प्रचण्डको हातबाट सत्ता फुत्किसक्यो, अब केही हुनेवाला छैन : चित्रबहादुर केसी
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समीकरण तोडेको परिणाम अहिले देखिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बोल्दै केसीले कांग्रेससँग समीकरण तोडेपछि एमालेले खेल्ने ठाउँ पाएको र अहिलेको अवस्था आएको बताए।
उनले अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको बताए।
माओवादीसँगको समीकरणपछि एमालेले मन्त्रिमण्डलमा पठाएका व्यक्ति हेर्दा समीकरण लामो समय नजाने आँकलन सबैले त्यसबेला गरेको उनले बताए। अहिले कांग्रेस-एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गर्दै अब हुनेवाला केही नभएको उनको भनाइ छ।