मुकुल ढकालको सबै जिम्मेवारी खोसियो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ। पार्टी सदस्य मात्रै रहनेगरी ढकाललाई महामन्त्री,केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो।
पार्टी सह- प्रवक्ता मनिष झाले मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिए। उनले केन्द्रीय अनुशासन समितिको सिफारिसमा ढकाललाई जिम्मेवारीमुक्त गरिएको बताए।
केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय रास्वपाले गरेको छ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो।
पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको पद सात दिनका लागि निलम्बन गरेको थियो। थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो।
सोही सिफारिसमाथि छलफल गरी आज केन्द्रीय समितिले ढकाललाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो। उनी निलम्बनमा परेपछि कार्यवहाक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीले र प्रवक्ताको जिम्मेवारी मनिष झाले पाएका छन्।