यार्थी कोरोनाकालमा तलो कक्षामा पठनपाठन गर्न सकेको थिएनन्। त्यसले पनि नतिजामा प्रभाव पारेकै हो। पछिल्लो समय नगरपालिका शैक्षिक क्षेत्रमा फड्को मार्न स्वयंसेवक शिक्षक सहयोग, शैक्षिक क्रियाकलाप बढाएपछि नतिजा राम्रो आएको हो,’ उनले भने, ‘आउँदो वर्ष योभन्दा राम्रो नतिजा ल्याउन प्रयासरत छौं।’ 

यस्तै, लहान नगरपालिका–९ को मावि लहान गोठटोलले यसै वर्षदेखि एईई परीक्षामा सहभागिता जनाएको छ। यहाँका २६ जना विद्यार्थीमध्ये २० जना पास भई ७७ प्रतिशत नतिजा ल्याउन सफल भएका छन्। जसमध्ये ५ जनाले ए, ८ जनाले बी प्लस, ५ जनाले बी, १ जना सी प्लस र १ जनाले सी ग्रेड हासिल गरेका छन्। 

नगरपालिकाले एक कक्षा एक शिक्षकको अवधारणा अगाडि बढाएर विद्यालयहरूमा स्वयंसेवक शिक्षक थपेपछि पठनपाठनमा सुधार आएको संकेत रहेको प्रधानाध्यापक अरुण गिरीले बताए। ‘अहिलेको जनप्रतिनिधि, अभिभावक, विद्यार्थी सबै पक्षले शिक्षामा कसरी राम्रो गर्ने भनेर लागिपरेका छौं,’ उनले भने, ‘पहिलो ब्याचभन्दा आउने ब्याचमा झन् राम्रो नतिजा आउने आकलन गरेका छौं।’

लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा सुधार ल्याउन आर्थिक वर्ष २०७९/०८० देखि एक कक्षा एक शिक्षक नीति लिई स्वयंसेवक शिक्षक भर्ना, विद्यार्थीद्वारा मूल्यांकन र शैक्षिक गतिविधिमा अतिरिक्त क्रियाकलाप बढाएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी गराए। ‘आफू निर्वाचित हुनेबित्तिकै सरकारको अर्बौं लगानी भए पनि किन सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन भनेर अध्ययन गरेर योजना बनायौं,’ उनले भने, ‘त्यसमा शिक्षक अभाव, कक्षाकोठा अभाव, भौतिक संरचना, व्यवस्थापन समिति खाली र अनुगमन नभएको पायौं।’ त्यसपछि १ सय ३५ जना स्वयंसेवक शिक्षक भर्ना गरी विद्यालयहरूमा एक कक्षा एक शिक्षक व्यवस्था मिलाएको उनले सुनाए। दलित बस्तीमा ३८ ठाउँमा निःशुल्क ट्युसन कक्षा पनि सञ्चालन गरेका छन्। 

१० वटा विद्यालयमा चारकोठे भवन निर्माण गरी दुई आर्थिक वर्षभित्र हस्तान्तरण भएको उनले बताए। ‘शिक्षा सुधार गर्न प्रअहरूलाई चितवनका विद्यालय भ्रमण गर्न पठायौँ। महिनैपिच्छे घुम्ती प्रअ बैठक राख्छौं। त्यहाँबाट आएका समस्या सकेसम्म समाधान गर्ने गरेका छौं,’ नगरप्रमुख चौधरीले भने, ‘पहिले यहाँ खाजा कार्यक्रमको पैसा नगदै दिन्थ्यो। त्यसकारण पनि विद्यार्थी नियमित उपस्थित भइरहेका थिएनन्। आफू निर्वाचित भएदेखि नै विद्यालयमै खुवाउन व्यवस्था मिलाएका छौं।’ पहिले पढाइमा सुधार त्यसपछि परीक्षामा कडाइ गर्दै शिक्षालाई राम्रो बनाउने सोच रहेको उनले सुनाए। पछिल्लो दुई आर्थिक वर्षदेखि ६/६ करोड रुपैयाँ शिक्षामा मात्रै विनियोजन गरिरहेको उनले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.