विराटनगरमा युवकको हत्या : अघिल्लो दिन विवाद, भोलिपल्ट ‘ग्याङ फाइट’

विराटनगरमा युवकको हत्या : अघिल्लो दिन विवाद, भोलिपल्ट ‘ग्याङ फाइट’
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : विराटनगरमा दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा युवकको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले युवकको हत्या हुनुको कारण ‘ग्याङ फाइट’ भएको निष्कर्ष निकालेको हो । 

विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक सेन्ट जोसेफ मोडमा सोमबार राति १० बजेतिर दुई पक्षबीच ‘ग्याङ फाइट’ भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको डीएसपी बस्नेतले बताए । घटनामा घाइते भएका मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको थियो । 

गम्भीर अवस्थाका कामतको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । उनको छात्ती र कम्मरको भागमा धारिलो हतियारले घोपेको चोट छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । 

घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ । कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर उपचारका लागि अस्पताल लगेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न विराटनगर–११ घर भइ विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेली घर भइ विराटनगर–२ स्थित सनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालक पक्राउ परेका छन् । डीएसपी बस्नेतका अनुसार ‘ग्याङ फाइट’का क्रममा घटनामा संलग्नमध्ये शेर्पाले मृतक र घाइतेलाई कैंचीले जथाभावी प्रहार गरेको यकिन भएको छ । 

घटनामा प्रयोग गरिएको कैंची विराट नर्सिङ होमअगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको जानकारी उनले दिए । उनका अनुसार शेर्पा र पुरीले नर्सिङ होमअगाडिको फार्मेसी (औषधि पसल)मा काम गर्ने गरेको पत्ता लागेको छ । घटनामा संलग्नलाई उनीहरु बस्दै आएको स्थानबाटै पक्राउ गरिएको बस्नेतले बताए । 

उनका अनुसार दुई पक्षबीच आइतबार साँझ वारदातस्थलनजिक विवाद भएको पाइएको छ । केटीको विषयलाई लिएर विवाद भएको प्रहरीको भनाइ छ । मृतक र घाइते पक्षका युवाहरुले पीडक पक्षका केटीलाई जिस्क्याएको विषयमा विवाद भएको प्रहरीले जनाएको छ । 

‘विवादपछि रिसईबी साँधेर बसेको मृतक र घाइते पक्षका १२-१३ जनाको समूहले भोलिपल्ट बाटो ढुकेर पीडक पक्षका युवाहरुलाई सुरुमा आक्रमण गरेको पाइयो । सोधपुछका क्रममा पीडक पक्षका युवाहरुले काम सकेर घुम्न निस्किएका बेला हामीमाथि सुरुमा आक्रमण भयो भनेका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘आक्रमण हुन थालेपछि प्रतिकार गर्दा ज्यानै जानेसम्मको घटना भएको रहेछ । केटीको विवादलाई लिएर दुई पक्षबीच ‘ग्याङ फाइट’ हुँदा मानवीय क्षति हुन पुगेको पाइयो ।’ ‘ग्याङ फाइट’का क्रममा दोहोरो हानाहान हुँदा पीडक पक्षका एक जनाले साथमा बोकेको कैंची निकालेर अर्को पक्षकालाई जथाभावी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । उनका अनुसार घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । ‘घटनामा अरु पनि संलग्न छन् कि भनेर अनुसन्धानको दायरा फराकिलो पारिएको छ,’ उनले भने, ‘विभिन्न पाटोबाट विस्तृतमा अनुसन्धान भइरहेको छ ।’ बस्नेतका अनुसार घटनास्थलमा भेटिएको मोबाइलका आधारमा घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उक्त मोबाइल घटनामा संलग्नमध्ये १ जनाको रहेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.